काठमाडौँ — निजी क्षेत्रले हेलिकोप्टर सेवा सञ्चालन गर्न पाउने भएपछि ५० को दशकमा लगानीकर्ताहरू उत्साहित भएका थिए । त्यसमा पनि विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकोप्टर सञ्चालन गर्न पाउँदा विदेशी पर्यटकलाई दिइने सेवा र त्यसबाट हुने आम्दानीले लगानीकर्तालाई थप हौसला प्रदान गरेको थियो ।
त्यतिबेलाको शाही नेपाल वायु सेवा निगमले पनि शाही नेपाली सेनासँग भाडामा लिएर दुई वटा हेलिकोप्टर चलाइरहेका बेला निजी क्षेत्रले नेपाली आकाशको उपयोग गर्न पाएको थियो । सकैभन्दा पहिले निजी क्षेत्रबाट एसियन एयरलायन्सले हेलिकोप्टर ल्याएको थियो ।
तर सगरमाथा क्षेत्रमा २४ जना अट्ने एम–१७ हेलिकोप्टर उडाउन कति सुरक्षित छ, त्यसको परीक्षण भने भएको थिएन । त्यही परीक्षण गर्न एसियन एयरलाइन्सले रसियाबाट भाडामा ल्याएको हेलिकोप्टर सगरमाथा क्षेत्रको एयरपोर्ट रहेको सोलुखुम्बुको लुक्ला गएको थियो ।
हेलिकोप्टरमा पाइलट भने रसियन नै थिए । नेपालमा त्यतिबेला हेलिकोप्टरको पाइलट पाउन कठिन थियो । त्यसमा पनि माउन्टेन फ्लाइट सहज थिएन ।
काठमाडौंबाट ७२ मेटिकल माइल पूर्व लुक्ला र लुक्लाबाट ९ मेटिकल माइल स्यांबोचेमा रसियन पाइलटले दुवै हेलिकोप्टरलाई सफलतापूर्वक परीक्षण गरेका थिए । उक्त हेलिकोप्टर धेरै ठूलो भएकाले विमानस्थल वरपरका घरका छाना उढाउने हल्लाले स्थानीय सशंकित भएका थिए ।
निजी क्षेत्रको लगानीमा त्यति ठूलो हेलिकोप्टरको परीक्षण गरिएको यो पहिलो पटक थियो । परीक्षण उडान सफल भएपछि २०५० मंसिरको दोस्रो साताबाट व्यावसायिक उडान गर्ने घोषणा एयरलाइन्सले गरेको थियो ।
पर्यटक तथा विकास निर्माणका सामग्री ओसारपसार गर्ने उद्देश्ले उक्त हेलिकोप्टर एक वर्षका लागि ल्याइएको थियो । हेलिकोप्टरको परीक्षण उडानमा हवाई विभागका विशेषज्ञहरू गएका थिए । व्यावसायिक उडानका लागि नेपालमा पहिलो पटक ल्याइएको उक्त हेलिकोप्टर पहिलो पटक लुक्ला विमानस्थलमा पुगेको थियो । हेलिकोप्टर हेर्न भीड जम्मा भएको थियो ।
कालोपत्र नगरिएको कच्ची लुक्का विमानस्थल निकै साँघुरो रहेकाले ठूलो हेलिकोप्टर ल्यान्ड गर्दा ठाउँको समस्या भएको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विमानस्थल पक्की गर्ने आश्वासन दिए पनि काम सुरु भने भएको थिए । विमानस्थलको भाग बढाउन सक्ने अवस्था भने थिएन । अहिले पनि विमानस्थलको भूभाग अत्यन्त थोरै रहेको छ ।
लुक्ला विमानस्थलमा बेलाबेलामा हुस्सु लाग्ने भएकाले पर्यटक आउजाउ गर्न जहाज नउड्ने समस्या आउने गर्थ्यो । यो समस्या अहिले पनि रहेको छ । हुस्सुकै कारण त्यतिबेला लुक्लामा अलपत्र परेका पर्यटकलाई डायनास्टिक एभिएसन कम्पनीको हेलिकोप्टरले लामिडाँडा विमानस्थल लगेकामा निकै ठूलो बिवाद भएको थियो ।
अनुमति नभएको स्थानमा हेलिकोप्टर राखेर पर्यटक ओसारेपछि यो विवाद चर्केको थियो । भाडा पनि मनोमानी ढंगले लिइएको थियो । डायनास्टिकले त्यतिबेला लुक्ला–काठमाडौं हेलिकोप्टर भाडा तीन सय अमेरिकी डलर लिएको थियो । तर भाडा दर भने प्रतिपर्यटक ८३ अमेरिकी डलर थियो ।
हेलिकोप्टरले लामिडाँडा ओसारेको पर्यटकलाई एभरेस्ट एयरको विभानले काठमाडौं ल्याउने गर्थ्यो । हेलिकोप्टरले पर्यटक काठमाडौं ल्याएपछि चार्टर गरेको विमानको उडान रद्द गरिएको थियो । हवाई विभागले उडान रद्द गरेकामा विवाद सिर्जना भएको थियो ।
डायनास्टिकले उद्धार समयमा गरेको अवैध उडानका कारण वायु सेवाको चार्टर उडान रद्द गरिएको थियो । डायनास्टिक कम्पनीलाई कारबाही गर्नुको बदला विमानको उडान रद्द गर्नु गलत भएको आवाज उठेको थियो । निजी क्षेत्रको सबैभन्दा ठूलो हेलिकोप्टर पहिलो पटक सगरमाथा नजिकै पुगेको र यसबाट पर्यटन क्षेत्रमा पर्ने सकारात्मक असरका बारेमा केन्द्रित भएर कान्तिपुर दैनिकले ‘हवाई विभागको विवादास्पद निर्णय’ शीर्षकमा २०५० मंसिर १० गते समाचार प्रकाशित गरेको थियो । त्यतिबेला निजी क्षेत्रले हेलिकोप्टर उडाउँदा ठूलो चर्चा भएको थियो । अहिले मुलुकभर ३० वटाभन्दा बढी हेलिकोप्टर सञ्चालनमा रहेका छन् ।
नेपालमा अहिले हेलिकोप्टर कम्पनी ७ वटा रहेका छन् । अहिले हिउँदमा लुक्का पुग्न भने काठमाडौंबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरी, दूधकोशी, खरिखोला हुँदै काठमाडौंबाट सुर्केसम्म मोटर चढेर जान सकिन्छ । सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेक्ने महिला पासाङ ल्हामुको घर सुर्केबाट दुईदेखि अढाइ घण्टाको पैदल यात्रापछि लुक्ला पुग्न सकिन्छ ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] When a Russian helicopter approaches the side of Mt. Everest for the first time...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/helicopter-solu-1252025123558-1000x0.jpg&w=1001&h=0)