यो निर्वाचनले गम्भीर पाठ सिकाएको छ : प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

‘राजनीतिक पार्टीहरूको नयाँ मतदाता मात्र होइन, पुरानै मतदातासँग पनि कहीँ न कहीँ ग्याप बढेको देखियो । त्यसको समीक्षा गर्न जरुरी छ ।’

फाल्गुन २४, २०८२

गंगा बीसी

This election has taught a serious lesson: Pradeep Gyawali [Interview]

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन ०८२ को मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को देशव्यापी अग्र स्थानमा आइरहेको छ ।

यसै विषयमा केन्द्रित भएर एमाले नेता प्रदीप ज्ञवालीसँगको संक्षिप्त कुराकानी :

निर्वाचन परिणामलाई एमालेले कसरी लिएको छ ?

यो एमालेका लागि अपेक्षित परिणाम होइन तर पनि हामी जनादेशलाई स्वीकार गर्छौं । सबै परिणाम आइसकेपछि यसका कारण र अन्तर्यबारे समीक्षा गर्छौं । अहिले रास्वपालाई हाम्रो शुभकामना छ । जनताको अपेक्षाअनुसार काम गर्न सक्नुहोस् । एकदमै जोखिमपूर्ण बनेको भूराजनीतिभित्र राष्ट्रिय हितको रक्षा अहिलेको सबभन्दा ठूलो चुनौती हो । यसमा उहाँहरूले सन्तुलन कायम गरेर राष्ट्रिय स्वाभिमानलाई जोगाउन सक्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ । लोकतन्त्र बलियो बनोस् । संविधान कार्यान्वयन हुँदै जाओस् । जनताका अपेक्षा पूरा होऊन् । आगामी सरकारका कामका आधारमा हाम्रा धारणा बन्दै जान्छन् ।

एमाले पार्टी पुनःसंरचनामा कसरी अघि बढ्छ ?

निःसन्देह स्थापित पार्टीहरूका लागि यो चुनाव एउटा झट्का जस्तो भएको छ । पुरानै नेतृत्वको अगुवाइमा चुनावमा गएको एमालेका लागि मात्रै होइन, विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेको कांग्रेसका लागि पनि निर्वाचन परिणाम अनुकूल देखिएन । यो व्यक्तिको कुरा मात्र नभएर धेरै पक्ष पनि होलान् । तर हामीले जनताको बदलिँदो चाहना या मनोविज्ञानसँग आफूलाई तादात्म्य गराउन नसकेका हौं । अरू पनि विभिन्न कारण होलान् । हामी समयमा समीक्षा गर्छौं । निर्वाचनले स्थापित राजनीतिक पार्टीहरूलाई गम्भीर पाठ सिकाएको छ । यसलाई गम्भीर ढंगले आत्मसात् गर्नु जरुरी छ । यही आलोकमा पार्टीलाई नयाँ ढंगले व्यवस्थित रूपमा पुनर्गठन र पुनःसंरचना गर्न जरुरी छ ।

पुराना पार्टीहरू किन यस्तो अवस्थामा पुगे ?

रास्वपा एकदमै जनता ‘कनेक्टेड’ थियो त भन्दा त्यो पनि देखिँदैन । लहर जस्तो देखियो । परिवर्तन भन्ने नाराले मान्छेलाई प्रभावित गर्‍यो । त्यो परिवर्तनको आकार के हो ? त्यसको गन्तव्य के हो ? त्यसको अन्तरवस्तु के हो भन्नेबारेमा न परिवर्तनको नारा लाउनेमा प्रस्टता देख्छु न मतदातामा । तर पनि परिवर्तनको आह्वानले मतदातालाई प्रभाव पार्‍यो, आकर्षण गर्‍यो । राजनीतिक पार्टीहरूको नयाँ मतदाता मात्र होइन, पुरानै मतदातासँग पनि कहीँ न कहीँ ग्याप बढेको देखियो । त्यसको समीक्षा गर्न जरुरी छ ।

गंगा

Link copied successfully