[अर्काइभ] बम विस्फोटपछि कांग्रेसले आन्दोलन फिर्ता लिनु धोका : रामराजा

रामराजाले भारतबाट फर्केर २०५१ मा नेपालमा गणतन्त्रका लागि संघर्ष गर्ने घोषणा गरे। उनले ९० प्रतिशत क्रान्ति अझै बाँकी रहेको पनि बताएका थिए।

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

[Archive] Danger of Congress withdrawing movement after bomb blast: Ramraja

What you should know

काठमाडौँ — बहुदलीय प्रजातन्त्रको माग गर्दै नेपाली कांग्रेसले २०४२ मा सत्याग्रहको शान्तिपूर्ण आन्दोलन सुरु गरेको थियो । आन्दोलन चलिरहेका बेला होटल अन्नपूर्णको मूलगेट, सिंहदबारस्थित राष्ट्रिय पञ्चायत भवन, नारायणहिटी दरबारलगायत मुलुकका विभिन्न भागमा बम विस्फोट भएको थियो । उक्त बम विस्फोटमा परेर केही निर्दोष नागरिकको ज्यान गएको थियो ।

२०२८ मा स्नातकतर्फबाट राष्ट्रिय पञ्चायत सदस्य बनेका रामराजाप्रसाद सिंहले बम विस्फोटको जिम्मेवारी लिएका थिए । उनले मुलुकमा राजसंस्था हटाउन सशस्त्र आन्दोलन गर्नुपर्ने बताएका थिए ।

सिंहले बम विस्फोटको जिम्मेवारी लिएपछि कांग्रेसले सत्याग्रहको आन्दोलन फिर्ता लिएको थियो । सत्याग्रहलाई बम विस्फोट र हिंसात्मक आन्दोलनसँग जोडेर दुःख दिने भयले कांग्रेसले आन्दोलन फिर्ता लिएको जिकिर गरिएको थियो । रामराजाले बम विस्फोटको जिम्मेवारी लिएपछि पञ्चायतले उनलाई फाँसीको सजाय सुनाएको थियो ।

२०२८ सालपछि विभिन्न बहानमा रामराजालाई पक्राउ गरेर जेल हालिएको थियो । २०३७ को जनमतसंग्रहमा उनले बहुदलीय जनवादी मोर्चा गठन गरेर जनमतसंग्रहलाई सघाएका थिए । पञ्चायतले विभिन्न मुद्दा र फाँसीको सजाय सुनाएपछि उनी भारतमा निर्वासन जीवन बिताइरहेका थिए । 

२०४६ सालको परिवर्तनपछिको तीन वर्ष बित्दा पनि उनी नेपाल फर्केर खुला राजनीतिमा लागेका थिएनन् । उनीमाथि पञ्चायत सरकारले लगाएको लागूऔषध गाँजासम्बन्धी मुद्दा पनि थियो । उनले गणतान्त्रिक राज्य व्यवस्था हुनुपर्ने माग गरिरहेका थिए ।

२०४६ को परिवर्तनलाई आफ्नो पार्टीले १० प्रतिशत क्रान्ति मात्रै पूरा गरेको र ९० प्रतिशत बाँकी नै रहेको मान्दै आएको बताउँदै उनी भारतबाट २०५१ असार १९ मा नेपाल फर्के । उनले भारतमा १४ वर्ष निर्वासन जीवन बिताएका थिए । उनीसँगै पार्टीका उपाध्यक्ष खेमराज मायालु र जनरल सेक्रेटरी लक्ष्मणप्रसाद सिंह पनि नेपाल फर्केका थिए । 

[Archive] Danger of Congress withdrawing movement after bomb blast: Ramraja

रामराजाले नेपाल फर्केलगत्तै सहिद गेटमा गएर सहिदको प्रतिमामा अबिर लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । यसपूर्व २०३७ मा बहुदल पराजित भएपछि उनले उक्त परिणाम अस्विकार गरेका थिए । त्यसपछि उनको पार्टी भूमिगत भएको थियो । 

भारतबाट नेपाल फर्केको दिन उनले राजतन्त्रको विषयमा भनेका थिए, ‘खुला राजनीतिबाट प्राप्त हुने सबै अवसर उपयोग गरेर गणतन्त्र प्राप्तिका लागि संघर्ष गरिनेछ ।’ भारतबाट फर्केको भोलिपल्ट २०५१ असार २० मा काठमाडौंमा आयोजित सभामा बोल्दै रामराजाले क्रान्तिको ९० प्रतिशत काम पूरा गर्न जनताको घरदैलोमा जाने पनि बताएका थिए । 

२०४६ को परिवर्तबाट उनी सन्तुष्ट थिएनन् । उनले कांग्रेसले सत्याग्रहको शान्तिपूर्ण आन्दोलन स्थागित गर्न नहुने तर्क बेलाबेलामा गर्दै आएका थिए । उनले बहुदलीय व्यवस्थाको प्राप्तिले क्रान्तिलाई पूर्ण रूप दिन वञ्चित गरेको धारणा राखेका थिए । सभामा उनले भनेका थिए, ‘२०४२ को बम काण्डको जिम्मेवारी स्विकार्छु, राजतन्त्रको अन्त्य नभई उपस्थित हुनुपरेकामा लज्जा महसुस गर्दछु ।’ उनले बहुदलीय व्यवस्था ल्याउन गरिएको सम्झौताको विकल्पमा आफ्नो पार्टी उपस्थित भएको पनि बताएका थिए । 

‘गणतन्त्रवादी नेता’को छवि बनाएका रामराजा १४ वर्षपछि निर्वासित जीवन त्यागेर नेपाल आउने विषय सबैमा चासो थियो । उनले के बोल्लान् ? बम नै पड्काउने व्यक्ति कस्तो होलान् भन्ने जिज्ञासा धेरैमा थियो । यिनै विषयलाई समेटेर तयार गरेको सामग्री कान्तिपुरले २०५१ असार २१ मा ‘त्रिपक्षीय सम्झौताको विकल्प प्रस्तुत गर्न क्रियाशील रहने : रामराजा’ शीर्षकमा  प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully