[अर्काइभ] गणतन्त्रवादी नेता रामराजाप्रसादको नेपाल फिर्तीको त्यो चर्चा 

 बम पड्काएको भन्दै पञ्चायती सरकारद्वारा फाँसीको सजाय

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

[Archive] That discussion of republican leader Ramraja Prasad's return to Nepal

काठमाडौँ — काठमाडौंमा बम पड्काएपछि गणतन्त्रवादी नेताका रूपमा उनको पहिचान बनेको थियो । भूमिगत भएकाले उनलाई सर्वसाधारणले चिन्दैनथे । २०४६ को परिवर्तनले खुला राजनीतिक व्यवस्थाको अभ्यास भएको चार वर्ष बित्दा पनि उनी अर्थात् रामराजाप्रसाद सिंह भूमिगत नै थिए । उनको यो भूमिगत जीवनलाई धेरैले रहस्यमय भन्ने गरेका थिए । खुला राजनीतिक प्रणालीमा पनि भूमिगत किन भन्ने उनीमाथि प्रश्न थियो ।

२०४२ सालमा बहुदलको माग गर्दै कांग्रेसले आह्वान गरेको शान्तिपूर्ण सत्याग्रह चलिरहेका बेला असार ६ गते काठमाडौंमा बम पड्काइएको थियो । बम राष्ट्रिय पञ्चायत भवन, नारायणहिटी राजदरबार, अन्नपूर्ण होटललगायतका स्थानमा पड्काइएको हो । त्यस बम काण्डमा परेर केही निर्दोष मान्छेको ज्यानसमेत गएको थियो । 

गणतन्त्रवादी नेता सिंहले उक्त बम विस्फोटको जिम्मेवारी आफैंले लिएका थिए । बम पड्काएको भन्दै पञ्चायती सरकारले उनलाई फाँसीको सजाय सुनाएको थियो । बम पड्केपछि पञ्चायती सरकारले कांग्रेसको आन्दोलन हिंसामा परिणत भएको आरोप लगाएर दुःख दिने सम्भावना बढेपछि कांग्रेले तत्कालै सत्याग्रहको शान्तिपूर्ण आन्दोलन फिर्ता भएको घोषणा गरेको थियो ।

२०४६ को परिवर्तनपछि पनि सिंहमाथि २०४२ माघ १४ गते लगाइएको लागू औषध गाँजासम्बन्धी मुद्दा कायमै थियो । उनलाई २०२८ सालमा स्नातकतर्फबाट राष्ट्रिय पञ्चायतको सदस्यको निर्वाचनमा उम्मेदवार भएका बेला संघसंस्था ऐनअन्तर्गत पनि पञ्चायतले मुद्दा लगाएको थियो । त्यसका बाबजुद पनि उनी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । तर, लगत्तै उनलाई पक्राउ गरियो । राजा महेन्द्रसँग वार्ता गरेपछि उनी रिहा भए र राष्ट्रिय पञ्चायत सदस्यको शपथ पनि लिए । 

आन्दोलनका कार्यक्रम लिएर देश दौडाहामा निस्केका बेला २०२८ सालमा पुनः विराटनगरबाट पक्राउ परे । उनको राष्ट्रिय पञ्चायत सदस्य पद पनि खोसियो । जेल जीवन बिताउने क्रममै उनको सम्पूर्ण सम्पत्ति जफत गरिएको थियो । उनी २०३७ सालमा बहुदलीय जनवादी मोर्चा गठन गरेर जनमत संग्रहमा सहभागी भएका थिए ।

२०४६ को परिवर्तनपछि पनि सरकारले जफत गरेको उनको सम्पत्ति फिर्ता भएको थिएन । उनको पार्टी जनवादी मोर्चा नेपालका अन्य नेताहरू अनारसिंह कार्की, लक्ष्मण सिंहलगायतलाई पनि सप्तरी जिल्ला अदालतमा राजकाज मुद्दा लगाइएको थियो । रामराजाप्रसाद सिंहले जनवादी गणतन्त्रवादी प्रजातान्त्रिक समाजवादी राज्य व्यवस्था स्थापना हुनुपर्ने माग राखेर पञ्चायतमा हिंसात्मक र सशस्त्र आन्दोलन चलाएका थिए । त्यही आन्दोलनको एउटा स्वरूप बम काण्ड भएको उनीहरूको दाबी थियो । 

खासमा रामराजाले २०४२ मा बम विस्फोट गराएर आफ्ना नेता–कार्यकर्तालाई भूमिगत गराएको भन्नेहरू पनि प्रशस्तै थिए । त्यतिबेला उनीप्रति आममान्छेको निकै चासो रहेको थियो । उनी भारत छोडो आन्दोलनमा सहभागी भएका कारण ९ वर्षको उमेरमा जेल परेका थिए । आन्दोलनका बेला उनका घरमा बन्दुक र आन्दोलनकारी भेटिएको भन्दै भाइ लक्ष्मण सिंह र बाबु जयमंगल सिंहसहित उनी पनि जेल परेका थिए । 

सिंहले भारतको दरभंगास्थित मामाघरका बसेर पढेका थिए । त्यसैले उनको परिवार अंग्रेजविरुद्ध भएको भारत छोडो आन्दोलनमा पनि जोडिएको थियो ।

मुलुकमा खुला राजनीतिक व्यवस्था स्थापना भएपछि रामराजा, खेमराज मायालु, लक्ष्मण सिंहलगायतले भूमिगत जीवन त्यागेर भारतबाट नेपाल आउने घोषणा गरेका थिए । त्यसका लागि २०५० पुस २५ र २६ गते तोकिएको थियो । भूमिगत जीवन बिताएका नेता प्रवास छाडेर खुला राजनीतिमा आउने विषयलाई नेपाली राजनीतिमा निकै चासोका साथ हेरिएको थियो । 

यिनै विषयलाई समेटेर पत्रकार तारानाथ दाहालले तयार गरेको ‘रामराजा यही महिनाभित्रै काठमाडौं आउने निश्चित’ शीर्षक समाचार कान्तिपुर दैनिकमा २०५० पुस १२ मा प्रकाशित भएको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully