[अर्काइभ] ...त्यसैले जनताले नै गैंडा मार्ने सिकारी पक्रन थाले

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

[Archive] ...so the people themselves started hunting rhino poachers

काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जको नाम लिने बित्तिकै अहिले पनि विश्वमै एक सिंगे गैंडाको बासस्थानको रूपमा चिनिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा जैविक विविधता पनि त्यत्तिकै लोभलाग्दो छ । १९८४ मा विश्व सम्पदा सूचीमा परेको यो नेपालको पहिलो निकुञ्ज हो । निकुञ्जमा गैंडा, पाटे बाघ, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर, लंगुरलगायतका ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावर पाइन्छन् ।

उक्त राष्ट्रिय निकुञ्जलाई खास गरी गैंडा र बाघ संरक्षित क्षेत्रका रूपमा बढी चिनिन्छ । चितवनको एकसिंगे गैंडा लोप हुने हो भने राष्ट्रिय निकुञ्जको पहिचान नै हराउँछ । त्यसैले सरकारी स्तरमा मात्र नभई राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दाले पनि गैंडा संरक्षणमा जोड दिँदै आएका छन् ।

स्थानीयमा जागेको वन्यजन्तु जोगाउने चेतनाले नै अहिलेसम्म राष्ट्रिय निकुञ्जको गैंडा मात्र होइन, अन्य जंगली जनावर एवं जैविक विविधता जोगाउन सहयोग पुगेको देखिन्छ । यहाँको समस्या जैविक विविधतालाई कायम राख्ने भन्दा बढी चुनौती गैंडाको चोरी सिकारी हो । गैंडाको खाग महँगोमा बिक्री हुने भएकाले गैंडालाई सिकारीबाट बचाउनु चुनौती रहेको छ ।

यो चुनौती अहिले मात्र होइन, चोरी सिकारीले ५० को दशकमा एकै वर्षमा एउटै स्थान आसपासमा ७ वटासम्म गैंडा मारेका थिए । यही रफ्तारमा सिकारी सक्रिय भए भने चितवनमा गैंडा नै नरहने अवस्था बन्दै गएपछि यसको संरक्षणमा स्थानीय नै सक्रिय भएका थिए ।

गैंडाको चोरी सिकारी रोक्न तीन दशकदेखि नै निकुञ्ज आसपासका जनताको सहयोग उदारणीय रहेको पाइन्छ । त्यतिबेला सिकारीहरूबाट अहिलेभन्दा बढी खतरा थियो । किनकि, स्रोत र आधुनिक इक्विमेन्टको अभावमा त्यस्ता सिकारी पत्ता लगाउन र पक्रन राज्यको निकायले मात्र सम्भावना थिएन । त्यसैले गैंडाको चोरी सिकारीमा लागेकाहरूलाई स्थानीयले नै पक्रेर प्रशासनलाई बुझाएको घटनालाई अहिले पनि नमुना उदाहरणका रूपमा लिइन्छ । अर्कोतर्फ त्यतिबेला पनि वन्यजन्तुले बालीनाली नोक्सानी गरेका कारण किसानलाई परेको मर्का पनि अहिले जसरी नै उठ्ने गरेको थियो ।

[Archive] ...so the people themselves started hunting rhino poachersसाबिक शाही चितवन राष्ट्रिय निकुञ्जको सबैभन्दा बढी असुरक्षित क्षेत्र निकुञ्जभित्रको बाँदरफुला टापु हो । सिकारीले उक्त टापु आसपासमा मात्र २०४९/५० मा ७ वटा गैंडा मारेका थिए । त्यसैले स्थानीय आफैं सक्रिय भएर सिकारी पक्रन थालेको उदाहरण अहिले पनि चर्चा गरिन्छ ।

साविक रजर गाउँ विकास समितिको पिप्रहरवासीले बाँदरफुलामा गैंडा मार्न गएको टोली नाइकेसहित तीन जनालाई पक्राउ गरेका थिए । पिप्रहरको यो घटनाले गैंडा संरक्षणमा स्थानीयको चासो र सक्रियता अनुकरणीय रहको पुष्टि हुन्थ्यो । रजर गाविसका वडा सदस्य खगेन्द्र पाठकले आफ्नो गाउँलाई सिकारीको गाउँका रूपमा चित्रण भएकाले त्यस्तो बदनामी सुन्न नचाहेको बताएका थिए ।

