राष्ट्रिय विपद् : काठमाडौं जोड्ने सबै नाका ठप्प

जिल्ला जोड्नेसहित पाँचवटा मोटरबेल पुल बाढीले बगायो, प्रारम्भिक अनुमानअनुसार ४० करोडभन्दा बढीको क्षति 

आश्विन १३, २०८१

विमल खतिवडा

काठमाडौँ — काठमाडौं जोड्ने सडक नाका ठप्प बनेका छन् । नागढुंगा–मुग्लिन, दक्षिणकाली–सिस्नेरी, कान्ति राजपथ, अरनिको र बीपी राजमार्गका ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेपछि काठमाडौं छिर्न र यहाँबाट बाहिरिन सर्वसाधारणलाई समस्या भयो । जसले गर्दा यी नाका भएर दैनिक उपभोग्य वस्तु राजधानी भित्रिन सकेनन् । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सबै नाका ठप्प बनेका हुन् । 

यति बेला दैनिक उपभोग्य वस्तु लिएर राजधानी आएका सवारी साधन ठाउँ–ठाउँमा रोकिएका छन् । यी नाकामा पहिरोलगायतको अवरोध खुल्नेबित्तिकै सबै किसिमका सवारीसाधन काठमाडौं छिर्नेछन् । 

यसैबीच शनिबार साँझ अबेरसम्म देशभरका विभिन्न सडकखण्डका ६८ स्थानमा पहिरो खसेर यातायात ठप्प भएको छ । ठाउँ–ठाउँमा पहिरो खसेका कारण ती सडक खण्डमा यातायात सञ्चालनमा आउन सकेको छैन । सबैभन्दा बढी पहिरो नौबिसेदेखि मुग्लिनसम्मको सडक खण्डमा छ । यही सडकमा पर्ने झ्याप्ले खोलामा पहिरो खस्दा केही यात्रुवाहक सवारी पुरिएर मानवीय क्षतिसमेत भएको छ । 

नौबिसे–मुग्लिन सडकको मझिमटार, मौवाखोला, घोप्टेभिरमा पहिरो खसेर शनिबार दिनभर यातायात ठप्प बनेको छ । नागढुंगा सुरुङमार्गको मुखैमा लेदोसहित पहिरो खस्दा यातायात ठप्प छ । यो खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । धादिङतर्फ रोकिएका यात्रुवाहक र कुखुरा बोकेका केही सवारीसाधनलाई निर्माणाधीन नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउन सहजीकरण गरिएको छ । 

अर्को बढी समस्या भएको मध्यपहाडी राजमार्गको सिन्धुली खण्ड हो । यो राजमार्गको आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएर सडक ठप्प छ । अक्करे भीर, हर्जेनी, बलेनी, सालघारी, ल्याउखोला, फिक्कल, मंगलटार, रिट्ठाबोट खण्डमा गाडी चल्न नसकेको सडक विभागले जनाएको छ । यता बीपी राजमार्गको नेपालथोक खण्डमा पहिरो खसेर सडक अवरुद्ध छ ।

नौबिसे–मुग्लिन खण्डको झ्याप्ले खोलामा लेदोमाटो बगेर सडकमा आउँदा सवारीसाधन पुरिएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । ‘ठाउँ–ठाउँमा पहिरो खसेर समस्या भएको हो,’ उनले भने, ‘साँझ अबेरसम्म पनि पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ ।’ पानी परिरहँदा पहिरो पन्छाउन समस्या भएको हो । ‘शनिबार साँझबाट पानी रोकिएको छ,’ उनले भने, ‘त्यसैले पहिरो पन्छाउन सजिलो भयो, साँझ अबेरसम्मबीच सडकमा फसेका र रोकिएका सवारीसाधनलाई गन्तव्यमा पठाउने तयारी छ ।’ विकल्पका रूपमा धार्के–सीतापाइला, गल्छी–त्रिशूली सडक हुँदै यात्रु गन्तव्यतर्फ गएका छन् । 

काठमाडौं जोड्ने नागढुंगा–नौबिसे, दक्षिणकाली–सिस्नेरी–भीमफेदी, अरनिको राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर यातायात ठप्प रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालले जनाए । ‘पहिरोको जोखिम रहेको र पहिरो खसेको ठाउँमा मेसिन उपकरणसहित प्राविधिक टोली तैनाथ अवस्थामा राखेका छौं,’ प्रवक्ता ढकालले भने, ‘पहिरो पन्छाएर दुईतर्फी रूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।’ 

बीपी राजमार्गको मंगलटारमा करिब २ सय मिटर सडक खोलाले बगाएकाले उक्त खण्डमा यातायात ठप्प बनेको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताए । ‘रोशी खोलाले २ सय मिटर सडक बगाएको जानकारी आएको छ,’ उनले भने, ‘दसैं आउनै लागेका बेला सडक पूर्वाधारमा बाढी–पहिरोले ठूलो क्षति भएको छ, बाढीले बगाएको ठाउँमा खोलाबाट तत्कालका लागि अस्थायी सडक बनाएर वा बाँध बाँधेर भए पनि यातायात सञ्चालनमा ल्याउँछौं ।’ देशका धेरैजसो सडकमा बाढीपहिरोले क्षति पुगेको छ । मध्यपहाडी राजमार्गमै पर्ने खोटाङको खोक्सेली र चिसापानीमा पनि पहिरो खसेर सडक ठप्प छ । 

सबैतिरबाट क्षतिको यकिन विवरण आइसकेको छैन । अहिलेसम्म प्रारम्भिक विवरणअनुसार ४० करोडभन्दा बढीको क्षति भएको महानिर्देशक पोखरेलको भनाइ छ । ‘सबैतिरबाट क्षतिको विवरण आइसकेको छैन,’ उनले भने, ‘विवरण लिने क्रम जारी छ, अब पानी नपरे बाढी पहिरोले क्षति पुगेका सडकको मर्मत सम्भार गरेर चाडबाडमा सहज बनाउनेछौं ।’

मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको भौतिक मन्त्रालयले जनाएको छ ।

कान्ति राजपथअन्तर्गत मकवानपुरको बगुवा र ललितपुरको माल्टा जोड्ने वाग्मती नदीको पक्की पुल पनि बाढीले बगाएको छ । दोलखा र रामेछापलाई तराईका जिल्लासँग जोड्ने लाइफ लाइनको रूपमा रहेको सिन्धुली खुर्कोटस्थित सुनकोशी नदी पुलको बायाँतर्फको स्पान पूर्ण रूपमा क्षति भएको मन्त्रालयले बताएको छ । क्षति भएका स्थानमा छिटोभन्दा छिटो बेलिब्रिज जडान गरी यातायात सञ्चालन गरिने मन्त्रालयको भनाइ छ । उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीमाथिको मोटरेबल पुल पनि बाढीले बगाएको सडक विभागअन्तर्गत मूल महाशाखाका उपमहानिर्देशक ललिजन खनालको भनाइ छ । 

कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, मिर्चैया–कटारी–घुर्मी, सहिद मार्ग रोल्पा, भेरी कोरिडोर, सालझन्डी–सन्धिखर्कलगायत सडकको विभिन्न स्थानमा पहिरो खसेर यातायातका साधन चल्न सकेका छैनन् । यसैबीच भौतिकमन्त्री देवेन्द्र दाहालले अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सडक विभाग र यसअन्तर्गतका निकायलाई निर्देशन दिएका छन् । 

सुरुङमार्गबाट यात्रुको उद्धार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितको पहिरो खसेर अलपत्र परेका सयौं यात्रुको उद्धार गरिएको छ । पहिरोको मुखमा अलपत्र यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी उद्धार गरेर काठमाडौं निकालिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जनाए ।

सुरुङमार्गको धादिङतर्फ सडकमा रोकिएका यात्रुलाई सडक विभाग, चन्द्रागिरि नगरपालिका र सुरुङमार्ग आयोजना कार्यालयले समन्वय गरी स्थानीय रुटमा चल्ने यात्रुवाहक सवारी साधन प्रयोग गरेर काठमाडौं ल्याइएको हो ।

करिब ३० ट्रिप गरेर रोकिएका यात्रुको उद्धार गरिएको आयोजनाका एक कर्मचारीले जनाए । कुखुरा बोकेका करिब दर्जन गाडीलाई सुरुङमार्गबाटै ल्याइएको छ । ‘यात्रु सडकमै अलपत्र थिए, पहिरोले गर्दा सडकमार्गबाटै काठमाडौं आउने अवस्था थिएन,’ सुरुङमार्गका एक कर्मचारीले भने ।

बाढी पहिरो

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully