‘रेकर्ड राख्न थालेयता काठमाडौंमा अधिक वर्षा हो’

‘नेपालमा वर्षाको मापन गर्न थालिएको ५४ वर्ष भयो । त्यसयताको अभिलेख हेर्दा काठमाडौंमा यो ‘रेकर्ड ब्रेकिङ वर्षात्’ नै हो । ’

आश्विन १३, २०८१

कान्तिपुर संवाददाता

”There is more rain in Kathmandu since record keeping started”

काठमाडौँ — बिहीबारदेखि परेको भारी वर्षाले देशैभरको जनजीवन अस्तव्यस्त छ । शनिबार रातिसम्म देशभर १ सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्, ठूलो संख्यामा मानिस बेपत्ता छन् । राजधानीसँग जोड्ने राजमार्ग अवरुद्ध छन् । दर्जनौं ठाउँमा पहिरो गएको छ । काठमाडौंमा मात्रै कम्तीमा ३४ को ज्यान गयो भने खोलाकिनार आसपासका सबै बस्ती डुबानमा परे ।

मनसुनको अन्त्य भयो भनेर आमरूपले अनुमान गरिएका बेला भएको यो भारी वर्षाको कारण के हो, यस खालको प्राकृतिक विपत्तिको पूर्वानुमान गर्न सकिने संयन्त्रगत क्षमता हामीसँग कस्तो छ, विपद्को पूर्वतयारी, राहत तथा उद्धार लगायतका विषयमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जगदीश्वर कर्माचार्यसँग कान्तिपुरका घनश्याम खड्काराजेश मिश्रले गरेको कुराकानी :

अहिले भइरहेको भारी वर्षाको प्रमुख मौसमीय कारण के हुन् ? के यो कुनै विशेष मौसमी प्रणालीजस्तै मनसुनको प्रभाव वा अन्य जलवायु प्रणालीसँग सम्बन्धित छ ?

हामी अहिले मनसुनभित्रै छौं । यसको अर्थ हो, मनसुन सक्किसकेको छैन । सामान्यतः मनसुनको न्यूनचापीय रेखाका कारण ‘इन्डो ग्याग्ङ्टिक प्लेन’ मा मौसम बदलिरहन्छ । दुईदेखि चार हप्ताको अवधिमा एक ठाउँबाट अर्को ठाउँमा सरिरहने हुनाले कहिले कहाँ, कहिले कहाँ वर्षा हुने क्रम चलिरहन्छ । त्यही क्रमअन्तर्गत यसपटक हामीकहाँ वर्षा हुन पुगेको हो । मौसमका दृष्टिले मनसुनमा यस्तो घटना हुनु स्वाभाविकै हो ।

यस पटक भएको वर्षा मध्यप्रदेशमा चक्रवातीय प्रवाह वायुमण्डलको मध्यभागसम्म फैलिन पुग्यो । यसले गर्दा पूर्वतिरबाट आएको बंगालको खाडीदेखिको जलवाष्प र पश्चिमतिर अबर सागरबाट आएको जलवाष्फ आपसमा जुधेर मध्यप्रदेशदेखि हिमाली भागतिरबाट सर्दै आयो । त्यसले गर्दा भारतमा पनि कतिपय ठाउँमा भारी वर्षा भयो । नेपालमा पनि मध्य र पूर्वी भागमा वर्षा भयो । 

इन्डो ग्याग्ङ्टिक प्लेन’ ले हाम्रो कुन–कुन भाग समेट्छ ?

नेपालमा हिमालयको काखदेखि भारतको मध्यप्रदेशसम्म पर्छ यो क्षेत्र । यसलाई मनसुनको सक्रीय क्षेत्र भनिन्छ । 

जनधन पनि ठूलो मात्रामा क्षति हुन पुग्यो । के यो अपेक्षा गरेभन्दा बढी वर्षा हो ? 

हो, नेपालमा वर्षाको मापन गर्न थालिएको ५४ वर्ष भयो । त्यसयताको अभिलेख हेर्दा काठमाडौंमा यो ‘रेकर्ड ब्रेकिङ वर्षात्’ नै हो । काठमाडौं उपत्यकामा १७ ठाउँमा वर्षात्को मात्रा नाप्ने केन्द्र छन् । त्यसमध्ये हामीले हालसम्म १२ वटाको तथ्यांक एकसरो हेर्न पाएका छौं । हेरिएकामध्ये ९ ठाउँमा अहिलेसम्मको ‘रेकर्ड’ तोडिएको छ ।

पछिल्लो २४ घण्टामा परेको पानीको सघनतालाई आधार मानेर त्यस दिन कति पानी पर्‍यो भनेर हिसाब निकाल्छौं । यसपाला दोधारा–चाँदनीमा एकै दिनमा ६४० मिलिलिटर पानी पर्‍यो । यो भनेको ‘रेकर्ड ब्रेकिङ’ हो । त्यस्तै, हालसम्म उपत्यकामा परेको पानीको अभिलेखलाई नाघ्दै सबभन्दा बढी ३४५ मिलिलिटर वर्षाको मापन भएको छ । यो भनेको अपेक्षा गरेभन्दा बढी हो । काठमाडौंमा पानीपोखरी, बुढानिलकण्ठ, खोकना, नैकाप, नागार्जुन, त्रिभुवन विमानस्थलका मापन केन्द्रले हालसम्मको उच्च वर्षा भएको देखाएका छन् । 

के कारणले यस्तो भइरहेको छ ?

यो जलवायु परिवर्तनकै असर हो । हरित ग्यास उत्सर्जन जबसम्म घट्दैन, तबसम्म यो जारी रहन्छ । 

यसले हाम्रो मौसमी चक्रमा परिवर्तन ल्याइरहेको छ ?

ल्याइरहेको देखिन्छ । किनभने, पछिल्लो चरणमा मनसुनको उत्तरार्द्धमा ठूलो वर्षा हुन थालेको छ । नत्र, सामान्यतः जुलाई र अगस्टमा सबभन्दा धेरै वर्षा हुने गर्थ्यो मनसुनमा । सेप्टेम्बरमा सबभन्दा कम पर्थ्यो । यो ३० वर्षदेखिको मौसमी ढाँचाको कुरा हो । तर, पछिल्लो पाँच–सात वर्षयता सुरुवात र अन्त्यतिरै धेरै वर्षा हुने गरेको छ ।

अनि, मनसुन सकिने अवधिलाई हामी अक्टोबर २ तारिखलाई लिन्थ्यौं । किनभने, तीन दशकदेखिको लगातारको समय हेर्दा औसतमा अक्टोबर २ पछि मनसुनी वर्षा रोकिने गरेको देखिन्छ । तर, पछिल्लो समय अक्टोबर १५ सम्म वर्षा हुन थालेको छ । यसले के बताउँछ भने, हाम्रो मौसम प्रणालीमा परिवर्तन आइरहेको छ । त्यसैले, यो झुक्याउने खालको छ । किनभने केही दिन पानी पर्न छाडेपछि अब त वर्षा सकियो भनेर मानिसहरू घरबाट निक्लन्छन् । त्यसै बेला भारी वर्षा हुने गरेको छ । 

मानिस नझुक्किऊन् भनेर जनेचतनाका लागि पूर्वानुमान गर्ने काम कति भयो यसपटक ?

वर्षात्को यो प्रणाली आउनु पाँच दिन अगाडि नै हामीले चेताएकै थियौं । किनभने, पूर्व र पश्चिमदेखि आएको जलवाष्प हिमालतिर सर्दै थियो । तर, त्यतिबेला घाम लागेको हुनाले मानिसले यसबारे उति ख्याल गरेनन् । तर, मौसमका बारेमा बुझ्नुपर्ने कुरा के छ भने, अहिले हेर्दा आकाश खुलेजस्तो देखिए पनि केहीपछि वर्षा हुन्छ । यो बुझ्न विशेषज्ञहरूले गरेको पूर्वानुमानको सहारा लिनुपर्छ । जानकारी होस् भनेर सामान्यतः हामी न्यून चापीय क्षेत्रमा जलवाष्प आइपुग्ने अनुमानित समयलाई हेरेर तीन दिनसम्मको पूर्वाअनुमान विवरण जारी गर्छौं ।

तर, यसपालाचाहिँ हामीले ९ गते अपराह्न ३ बजे १३ गते आइतबारसम्म हुने वर्षाको पूर्वानुमानको विशेष बुलेटिन जारी गरेका थियौं । सामान्यभन्दा अलिक पृथक् वर्षा हुने र बाढी आउने सम्भावना देखिएपछि यसरी विशेष बुलेटिन निकाल्छौं । यो मनसुनको अवधिमा हामीले यस्ता सात बुलेटिन निकालिसकेका छौं ।

यस पटकको बुलेटिनमा ७७ जिल्लामध्ये उत्तरपश्चिम र उत्तरपूर्वका केही भाग छाडेर यहाँ–यहाँ वर्षा हुँदै छ भनेर नक्सासहित जानकारी सार्वजनिक गरेका थियौं । त्यही सूचनाका आधारमा दुई दिन राति बस नचलाउनु भनेर परिपत्र पनि जारी गरेको थियो । हामीले त सूचना दिने हो, त्यसबाट कति मात्रामा सतर्कता अपनाउने भन्नेचाहिँ सर्वसाधारणले बुझ्नुपर्छ । आवश्यक तयारी तथा प्रतिकार्यको व्यवस्था गर्ने जिम्मेवारी सरकारका अन्य संयन्त्रको हो । 

यस किसिमको भारी वर्षाको पूर्वानुमान कति पहिले गर्न सकिन्छ ? 