स्थानीयले विश्वको दुर्लभ वन्यजन्तु बाघ र गैंडा लोप हुन नदिन आफूहरू सक्रिय रहेको बताउने गरेका थिए । पिप्रहर कोपिला युवा क्लबका अध्यक्ष रामकुमार आलेले स्थानीयको सक्रियतामा सिकारी पक्रने गरेको बताएका थिए । स्थानीयको अनुरोधमा उक्त स्थानमा ‘एन्टिपोचिङ युनिट’ पनि खडा गरिएको थियो । सिकारीहरूले गैंडा मार्न ठाउँठाउँमा खाडल खनेका थिए । सिकारीहरू गैंडालाई पासोमा पार्न फलामे साङ्लो बोकेर हिँड्थे । गैंडाको सिकार रोक्न स्थानीयले सेनाको क्याम्प राख्न अनुरोधसमेत गरेका थिए । निकुञ्जका कारण हुने पर्यटन विकासको सम्भावनाबाट आफूहरू लाभान्वित हुने भएकाले पनि स्थानीय निकुञ्जको वन्यजन्तु संरक्षमा सक्रिय देखिन्थे ।

सम्बन्धित कर्मचारीहरूका अनुसार पोचिङ युनिटसँग बन्दुक, नारायणी नदी आउजाउ गर्ने बोटलगायतका न्यूनतम् सामग्री हुने हो भने पनि चोरी सिकारी रोक्न सकिने बताउने गर्थे । तर त्यतिबेला साधनस्रोतको अभावमा गैंडा र बाघको संरक्षणमा प्रभावकारी काम हुन सकेको थिएन । निकुञ्जका अनुसार नारायणी नदी किनारको पश्चिममा केही वर्षयता २२ वटा गैंडा मारिएको तथ्यांक सार्वजनिक गरिएको थियो । यो टापु गैंडाको लागि सबैभन्दा राम्रो बासस्थान मानिन्छ । गैंडा जहाँ वास बस्छ, सिकारीले त्यहीं आँखा लगाउने गरेका थिए । निकुञ्जसँग जोडिएको नवलपरासीमा मात्र ५० जना सिकारी रहेको अनुमान गरिएको थियो ।

सरकारी अधिकारीहरूका अनुसार गैंडा मात्र होइन, २०४८ सालमा यो क्षेत्रमा १३ वटा बाघ देखिएकामा दुई वर्षपछि ५ वटा मात्र देखिने गरेको थियो । निकुञ्जभर ३० वटा चौकी थिए । तर उक्त संख्या पर्याप्त थिएन । एउटा सैनिक चौकी स्थापना गर्न कम्तीमा ३ लाख ५० हजार खर्च हुने भएपछि आर्थिक अभावले थप व्यवस्थापन गर्न नसकिएको निकुञ्ज संरक्षणमा खटिएको श्रीनाथ गणका अधिकारीहरूले बताउने गरेका थिए । कम्तीमा ४ वटा सैनिक चौकी थप्नुपर्ने भए पनि आर्थिक अभावले नसकिएको बताउने गरिएको थियो । स्थानीय भन्ने गर्थे, ‘सैनिकले चोरको नभएर चोरले सैनिकको गस्ती गरेको देखिएको छ ।’

गैंडा र बाघको संरक्षणमा चितवन निकुञ्जमा सरकार र स्थानीयले गरेका प्रयास र चुनौतीलाई समेटेर पत्रकार तारानाथ दाहालले तयार गरेको स्थलगत समाचार कान्तिपुर दैनिकले २०५० मंसिर २८ गते ‘गैंडा जोगाउन स्थानीय जनता सक्रिय’ शीर्षकमा प्रकाशित गरेको थियो । निकुञ्जको रेकर्ड अनुसार २०२१ को गणना अनुसार अहिले उक्त निकुञ्जमा ६ सय ९४ वटा गैंडा छन् भने १ सय २८ वटा बाघ रहेका छन् । बाघ गणना २०२२ मा भएको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully