हामीले ०६४ र ०७४ मा मौका पायौं तर गुमायौं : वर्षमान पुन [अन्तर्वार्ता]

'सडकमा हुँदा हामीले जनताको भावना राम्ररी बुझ्ने काम गर्न सकेनौं । युवामा असन्तुष्टि छ । जनताको अवस्था बदल्नुपर्ने, सुशासन अगाडि बढाउनुपर्ने कुरा त हामीले गरेकै हो तर जनतालाई बुझाउन सकेनौं । हामीले विकल्प पनि दिन सकेनौं जस्तो लाग्छ ।'

फाल्गुन २४, २०८२

गंगा बीसी

We had a chance in 2064 and 2074 but we lost it: Barshaman Pun [Interview]

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन ०८२ को मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को देशव्यापी अग्र स्थानमा आइरहेको छ ।

रोल्पाबाट हालै निर्वाचित भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार, पूर्व अर्थमन्त्रीसमेत रहेका वर्षमान पुनसँग यसै विषयमा केन्द्रित भएर गरिएको संक्षिप्त कुराकानी :

निर्वाचन परिणामलाई कसरी हेर्नुभएको छ ?

पार्टीको केन्द्रीय समिति बैठक बसेर हामी समीक्षा गर्छौं । ठूलो जनमत रास्वापालाई गएको छ । कमसेकम परिवर्तनको पक्षमा जनमत गएको छ । नयाँ पार्टी, नयाँ अनुहार भनेर पनि मत गएको देखिन्छ ।

पुराना दलहरूप्रति आक्रोश र निराशा मतपरिणाममा देखिएको ठान्नुहुन्छ ?

पार्टीहरू नयाँ ढंगले चलाउनुपर्ने, लोकतन्त्रीकरण गर्नुपर्ने, पार्टीलाई संस्थागत गर्नुपर्ने आवाज थियो, अलि सानो गुटले पार्टी चलाएको गुनासो पनि थियो । अब पार्टीको लोकतन्त्रीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । जीवनस्तर बदल्ने विषयमा जनता बढी नै आशावादी भएको देखिन्छ । नयाँ आउनेलाई पनि काम गर्न त सहज छैन । देश यही हो, समाज यही हो, राज्य संरचना यही हो । साधन स्रोत यिनै हुन् । व्यक्तिगत रूपमा रास्वपालाई मेरो बधाई र शुभकामना छ । राम्रो काम गर्दा समर्थन रहन्छ ।

निर्वाचनमा नेकपा किन कमजोर भयो ?

हामीले सुरुमै विश्लेषण ठीकै गरेको हो । बंगलादेश हुँदै छ, भन्यौं । त्यसबाट रोक्न हामी सरकारमा हुँदा त कोसिस गर्‍यौं । तर सडकमा हुँदा हामीले जनताको भावना राम्ररी बुझ्ने काम गर्न सकेनौं । युवामा असन्तुष्टि छ । जनताको अवस्था बदल्नुपर्ने, सुशासन अगाडि बढाउनुपर्ने कुरा त हामीले गरेकै हो तर जनतालाई बुझाउन सकेनौं । हामीले विकल्प पनि दिन सकेनौं जस्तो लाग्छ ।

तत्कालीन माओवादीको आधार इलाका त नेकपाले जोगायो नि ?

हाम्रो बलियो आधार भएको क्षेत्रमा जित्यौं । तर अरूतिर लहर ल्याउन सकेनौं । अहिले पपुलिजम(लोकप्रियतावाद) को हावा चल्यो । लोकप्रियतावादको विकल्प राजनीतिक सिद्धान्त र निष्ठामा आधारित संगठन र राजनीति नै हो । हामीले त्यसमा सुधार गर्नुपर्ने हुन्छ ।

नेपालमा वामपन्थी मत २०४८ यताकै कम देखिएको छ, कसरी यस्तो भयो ?

हामीले दुई पटक मौका पायौं, २०६४ र २०७४ मा तर गुमायौं । ०६४ को पहिलो संविधानसभाले संविधान नबनाएपछि जनताले २०७० को चुनावमा ‘रियाक्सन’ गरे । ०७४ मा ओली (केपी शर्मा ओली) को नेतृत्वका कारण राम्रो काम गर्न सकनौं ।

प्रतिनिधिसभा निर्वाचन २०८२

गंगा

Link copied successfully