[अर्काइभ] हवाई सेवा र आमहडतालले संकटमा परेको पर्यटन व्यवसाय

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

[Archive] Air service and tourism business hit by strikes

काठमाडौँ — विदेशी मुद्रा आर्जन गरेर मुलुकको आर्थिक उन्नतिमा योगदान पुर्‍याउने पर्यटन व्यवसायको प्रवर्द्धनमा हवाई सेवाको उपलब्धता र विश्वसनीयता एउटा महत्त्वपूर्ण पाटो हो । खासगरी विदेशी पर्यटक भित्र्याउन उनीहरूको सहज आउजाउ अपरिहार्य रहेको छ ।

तर हवाई सेवाको विस्तार र विश्वसनीयतामा आज मात्र होइन, तीन दशकअघिदेखि नै सरकारी प्रयास निराशाजनक नै थियो । आज जसरी जहाज खरिदमा मात्र होइन, अन्तर्राष्ट्रिय उडानहरू पनि नियमित गर्न सकिएको छैन, त्यो अवस्था ३२ वर्षअघि पनि उस्तै उस्तै थियो । 

५० को दशकमा मुलुकमा लगातार ४१ दिनसम्म चक्काजाम र नाराजुलुसले सडक तताएको मात्र थिएन, अन्तर्राष्ट्रिय उडानहरू नियमित नभएका कारण पर्यटन व्यवसाय धरशायी बनेको गुनासो व्यवसायीले गरिरहेका थिए । एकातिर आमहडतालले हिँडडुल गर्न असहज बनाएको सन्देश चौतर्फी गएको थियो भने विदेशी पाहुना नेपाल आउन जहाज नै नपाउने समस्या त्यत्तिकै थियो ।

निजी क्षेत्रका जहाजहरू पर्याप्त नभएको तर एकलौटी बजार लिएर बसेको साबिक शाही नेपाल वायु सेवा निगमको व्यवस्थापन निकै कमजोर थियो । व्यवस्थापन कमजोर भएकै कारण युरोपका उडानहरू बिनासूचना रद्द भएका थिए । यसको प्रत्यक्ष असर पर्यटन व्यवसायीमा परेको थियो । जहाजको उडान रद्द हुँदै जाने हो भने विदेशी पर्यटकको आगमनमा ३० प्रतिशत कम हुने अनुमान गरिएको थियो । 

निगमले त्यतिबेला दुईवटा ७५७ बोइङ अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको थियो । त्यतिबेला युरोपबाट चार्टर गरेर पर्यटक नेपाल आउन चाहन्थे । तर सरकारी स्वामित्वको वायुसेवा निगमले बिनासूचना उडान रद्द गरेर आउजाउमा असहज परिस्थिति बनाएको गुनासो बढिरहेको थियो । ५० को दशकमा युरोपको लण्डन, फ्र्यान्कफर्ट र पेरिसमा उडान गर्दै आएको थियो । एउटा एयर लिङ्कस ७५७ बोइङ चार्टर सेवाका लागि सञ्चालन गर्ने निधो गरेको थियो ।

पर्यटन व्यवसायीहरूले भने सरकारले अनुहार बचाउन मात्र तयारीबिना नै पेरिस उडान सुरु गरेको आरोप लगाएका थिए । होटल संघका सचिव नरेन्द्र ब्रजाचार्यले पर्यटन व्यवसायीको आशातीत उत्साहलाई समेट्न नसकेको बताएका थिए । उनले कम्युनिस्ट पार्टीहरूले लगातार गरेको बन्दका कारण पर्यटन व्यवसायलाई दीर्घकालसम्म असर गर्ने गुनासो गरेका थिए ।

२०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भएदेखि नै कर्मचारी आन्दोलन, दासढुंगा दुर्घटना, टनकपुर सम्झौतालगायतका मुलकका समसामयिक सन्दर्भहरूमा समेत चक्काजाम, आमहडताल निरन्तर भई नै रहेका थिए । तोडफोड र आगजनीका घटनाले पर्यटन व्यवसायलाई प्रत्यक्ष असर गरेको थियो । त्यसमा पनि विदेशीहरू नेपाल आउन विश्वासिलो हवाई सेवासमेत नभएका कारण पर्यटन व्यवसायीमा निकै ठूलो मार परेको थियो । यही सन्दर्भलाई समेटेर कान्तिपुर दैनिकले ‘युरोपीय उडान रद्द  : पर्यटन उद्योगमा संकट’ शीर्षकमा २०५० मंसिर १९ मा समाचार प्रकाशित गरेको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully