[अर्काइभ] एचआईभी एड्सबाट बच्न नसक्ने त्यो समय

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

[Archive] That time when HIV could not be avoided AIDS

काठमाडौँ — अचेल एचआईभी एड्सलाई सामान्य रोगका रूपमा हेरिन्छ । औषधिको सेवनले रोग निको हुने भएकाले एड्सको खासै चर्चा भएको पाइँदैन । तर ५० को दशकमा एड्स रोग एउटा डरलाग्दो संक्रमण थियो । रोग लागेपछि बाँच्नेहरू कमै हुन्थे । खासमा असुरक्षित यौन सम्पर्क र रगतबाट सर्ने किटाणुले एचआईभी एड्स रोग निम्त्याउने गर्थ्यो ।

एड्सका बिरामी नेपालमा पहिलो पटक १९८८ फेला परेका थिए । उनी विदेशी थिए । १९८९ मा माया तामाङ एड्स रोगीका रूपमा भेटिएकी थिइन् । उनको केही समयमा नै मृत्यु भएको थियो । सरकारी तथ्यांक अनुसार उनी नेपालमा एड्स रोग लागेको पहिलो व्यक्ति थिइन् । १९९० मा एड्स रोगीको संख्या ५ पुगेको थियो भने १९९२ को अन्त्य अर्थात् २०५० को दशकमा यो संख्या बढेर १ सय ८८ पुगेको थियो । 

४० देखि ५० को दशमा महिलालाई भारतमा बिक्री गरेर यौन धन्दामा लगाउने घटना निकै बढेको थियो । एड्स पनि यौन सम्पर्कबाट सर्ने भएकाले मूल स्रोत नै भारतका कोठी थिए । भारतमा बेचिएका चेलीहरू नेपाल फर्कंदा एचआईभी एड्स रोग लिएर आउँथे । त्यसको उपचार थिएन । कतिपय महिलाले रोगको विषयमा ज्ञान नभएका कारण पनि नेपालमा पनि यौन सम्पर्क गरेर रोग फैलाउन सघाइरहेका हुन्थे । 

५० को दशकमा नेपालमा प्रत्येक ४ दिनमा एक जना एड्स रोगी फेला पर्ने गर्थे । निजी अस्पताल र क्लिनिकमा रक्त परीक्षण गराएकाहरूको रिपोर्ट गोप्य राखिने भएकाले रोगीको संख्या झन् धेरै भएको अनुमान स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाको थियो । 

रोग पत्ता लागेका १ सय ८८ मध्ये २० देखि ३० वर्ष उमेरका ९६ जना महिला थिए । कतिपय महिला भारतमा यौन व्यवसायमा लागेर रोगी भएपछि नेपाल फर्केका थिए । त्यतिबेलाको रिपोर्ट अनुसार कोठीमा यौनधन्दामा लागेकाहरूलाई रोग लागेपछि नेपाल पठाउने गरिएका घटना पनि सार्वजनिक भएका थिए । एड्स लागेका कैयौं चेली गर्भवती भएर फर्कने गरेका थिए । 

औषधि नभएकाले रोगबाट बच्न पूर्वसावधानी नै मुख्य हुने गर्थ्यो । एड्सको विषयमा जनचेतना जगाउन प्रभावकारी सञ्चारमाध्यमको अभाव थियो । त्यतिबेला सबैको घरमा रेडियो र टेलिभिजन थिएन । रेडियो नेपाल, नेपाल टेलिभिजन र पत्रपत्रिका त्यतिबेलाका समाचार स्रोत थिए । पत्रिका गाउँमा र सहरमा पनि सबै स्थानमा पुग्ने अवस्था थिएन । एकातिर ग्रामीण भेगका बासिन्दाले रेडियोको भाषा नै नबुझ्ने गरेको अध्ययनले देखाएको थियो । यौन सम्पर्क, शारीरिक सम्पर्कजस्ता शब्द नबुझ्ने समाज थियो । भाषागत समस्याका कारण सही सन्देश दिन कठिन थियो । 

यौनका विषयमा कुराकानी गर्ने र ढालको प्रयोग गर्ने विषयलाई पनि लक्षित वर्गमा पुर्‍याउन सक्ने अवस्था थिएन । सरकारी प्रयास पनि खासै प्रभावकारी हुन सकेको थिएन । यौनका विषयमा खुलेर कुरा गर्न लजाउने अवस्थाका कारण पनि चेतना फैलाउन समस्या भएको थियो । 

एचआईभी एड्सको समस्या विश्वव्यापी नै थियो । तर दक्षिण एसियाली मुलुकहरूमा बढी देखिन्थ्यो । ५० को दशकसम्म नेपालका झण्डै ५ हजार जनाको शरीरमा एड्सका किटाणु प्रवेश गरेको अनुमान गरिएको थियो । जनचेतनामार्फत एड्स रोगको रोकथामका लागि विश्व स्वास्थ्य संघलगायतका संघसंस्थाबाट आर्थिक सहयोग पनि लिने गरिएको थियो । 

नेपालमा एड्स रोगको विषयमा काम गर्ने उद्देश्यले ९३ वटा गैरसरकारी संस्था स्थापना भएका थिए । योजना आयोगले पनि एड्ससम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी गरेको थियो । नेपालमा एड्स रोगको प्रवेश, त्यसबाट उत्पन्न समस्या र त्यसको प्रभावलाई समेटेर कान्तिपुर दैनिकले २०५० मंसिर १६ मा ‘नेपालमा एड्सको वृद्धिदर भयावह, राष्ट्रिय नीतिको अभाव’ शीर्षक समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully