सञ्चालनमा आएकामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द हुँदा आन्तरिक विद्युत् प्रवाहदेखि निर्यातसम्म रोकियो
काठमाडौँ — अविरल वर्षाका कारण शनिबार साँझसम्म देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १३ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
हालसम्म सञ्चालनमा आएकामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना शुक्रबार साँझ ७ बजेदेखि बन्द छ ।
आयोजनाको बाँधको नियन्त्रण कक्ष भवन पहिरोले पूर्ण रूपमा क्षति पुर्याएको अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताए । आयोजनामा कार्यरत ५ जनाको अवस्थासमेत अज्ञात रहेको कम्पनीले जनाएको छ । आयोजनाको बालुवा थिग्य्राउने पोखरीमा समेत क्षति पुगेको प्राधिकरणको अनुमान छ ।
प्रसारण लाइनका कारण लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ठप्प भएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जनाए । बाढीपहिरोका कारण मान्डु हाइड्रोपावर, माथिल्लो तामाकोशी, मध्य सोलु, बेनी सोलु, सोलु दूधकोशी, माथिल्लो दूधकुण्ड र मध्य तमोरलगायतका जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन ठप्प भएको छ । पावर हाउसमा क्षति पुगेकाबाहेक अन्य जलविद्युत् आयोजना पानी पर्ने क्रम कम भएसँगै सञ्चालनमा आउने घोषको भनाइ छ ।
प्राधिकरणका अनुसार माथिल्लो तामाकोशी र २२ मेगावाटको मान्डु हाइड्रोपावरमा क्षति पुगेको छ । अन्य जलविद्युत् आयोजना क्षति भए/नभएको विवरण आइनसकेको प्राधिकरणका प्रवक्ता घोषले बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले तामाकोशी र मान्डुसहित हेवाखोला र तल्लो हेवा खोलामा समेत क्षति पुगेको जनाएको छ । पाँचथर पावर कम्पनीको हेवा खोला–ए र माउन्टेन हाइड्रो कम्पनीबाट प्रवर्द्धित तल्लो हेवा खोलामा समेत क्षति पुगेको इप्पानका महासचिव बलराम खतिवडाको भनाइ छ ।
‘तल्लो हेवा खोलाको पावरहाउस पूर्ण रूपमा डुबेको, इनटेकमा क्षति भएको र जेनरेटरहरू बगाएको र क्षतिको यकिन विवरण आइनसकेको सूचना आएको छ,’ उनले भने । ०८० असार १ मा आएको बाढीले क्षति पुर्याएको हेवा खोला–ए को पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने तयारीमा रहेको आयोजनामा फेरि पानी पसेको जानकारी आएको खतिवडाले बताए ।
भारी वर्षाका कारण धेरैजसो आयोजना बन्द हुने र खुल्ने क्रम जारी रहेको समेत उनको भनाइ छ । जलविद्युत् आयोजनाका पोल ढल्नेलगायत सामान्य विवरण आए पनि केकति रकमको क्षति भएको भन्ने विवरण आइनसकेको खतिवडाले जनाए । वाग्मती खोलामा आएको बाढी र कुलेखानीको ड्याम खोल्दा मान्डु हाइड्रोपावरको पावर हाउस डुबाएको इप्पानले जनाएको छ ।
अविरल वर्षाका कारण आन्तरिक रूपमा विद्युत् प्रवाहको समस्या मात्र नभई भारतसँगको विद्युत् निर्यात पनि रोकिएको भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘आन्तरिकसँगै भारततर्फको निर्यात पनि प्रभावित भएको छ,’ उनले भने । विद्युत् आपूर्तिलाई सहज बनाउन ४५६ मेगावाटको तामाकोशी आयोजनामा पुगेको क्षति यकिन गरी स्थानीय रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर छलफल भइरहेको घिसिङको भनाइ छ ।
अविरल वर्षाका कारण दुई वटा प्रसारण लाइन पनि अवरुद्ध भएको छ । काठमाडौं उपत्यकालाई विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध भएको हो । तामाकोशी नदीले १३२ केभी खिम्ती–लामसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको हो । खिम्ती–लामसाँघु प्रसारण लाइनबाट विद्युत् आपूर्ति बन्द भएपछि काठमाडौं उपत्यकामा आउने करिब सय मेगावाट विद्युत् प्रवाह रोकिएको छ ।
१३२ केभी लामसाँघु–काठमाडौं प्रसारणलाइनमा क्षति नपुगे पनि त्यहाँसम्म बिजुली नै आउन नसकेका कारण उपत्यकामा बिजुलीको अभाव हुने प्राधिकरणका प्रवक्ता घोषले बताए । खिम्ती लामसाँघु लाइनबाटै मुख्य रूपमा रातको समयमा बाह्रबिसे करिडोरका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् खिम्ती हुँदै ढल्केबर पुर्याएर भारततर्फ निर्यात हुने गरेको थियो । प्रसारणलाइनमा क्षति पुगेपछि निर्यात प्रभावित भएको छ ।
प्राधिकरणका अनुसार साधारणतया २८ सय मेगावाट बिजुली उत्पादन हुन्थ्यो । अहिले करिब १३ सय मेगावाट बिजुली उत्पादन अवरुद्ध भएको छ । कुलेखानी जलाशययुक्त आयोजनालाई पूर्ण रूपमा चलाइएको छ । कुलेखानी पहिलोबाट ६० मेगावाट दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । देशभर शनिबार साँझसम्म करिब १५ सय मेगावाट बिजुली मात्रै खपत भएको छ ।
झापाको दमक र इलामस्थित गोदकको बीचमा रहेको काबेली करिडोरको टावर नम्बर ५१ ढल्दा इलाम, पाँचथर र ताप्लेजुङका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् करिब २ सय मेगावाट विद्युत् प्रवाह बन्द भएको छ । साथै रुख ढल्दा ढल्केबरबाट चन्द्रानिगाहपुरतर्फका प्रसारण लाइनसमेत प्रभावित भएका छन् । स्थानीय वितरण प्रणालीमा क्षति पुग्दा काठमाडौं उपत्यकाका केही स्थानमा समेत विद्युत् अवरुद्ध भएको छ ।