सामान्यतया तीन दिनअघि गर्ने हो । यसपटक हामीले पाँच दिनअघि नै गर्‍यौं । वर्षा हुनु दुई साताअघि कसैले भन्न सक्दैन, कहाँ के हुन्छ । राम्रो प्रविधि भयो भने सात–दस दिनसम्मको मौसमी विवरणको आकलन गर्न सकिन्छ । चीन, भारत, युरोपका केही देश र अमेरिकाजस्ता समृद्ध मुलुक गरी संसारमा जम्मा १० देश होलान्, यति लामो अवधिको पूर्वानुमान गर्न सक्ने ।

जति धेरै अवधिको पूर्वानुमान गर्नुपर्छ, त्यति नै धेरै विश्वभरिको मौसमी तथ्यांक चाहिन्छ र यसका लागि सुपर कम्प्युटरको आवश्यकता पर्छ । हामीसँगको स्रोत र साधनले तीन दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाएको छ । हामीले ठूला देशको मौसमी विवरणलाई पनि आधार मानेर कहिलेकाहीँ पाँच दिनसम्मको पूर्वानुमान गर्छौं । यसपटक त्यही गरेका थियौं । 

के जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटनाको तीव्रता र आवृत्तिमा भूमिका खेलिरहेको छ ?

पक्कै पनि छ । विगतमा दुई तीन वर्षमा हुने ठूला वर्षादत् अहिले अहिले एकै पटक हुन थालेको छ । यो क्रम बढ्दो छ । उत्सर्जन कुन दरमा घट्छ र बढ्छ भन्नेले यो सब तय गर्छ । अबको ५० वा सय वर्षपछि के हुन्छ भन्ने मौसमी अनुमानका विभिन्न ढाँचा छन्, विश्वमा । तर, सबैले के स्विकार्छन् भने समग्रमा मनसुनको समयमा बढी वर्षा हुँदै जाने र हिउँदमा धेरै सुक्खा हुँदै जानेछ । हिट वेभ अर्थात् लु ज्यादा ठाउँमा आउनेछ । विश्वका धेरै भूभाग मानिस बस्नै नसक्ने खालको हुनेछ । जाडो पनि घट्दै जानेछ । 

यस्ता ठूलो क्षति रोक्न भविष्यमा समयमै चेतावनी प्रणाली र सञ्चार सुधार्न के गर्न सकिन्छ ?

सचेतना गराउने भूमिका हाम्रोभन्दा समाजका अरू निकायको ज्यादा हो । तैपनि हामीले कुनै ठूलो वर्षा वा बाढीको पूर्वानुमान गर्नेबित्तिकै सरकारका २ सयभन्दा बढी निकायलाई इमेल गरेर जानकारी गराउँछौं । बाढी आउने क्षेत्रका बासिन्दाकहाँ पुग्ने गरी एसएमएस पनि पठाउँछौं ।

दूरसञ्चार सेवा प्रदायकहरूले यस्ता एसएमएस सित्तैमा पठाउँछन् । यस पटक हामीले सयवटा मास एसएमएस पठाएका थियौं । यो वर्षात्मा पनि काठमाडौंका खोला छेउछाउका मानिसलाई एसएमएस पठाएकै हो । पहिले ठूलो क्षति नभएकाले मानिसहरूले खासै वास्ता गरेजस्तो देखिएन ।

अब मौसममा कहिले सुधार हुन्छ ?

आइतबार बिहानैबाट सुधार सुरु हुनेछ । वर्षात्को सिस्टम पूर्व र उत्तरतिर सर्दै छ । भोलि (आइतबार) दिनभर केही बदली रहन्छ । पर्सि (सोमबार) बाट मौसम पूरै सुध्रिन्छ । 

मनसुनको अवधि कति हुन्छ र वर्षा कसरी हुन्छ ? 

मनसुनको अवधि चार महिनाको हुन्छ । त्यो सबैतिर एकैनासले भइराख्दैन । यो मौसमी प्रणालीको केन्द्र न्यून चापीय क्षेत्रतिर सरिरहन्छ । जता सर्छ उतै वर्षा हुने हुन्छ । 

यो क्षेत्रमा के भयो भने मनसुन सकिएको मानिन्छ ? 

मनसुन सकिएको मान्नलाई दुई दिनदिनसम्म देशैभर रोकिएको हुनुपर्छ । र, न्यून चापीय रेखा पश्चिमतिरबाट पूर्वतिर सर्दै आउनुपर्छ । मनसुन आउने बेला पूर्वबाट पश्चिमतिर सर्दै जान्छ । सकिने बेलामा पश्चिमतिरबाट पूर्वतिर जान्छ । भारतको राजस्थानतिरको भागमा अहिले सर्दै आएको छ । तर, कतिपय वर्षमा ठूलो प्रणाली सर्दै जाँदा पनि मनसुन सकिन्न । 

मनसुन कहिले सकिन्छ ?

त्यो ठ्याक्कै भन्न सकिन्न । तर, पछिल्ला वर्षको ढाँचा हेर्दा अझै दुई साता ढुक्क हुन सकिन्न ।

बाढी पहिरो

कान्तिपुर

Link copied successfully