[अर्काइभ] ....त्यसपछि पद्मकन्याका छात्राले चौरमा पढ्नु परेन

जेष्ठ ९, २०८२

कान्तिपुर संवाददाता

[Archive] ....After that the students of Padmakanya did not have to study in Chaur

काठमाडौँ — बागबजारको पद्मकन्या बहुमुखी क्याम्पस (पीके)को नाम अहिले जति सुनिन्छ, ४० को दशकमा यसको चर्चा अझ बढी थियो । छात्रा मात्रले पढ्ने कलेज भएकाले पोसाकको रंगदेखि उच्च शिक्षा अध्ययनमा महिलाको सहभागितासम्मका विषय यो क्याम्पससँग जोडेर सन्दर्भहरू उठाउने गरिन्थ्यो । उक्त क्याम्पसलाई महिला राजनीतिज्ञहरू उत्पादन गर्ने थलोका रूपमा पनि हेरिने गर्न्थ्यो । अहिलेका धेरै महिला सांसद, कर्मचारी, निजी क्षेत्रका अगुवा र नीति निर्माताले पीकेमा पढेका हुन् ।

पञ्चायतकालमा काठमाडौंमा सरकारी क्याम्पस नै धेरै थिए । विद्यार्थी संख्या पनि सरकारीमै अधिक हुन्थे । कसैले कहाँ पढ्ने गरेको छ भनेर सोध्यो भने त्यहाँका छात्राहरू गर्वका साथ ‘पीके’ भन्ने गर्थे । २०४६ पछि धमाधम निजी क्याम्पस खुल्न थालेपछि सरकारी क्याम्पसका विद्यार्थी कम हुन थाले ।

त्यतिबेला काठमाडौंको मुटुमा रहेको र छात्राहरूले मात्र अध्ययन गर्ने चर्चित पद्मकन्या क्याम्पसका विद्यार्थी भने चौरमा बसेर पढ्नु पर्थ्यो । बर्सेनि विद्यार्थी थपिँदै जाने तर सरकारले भवन नबनाइदिने भएकाले कतिपय कक्षा चौरमा सञ्चालन हुने गरेको थियो । त्यसमा पनि २०४५ भदौको भूकम्पले क्याम्पस भवन र छात्राबास भवन चर्केको थियो । 

सरकारले उक्त भवन बनाउन गरेको अनुरोधलाई स्विकार्दै डेनमार्क सरकारले पद्मकन्याको भवन निर्माणका लागि १ करोड ३३ लाख ७६ हजार सहयोग गरेको थियो । आजभन्दा लगभग ३२ वर्षअघि यति ठूलो रकम प्राप्त हुनुलाई सरकारले समेत खुसी व्यक्त गरेको थियो । उक्त सहयोगबाट बनेको चारतले भवनमा कक्षा कोठा, विश्रामकक्ष, सभाकक्षसमेत १८ कोठा रहेका थिए ।

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायको भौतिक विकासका लागि सबैभन्दा ठूलो विदेशी सहयोग प्राप्त भएको यो पहिलो भएको सरकारी अधिकारीहरूले बताउने गरेका थिए । 

उक्त भवनको तत्कालीन प्रधानमन्त्री गिरिजप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । पीके क्याक्पसका लागि यो भवन निकै ठूलो उपलब्धि थियो । प्रधानमन्त्री कोइरालाले मन्तव्य राख्दै मुलुकमा विद्यमान गरिबीलगायतका सबै खालका समस्या समाधान गर्न उच्च शिक्षाको विकासले मात्र सम्भव हुने बताएका थिए । उनले पद्मकन्या क्याम्पसको थप संरचना बनाउन डेनिस सरकार र नेपाल सरकारले प्रयत्न गर्ने बताएका थिए । उनले शैक्षिक विकास र राजनीतिक प्रतिबद्धताबिना मुलुकको विकास सम्भव नहुने बताएका थिए ।

[Archive] ....After that the students of Padmakanya did not have to study in Chaur

तत्कालीन शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्री गोविन्दराज जोशीले सरकार शिक्षामा महिलाको सहभागितालाई अनिवार्य गराउन लागेको जानकारी दिएका थिए । नेपालका लागि डेनिस राजदूत केभी योहन्सनले महिलालाई राज्यको निर्णय प्रक्रियामा समावेश नगरी देश र समाजको विकास हुन नसक्ने बताएका थिए । उनले भनेका थिए, ‘उच्च शिक्षा हासिल गरिरहेका महिलालाई उनीहरूको परिवारका पुरुषले सहयोग गर्नुपर्छ ।’

त्रिविका उपकुलपति केदारभक्त माथेमाले क्याक्पसको भवन डेनमार्कको प्रतीक भएको बताएका थिए । क्याम्पस प्रमुख लीलादेवी केसीसहितले ६ हजार विद्यार्थी भएको कलेजमा कक्षा कोठाको अभावमा पुस्तकालय र चौरमा समेत कक्षा लिनुपर्ने बाध्यता ‘मैत्री भवन’ बनेसँगै हटेको बताएका थिए ।

नेपालको पुरानो र महिला मात्रले पढ्ने कलेजलाई डेनमार्क सरकारले गरेको सहयोगको सन्दर्भ जोडेर तयार गरेको समाचार ‘डेनमार्क सहयोगबाट पद्मकन्या क्याम्पस हातामा मैत्री भवन’ शीर्षकको समाचार २०५० मंसिर ३० गते कान्तिपुरमा प्रकाशित भएको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully