[अर्काइभ] टर्कीसम्म पुग्थ्यो नेपाली मुसुरोको दाल

तयारी पोसाक र गलैंचापछि धेरै निर्यात हुनेमा मुसुरोको दाल

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

[Archive] Nepalese lentils used to reach Turkey

काठमाडौँ — कुनै बेला नेपालले बर्सेनि अर्बभन्दा बढी मूल्यको दाल निर्यात गर्थ्यो भन्दा अचम्म लाग्न सक्छ । कतिले त नपत्याउन पनि सक्छन् । नेपाली तयारी पोसाक र गलैंचापछि विदेशी मुद्रा आर्जन गर्ने तेस्रो निकासी बस्तु नै मुसुरोको दाल थियो । आर्थिक वर्ष २०४८/०४९ मा नेपालबाट १ अर्ब १४ करोडको दाल मात्रै श्रीलंका निर्यात गरेको थियो । त्यतिबेला तयारी पोसाकले सबैभन्दा बढी अमेरिकी डलर आम्दानी गर्थ्यो । दोस्रो निर्यातयोग्य बस्तुमा गलैंचा थियो भने तेस्रोमा मुसुरोको दाल रहेको थियो ।

नेपाली दालको मुख्य बजार रहेको श्रीलंकाले भन्सार शुल्कमा वृद्धि गरेका कारण दोस्रो वर्ष नै नेपाली मुसुरोको विदेश निर्यात घट्न पुगेको थियो । आव २०४९/०५० १ अर्ब ९ करोडको मात्र दाल श्रीलंका निर्यात भएको थियो । श्रीलंकाले नेपाली दालको आयातमा २० प्रतिशत भन्सार शुल्क वृद्धि गरेको थियो । श्रीलंकाले भन्सार शुल्क वृद्धि गरेर मात्र नभई टर्कीले दाल निर्यातलाई प्रोत्साहन गर्न प्रतिटन ५० प्रतिशत अनुदान दिएका कारण नेपालको दाल निर्यातमा ठूलो झट्का लागेको थियो । 

दाल मिल एसोसिएसनका अध्यक्ष मोतीलाल दुगडका अनुसार टर्कीको दाल सस्तो भएपछि श्रीलंकाको बजारमा नेपाली दाल बिक्री हुन छाडेको हो । किनकि, नेपालीभन्दा टर्कीको दाल सस्तो भएको थियो । टर्कीको दाल श्रीलंकामा प्रतिटन ३ सय ५३ अमेरिकी डलरमा बिक्री हुने गरेको थियो । तर नेपाली दाल भने प्रतिटन ४ सय ५० अमेरिकी डलर रहेको थियो । नेपालले भने खुला अर्थतन्त्रको नीति अनुसार सबै बस्तुको निर्यातमा अनुदान बन्द गरेको थियो । 

वाणिज्य मन्त्रालयले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को भावना अनुसार श्रीलंकासँग कुराकानी गर्ने बताएको थियो । नेपालले श्रीलंकासँग भन्सार शुल्क घटाउन अनुरोध गर्ने बताएको थियो । 

तर दाल एसोसिएसनका अध्यक्ष दुगडले भने सरकारको त्यस्तो प्रस्ताव व्यावहारिक नहुने बताएका थिए । नेपाली दाल निर्यातकर्ताहरूले भने भन्सार शुल्क घटाउन अनुरोध गर्नेभन्दा पनि सरकारले अनुदान दिनु व्यावहारिक हुने बताउने गरेका थिए । व्यवसायीहरूले भने दालमा अनुदान दिएर श्रीलंका मात्र होइन, अन्य देशमा निर्यातको बाटो खुलाउनुपर्ने सुझाव दिएका थिए । 

[Archive] Nepalese lentils used to reach Turkey

श्रीलंकापछि भारतमा नेपाली मुसुरोको दाल निर्यात हुने गरेको थियो । श्रीलंकामा अन्य देशको दालसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन सरकारी अनुदान नै उपयुक्त उपाए भएको व्यवसायीले बताउने गरेका थिए । २०४९ चैतदेखि ०५० को मंसिरको तस्रो सातासम्म वाणिज्य विभागले ७८ करोड ८६ लाख रुपैयाँको दाल निकासी गर्ने अनुमति दिएको थियो । दालको निर्यात आव २०५०/०५१ मा ३० प्रतिशतले घटेको थियो । 

नेपालले टर्कीमा दाल निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेको सन्दर्भसहितलाई समेटेर २०५० पुस ५ मा कान्तिपुर दैनिकले ‘दाल निकासीमा निराशाजनक मन्दी’ शीर्षक समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully