[अर्काइभ] कमजोर नियमनले निम्त्याएको ‘हवाई अराजकता’

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

[Archive] 'Air Chaos' Caused by Weak Regulation

काठमाडौँ — सरकारले वायु सेवामा निजी क्षेत्रको लगानी भित्र्याएर नेपाली आकाशमा जहाज तथा हेलिकोप्टरको संख्या बढाउने नीति त बढायो तर सही ढंगले कार्यान्वयन गर्न भने सकेन । ५० को दशकमा निजी क्षेत्रले हेलिकोप्टर कम्पनीहरू दर्ता गरेर पर्यटकीय गन्तव्यमा उडान भर्न सुरु गरेको थियो ।

तर, जहाज तथा हेलिकोप्टरहरूको अव्यवस्थित उडानले हवाई क्षेत्रमा एक प्रकारको अराजकता नै देखियो । यसको नियन्त्रणको दायित्व लिएको पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयले आफ्नो मातहतमा रहेको पर्यटन र हवाई विभागसँग समन्वय गराउन नसक्दा हवाई क्षेत्र आफूखुसी चल्ने अवस्था बन्यो ।

पर्यटन विकासका लागि खोलिएका वायु सेवा कम्पनीहरू हवाई विभागका लागि एक प्रकारको बोझजस्तै भएका थिए । चार्टर विमानहरूको उडान रद्द गर्ने, उडान अनुमतिमा ढिलाइ गर्ने, नेपालमा दर्ता नै नभएका कम्पनीका हेलिकोप्टर जथाभावी रूपमा उडाउने, करको दायरामा नआउने तथा एउटा प्रयोजन र स्थानका लागि उडान अनुमति लिएर अन्यत्र जाने, पर्यटकलाई जताततै ओराल्ने जस्ता गुनासो बढ्दै गए पनि नियमनका लागि खडा गरिएका संयन्त्रहरूले काम गर्न सकेका थिएनन् । 

पर्यटन विभागले यसलाई नियमित गराउन वायु सेवा कम्पनीले आफ्नो १० प्रतिशत मात्र चार्टर गर्न पाउने नीति ल्याएको थियो । पर्यटक खचाखच हुने र उनीहरू चार्टर गरेर भए पनि उड्ने बताउँथे । तर वायु सेवाको नीतिले उडानमा बाधा पुगेको गुनासो बढेको थियो । एउटा चार्टर गरेको ट्वीन अटर उड्न पाएन भने लाखौं रुपैयाँ घाटा हुने गुनासो व्यवसायीको थियो । त्यसमा पनि नियम मिचेर उड्नेहरूका कारण एकाथरी वायु सेवाका लगानीकर्तालाई ठूलो मर्का परेको थियो ।

विमानस्थलहरूमा राडर नभएको र आवश्यक कर्मचारीेको अभाव खट्किएको लामो समय बित्दा पनि व्यवस्थापन हुन नसक्दा उडान अनुमति दिने र रद्द गर्ने काममा पनि लापरबाही भएको गुनासो बढेको थियो । डाइनास्टी हेलिकोप्टरले अवैध रूपमा उडान गरे पनि कारबाही नगरेको गुनासो रहेको थियो । 

डाइनास्टीले उडान अनुमति नलिई धुलिखेलमा एक रात बिताएको र दोलालघाटमाथि उड्दा उड्दै इन्धन सकिएपछि यात्रु ओरालेर गाडीबाट काठमाडौं पठाएको, पोखराबाट काठमाडौं आउँदा गोरखामा ओरालेको, जोमसोम र लेतेबाट अनुमितबिना त्यस्तै उडान गरेको थियो । त्यस्तै डाइनास्टीले नै लुक्लाका लागि अनुमति लिएर ‘माउन्टेन फ्लाइट’ गरेर फर्केको जानकारी पनि प्राप्त भएको थियो । 

भीभीआईपी र सेनाको हेलिकोप्टरले गर्ने उडानका विषयमा निजी क्षेत्रमा वायु सेवा प्रदायकले गुनासो गरेका थिए । यस्ता हेलिकोप्टरले अन्यसँग प्रतिस्पर्धा गर्छन् भने राजस्व पनि तिर्नुपर्ने धारणा निजी क्षेत्रका सेवा प्रदायकहरूले राख्दै आएका थिए । स्वदेशी मात्र होइन, विदेशी वायु सेवाले नेपाली भूभागमा गर्ने उडानले जथाभावी गर्दा पनि हवाई विभाग मौन बसेर निरीहजस्तै भएको थियो । 

क्यानेडियन विमानले २०५० मंसिरको पहिलो साता नेपालमा माउन्टेन फ्लाइट गरेको थियो । तर त्यसको जानकारी नियमन निकायलाई थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हवाई सवारी नियन्त्रणका लागि नियन्त्रक प्राविधिकहरूको अभाव थियो । विमानस्थलमा १६ जना कन्ट्रोलर आवश्यक रहेकामा १२ जना मात्र थिए । तीमध्ये पनि दैनिक ८ जनाले मात्र नियमित रूपमा काम गर्थे । 

नेपाली आकाशमा निजी क्षेत्रले हवाई सेवा सञ्चालन गर्न थालेको उत्साहजनक अवस्था देखिए पनि नियामक निकायले व्यवस्थापन मिलाउन नसक्दा उत्पन्न समस्यामा केन्द्रित रहेर कान्तिपुर दैनिकले २०५० मंसिर १४ गते ‘निजी विमान सेवाः मन्त्रालय नियमन गर्न असक्षम’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । मुख्यतः पर्यटन मन्त्रालयले पर्यटन र हवाई दुई विभागको कामको अनुगमन र मूल्यांकन गर्न नसकेको आवाज उठेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully