काठमाडौँ — अहिले बर्सेनि तिब्बतको मानसरोवर जाने धार्मिक पर्यटक हजारौं हुने गर्छन् । २०७२ को भूकम्पले तातोपानी नाकबाट आउजाउ बन्द भएपछि त झन् हुम्लाको सिमीकोट नै लगभग एउटै नाका थियो । त्यसैले मानसरोवर जानेहरूको संख्या बर्सेनि ह्वात्तै बढ्यो । अहिले हुम्लाको हिल्सा र रसुवाको केरुङ नाकाबाट मानसरोवर आउजाउ गरिन्छ ।
हुम्ला भएर तिब्बतको मानसरोवार यात्रा गर्ने बाटो खुलाएको ५० को दशकका बेला आउजाउ गर्न सहज थिएन । अहिलेजस्तो सडक थिएन । खाद्यान्नको उपलब्धता कम थियो । स्थानीय उत्पादन नभएकाले नेपाल, भारत र पाकिस्तानबाट खाद्यान्न ल्याउनु पर्थ्यो । सडक भएको स्थानमा गुडाउने गाडी पनि जापानबाट ल्याउनुपर्ने जानकारी तिब्बतका पर्यटन व्यवसायीले दिने गरेका थिए ।
कतिपय निर्माण सामग्री र प्राविधिक चीनको राजधानी बेजिङबाट ल्याउनुपर्ने बाध्यता थियो । तर पनि मानसरोवरमा पर्यटक बढाउन तिब्बतीहरू निकै प्रयासरत थिए । त्यसैले उनीहरू नेपाल‐तिब्बत हेलिकोप्टर सेवा सञ्चालन गर्न चाहन्थे ।
नेपालमा पनि प्रजातन्त्र प्राप्त भएको चार वर्ष हुन लागेको थियो । निजी क्षेत्रले लगानी बढाइरहेको अवस्थामा हेलिकोप्टर सेवलाई पनि प्राथमिकता दिइएको थियो । हेलिकोप्टर पहिलो पटक सञ्चालन गर्न पश्चिम तिब्बतको नारी प्रान्तका पर्यटन व्यवसायीले अनुमति दिन अनुरोध गर्दै नेपाल आएका थिए । तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामहरि जोशीले नेपाल कैलाशमा हेलिकोप्टर उडाउने अनुमति दिन तयार रहेको प्रतिक्रिया दिएका थिए । यसबाट तिब्बतीय पर्यटन व्यवसायी उत्साहित देखिन्थे ।
सिमीकोट‐कैलाश वा काठमाडौंबाट सिधै हेलिकोप्टरबाट पर्यटक आउजाउ गराउने विषयलाई सरकारले जसरी सहज रूपमा लिएको थियो, नेपालका पर्यटन क्षेत्रका ज्ञाताहरूले भने फरक मत राखेका थिए । उनीहरूको प्रश्न थियो, ‘हेलिकोप्टर उडाएर हुम्लाका बासिन्दाले के पाउँछन् ?’ पिछडिएको ठाउँमा हेलिकोप्टर उडाउनु देश विकास भए पनि पर्यटकलाई हेलिकोप्टरमा ल्याउने र लैजाने गरेपछि तिब्बतलाई मात्र फाइदा हुने उनीहरूको तर्क थियो ।
नेपाली मात्र होइन, विदेशी मुलुकका कतिपय पर्यटकले हेलिकोप्टर सञ्चालन गर्न नहुने सुझाव दिएका थिए । ८ हजार अग्ला हिमाल चेढेका इटालियन पर्यटक प्रसिद्ध आरोही रिन्होल्ड मेस्नरले नेपालजस्तो हिमाली देशमा हेलिकोप्टर सञ्चालन गर्न नहुने सुझाव दिएका थिए । उनले नेपालजस्तो महत्त्वपूर्ण हिमाल भएको देशमा हेलिकोप्टर सेवा खोल्न नहुने बताएका थिए ।
तिब्बतीहरूले पनि हेलिकोप्टर पर्यटनप्रति दुईमत राख्ने गर्थे । नारी प्रान्तका पर्यटन क्षेत्रका अगुवा तथा तिब्बत कैलाश ट्राभल सर्भिस कम्पनीका महाप्रबन्धक वाङ विभिनले पनि तिब्बतमा हेलिकोप्टर सञ्चालन गर्न हुने/नहुने दुवै मत रहेको बताएका थिए ।
कतिपय तिब्बतीहरूले मानसरोवर धार्मिक स्थल भएकाले आधुनिक प्रविधिको यन्त्र (हेलिकोप्टर) चलाउन नहुने विचार अघि सारेका थिए । धर्म गर्नेले कठिन रूपमा यात्रा गर्नुपर्छ भन्ने मान्यता एकातर्फ भए पनि आधुनिक पर्यटकलाई घुमाउन आधुनिक प्रविधि नै अपनाउनुपर्ने धारणा पनि रहेको थियो । महाप्रबन्धक वाङले आर्थिक हिसाब अनुसार कसरी पर्यटक बढ्छन् र पैसा थुप्रिन्छ भन्ने सोचेको बताएका थिए ।
सिमीकोटबाट तिब्बतको मोटरबाटोसम्म पुग्न पैदलबाट एक साता लाग्ने गरेको थियो । तिब्बतका पर्यटन व्यवसायी र नेपालका पर्यटनमन्त्री जोशी बेफुर्सदी धनाढ्य, बुढाबुढी, रोगी र अशक्तहरूका लागि हेलिकोप्टर उपयुक्त साधन हुनेमा सहमत थिए । तर मन्त्री जोशीले हेलिकोप्टर चार्टर गरेर आउजाउ गर्न पाउने विषयमा सैद्धान्तिक सहमति भएपछि लिखित हस्ताक्षर गर्नुपर्ने अडान राखेका थिए ।
हुम्लाबाट बाटो खुलेपछि ६ वटा टोली मात्र यो बाटो भएर मानसरोवर गएका थिए । महाप्रबन्धक वाङले भने १९९४ मा ६ हजार पर्यटक कैलाश लैजाने प्रयास गरेको बताएका थिए । त्यतिबेला मन्त्री जाशीले हुम्लाबाट भारतीय पर्यटक पठाउन सक्ने सम्भावना प्रशस्त रहेको बताएका थिए । उक्त नाका परीक्षणमा सञ्चालन भएको थियो । नेपाली व्यवसायीले भने कैलाश पुग्न खर्च धेरै लाग्ने गुनासो गरेका थिए ।
सबै बस्तु तथा सेवा धेरै महँगो भएको विचार नेपाली व्यवसायीको रहेको थियो । त्यतिबेला सिमीकोट‐मानसरोवर यात्रा कम्तीमा तीन साताको हुन्थ्यो । नेपालमा भन्दा तिब्बतमा दोब्बर खर्च हुने गरेको थियो । तिब्बती पर्यटन व्यवसायीहरूले भने खाद्यान्न लगायतका सबै बस्तु तथा सेवा बाहिरबाट ल्याउनुपरेकाले महँगो भएको बताउने गर्थे ।
हुम्लाको बाटो भएर गरिने मानसरोवर यात्रा, हेलिकोप्टर सञ्चालन योजनालगायतका विषय समेटेर पत्रकार नारायण वाग्लेले लेखेको ‘कैलाशको तीर्थयात्रा अब हेलिकोप्टरबाट’ शीर्षक समाचार कान्तिपुर दैनिकमा २०५० मंसिर १२ मा प्रकाशित भएको थियो ।
तर अहिले परिस्थिति फेरिएको छ । मानसरोवर जानेमा भारतीय तीर्थयात्री नै बढी छन् तर कोभिडपछि अर्थात् २०१९ पछि भारतीयलाई मानसरोवर जान दिइएको छैन । भारतीय भए पनि तेस्रो मुलुकमा बसेकाहरूलाई भने जान दिने गरिएको छ । तर पनि अहिले बर्सेनि १५ हजारभन्दा बढी तीर्थयात्री र पर्यटक मानसरोवर जाने गरेको तथ्यांक छ । अहिले काठमाडौंबाट जहाज वा हेलिकोप्टरबाट पोखरा भएर सिमीकोट जान सकिन्छ ।सिमीकोटबाट हिल्सा नाका पुग्न सकिन्छ । अहिले तिब्बती नाकामा गाडी सुविधा लिन सकिन्छ । खाने, बस्ने खर्च र स्थान ३२ वर्षअघिको तुलनामा सहज भएको छ । यदि भारतीयलाई पनि सहज रूपमा जान दिने हो भने बर्सेनि कम्तीमा २५ हजार पर्यटक मानसरोवर जाने पर्यटन व्यवसायी बताउँछन् ।
भूकम्पअघि तातोपानी नाका निकै चल्तीमा थियो । मानसरोवर जानेहरू यताबाट धेरै जान्थे । तर भूकम्पछि तातोपानीबाट मानसरोवर जान पूर्ण रूपमा बन्द गरिएको छ ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] What does Humli get by flying a helicopter?](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/archieve-1352025124546-1000x0.jpg&w=1001&h=0)