काठमाडौँ — बागबजारको पद्मकन्या बहुमुखी क्याम्पस (पीके)को नाम अहिले जति सुनिन्छ, ४० को दशकमा यसको चर्चा अझ बढी थियो । छात्रा मात्रले पढ्ने कलेज भएकाले पोसाकको रंगदेखि उच्च शिक्षा अध्ययनमा महिलाको सहभागितासम्मका विषय यो क्याम्पससँग जोडेर सन्दर्भहरू उठाउने गरिन्थ्यो । उक्त क्याम्पसलाई महिला राजनीतिज्ञहरू उत्पादन गर्ने थलोका रूपमा पनि हेरिने गर्न्थ्यो । अहिलेका धेरै महिला सांसद, कर्मचारी, निजी क्षेत्रका अगुवा र नीति निर्माताले पीकेमा पढेका हुन् ।
पञ्चायतकालमा काठमाडौंमा सरकारी क्याम्पस नै धेरै थिए । विद्यार्थी संख्या पनि सरकारीमै अधिक हुन्थे । कसैले कहाँ पढ्ने गरेको छ भनेर सोध्यो भने त्यहाँका छात्राहरू गर्वका साथ ‘पीके’ भन्ने गर्थे । २०४६ पछि धमाधम निजी क्याम्पस खुल्न थालेपछि सरकारी क्याम्पसका विद्यार्थी कम हुन थाले ।
त्यतिबेला काठमाडौंको मुटुमा रहेको र छात्राहरूले मात्र अध्ययन गर्ने चर्चित पद्मकन्या क्याम्पसका विद्यार्थी भने चौरमा बसेर पढ्नु पर्थ्यो । बर्सेनि विद्यार्थी थपिँदै जाने तर सरकारले भवन नबनाइदिने भएकाले कतिपय कक्षा चौरमा सञ्चालन हुने गरेको थियो । त्यसमा पनि २०४५ भदौको भूकम्पले क्याम्पस भवन र छात्राबास भवन चर्केको थियो ।
सरकारले उक्त भवन बनाउन गरेको अनुरोधलाई स्विकार्दै डेनमार्क सरकारले पद्मकन्याको भवन निर्माणका लागि १ करोड ३३ लाख ७६ हजार सहयोग गरेको थियो । आजभन्दा लगभग ३२ वर्षअघि यति ठूलो रकम प्राप्त हुनुलाई सरकारले समेत खुसी व्यक्त गरेको थियो । उक्त सहयोगबाट बनेको चारतले भवनमा कक्षा कोठा, विश्रामकक्ष, सभाकक्षसमेत १८ कोठा रहेका थिए ।
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायको भौतिक विकासका लागि सबैभन्दा ठूलो विदेशी सहयोग प्राप्त भएको यो पहिलो भएको सरकारी अधिकारीहरूले बताउने गरेका थिए ।
उक्त भवनको तत्कालीन प्रधानमन्त्री गिरिजप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । पीके क्याक्पसका लागि यो भवन निकै ठूलो उपलब्धि थियो । प्रधानमन्त्री कोइरालाले मन्तव्य राख्दै मुलुकमा विद्यमान गरिबीलगायतका सबै खालका समस्या समाधान गर्न उच्च शिक्षाको विकासले मात्र सम्भव हुने बताएका थिए । उनले पद्मकन्या क्याम्पसको थप संरचना बनाउन डेनिस सरकार र नेपाल सरकारले प्रयत्न गर्ने बताएका थिए । उनले शैक्षिक विकास र राजनीतिक प्रतिबद्धताबिना मुलुकको विकास सम्भव नहुने बताएका थिए ।
तत्कालीन शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्री गोविन्दराज जोशीले सरकार शिक्षामा महिलाको सहभागितालाई अनिवार्य गराउन लागेको जानकारी दिएका थिए । नेपालका लागि डेनिस राजदूत केभी योहन्सनले महिलालाई राज्यको निर्णय प्रक्रियामा समावेश नगरी देश र समाजको विकास हुन नसक्ने बताएका थिए । उनले भनेका थिए, ‘उच्च शिक्षा हासिल गरिरहेका महिलालाई उनीहरूको परिवारका पुरुषले सहयोग गर्नुपर्छ ।’
त्रिविका उपकुलपति केदारभक्त माथेमाले क्याक्पसको भवन डेनमार्कको प्रतीक भएको बताएका थिए । क्याम्पस प्रमुख लीलादेवी केसीसहितले ६ हजार विद्यार्थी भएको कलेजमा कक्षा कोठाको अभावमा पुस्तकालय र चौरमा समेत कक्षा लिनुपर्ने बाध्यता ‘मैत्री भवन’ बनेसँगै हटेको बताएका थिए ।
नेपालको पुरानो र महिला मात्रले पढ्ने कलेजलाई डेनमार्क सरकारले गरेको सहयोगको सन्दर्भ जोडेर तयार गरेको समाचार ‘डेनमार्क सहयोगबाट पद्मकन्या क्याम्पस हातामा मैत्री भवन’ शीर्षकको समाचार २०५० मंसिर ३० गते कान्तिपुरमा प्रकाशित भएको थियो ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] ....After that the students of Padmakanya did not have to study in Chaur](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-pm-2352025125928-1000x0.jpg&w=1001&h=0)