[अर्काइभ] केन्द्रीय कारागार बिक्री गर्न मूल्य निर्धारण समिति नै गठन गरिएको थियो

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

[Archive] A pricing committee was formed to sell the Central Jails

काठमाडौँ — राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सुन्धारास्थित केन्द्रीय कारागारमा अहिले झण्डै ३ हजार ९ सय कैदीबन्दी राखिएका छन् । तर यो कारागार ५० को दशकमा बेच्ने प्रस्ताव गरिएको सुन्दा अचम्म लाग्न सक्छ । अचम्म मान्नुपर्ने कुरा केही छैन । किनकि, त्यतिबेला ‘केन्द्रीय कारागार न्यूनतम मूल्य निर्धारण समिति’ नै गठन गरेर बेच्नका लागि काम सुरु गरिएको थियो । कारागारलाई काठमाडौंको मुटुबाट सारेर अन्यत्र लैजान खोजेकामा त्यस कदमलाई त्यतिबेला ‘रहस्यमय’ रूपमा हेरिएको थियो ।

करिब ४३ रोपनी जग्गामा फैलिएको उक्त कारगार बिक्री गर्न कारागार व्यवस्थापन विभागका कायमुकायम निर्देशक खगेन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । केन्द्रीय कारागारको जमिन र जीर्ण भवन बिक्री गरेर नुवाकोटको विदुरस्थित ५ सय ३३ रोपनी जमिन २०४४/०४५ मा अधिग्रहण गरिसकिएको थियो । उक्त स्थानमा कारागार भवन बनाउन तत्कालीन गृहमन्त्री निरञ्जन थापाले प्रस्ताव गरेका थिए । उनी २०४६ सालको आन्दोलनसम्म गृहमन्त्री थिए ।

मालपोत कार्यालय र काठमाडौं नगरपालिकाको मूल्य निर्धारण मापदण्ड नमिलेका कारण काम अघि बढ्न सकेको थिएन । मालपोत कार्यालयले काठमाडौं नगरपालिकाभित्र जमिनको मूल्य प्रतिरोपनी ११ लाख राखेको थियो । तर नगरपालिकाले गोंगबु बसपार्क बनाउँदा प्रतिरोपनी १ करोड मूल्यांकन गरेको थियो । नगरपालिकाको मूल्यमा कारागार बिक्री गरेमा ४३ करोड रुपैयाँसम्म प्राप्त हुने आकलन गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता प्रभातशमशेरले नुवाकोटमा बन्ने कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्ने बताएका थिए । 

प्रजातान्त्रिक सरकारले समय सुहाउँदो कारागार बनाउनुपर्ने तर्क प्रवक्ता राणाले गरेका थिए । नुवाकोटको कारागार बनाउने स्थलमा सडक बनाउन सडक विभागलाई अनुरोध गरिएको जानकारी राणाले दिए । नुवाकोटको कारागारमा विद्यालय, स्वास्थ्य केन्द्र, खेलकुद र पुस्तकालयको व्यवस्था गरिने बताइएको थियो । यसअघि पनि भैंसेपाटीमा केन्द्रीय कारागार बनाउन ४ सय ९२ रोपनी जमिन अधिग्रण गरिएको थियो । तर त्यहाँ पनि कारागार बनाउने सुरसार थिएन । 

आजभन्दा लगभग ३२ वर्षअघि नुवाकोटमा कारागार बनाउने प्रस्ताव गरिएकामा केही वर्षअघि मात्र सञ्चालनमा आएको छ । तर कारागारको निर्माण पूरा भएको छैन । यतिसम्मकि कारागार वरिपरि तारबारको समेत उचित प्रबन्ध हुन सकेको छैन । नुवाकोटमा १ हजार ३ सय ७० जनाभन्दा बढी कैदीबन्दी अटाउने कारागार बनेको छ । उक्त कारागारमा अहिले ७ सय ६० जना कैदीबन्दी रहेका छन् । 

कारागार बेच्न मूल्याकन समिति बनाएको र कारागार व्यवस्थापनसम्बन्धी समस्यालाई समेटेर कान्तिपुर दैनिकमा २०५० पुस ३ मा ‘केन्द्रीय कारागार बिक्री गर्ने तयारी’ शीर्षकमा समाचार प्रकाशित गरिएको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully