काठमाडौँ — गठबन्धनको ठूलो दल एमालेले ‘ठूला’ नेता नपठाएकाले पनि सरकारप्रति उसको भरोसामा धेरैले प्रश्न गरेका छन् । एमालेको १८ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीबाहेक ६ जना पदाधिकारी मात्र सांसद छन् । शीर्ष नेताहरूमा उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा र रघुवीर महासेठ सांसद छन् । तर एमालेले सचिव महासेठलाई दलको नेतृत्व गराएर सरकारमा पठाएको छ ।
नयाँ गठबन्धनका योजनकार उपाध्यक्ष पौडेल पनि सरकारमा जाने भनिए पनि उनी आफैं पछि हटेका छन् । अर्थमा माओवादीले र गृहमा रास्वपाले दाबी गरेकाले तीबाहेकका मन्त्रालयमा नजाने भनेर उनले दुई दिनअघि नै अध्यक्ष ओलीलाई जानकारी दिइसकेका थिए । पौडेलको विकल्प खोज्दा ओलीले महासेठलाई रोजेका छन् । यसै सन्दर्भमा उपाध्यक्ष विष्णु पौडेलसँग गरिएको संक्षिप्त कुराकानी :
एमालेले गत वर्षकै मन्त्रीलाई निरन्तरता दिनुको कारण के होला ?
अघिल्लो पटक मन्त्री भएर दुई महिना मात्र काम गर्न पाउनुभएको थियो । उहाँहरूले सुरु गरेका काम पूरा गर्न अहिले निरन्तरता दिइएको हो । राम्रो काम गर्ने विश्वासका साथ पुनः उहाँहरूलाई नै सरकारमा पठाउने निर्णय भएको छ ।
नयाँ समीकरण बनाउन भूमिका खेलेर पनि तपाईंचाहिँ सरकारमा किन जानुभएन नि ?
पार्टी संगठनबाट सबभन्दा ठूलो पार्टी बनाउने मिसन ०८४ लाई सफल बनाउने जिम्मेवारी हामी सबैको हो । म पार्टी संगठनको काममै केन्द्रित हुनेछु ।
पार्टी वरिष्ठ नेताको नेतृत्वमा सरकारमा जाने अपेक्षा थियो । किन त्यो निर्णय हुन सकेन ?
उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेका पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा गएका छौं । पदाधिकारीबाटै सरकारमा नेतृत्व भएको छ । यसमा अरू कारण केही छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले अघिल्लो गठबन्धनका मन्त्रीले राम्रो काम गर्न नसकेको गुनासो गर्नुभएको थियो । दाहालकै नेतृत्वको यो सरकारले राम्रो काम गर्ने आधार के छ ?
यो सरकारले जनता, राष्ट्रको पक्षमा राम्रो काम गर्नेमा म विश्वस्त छु । गठबन्धनमा रहेका सबै दलले सरकारका कामलाई गति दिन प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।
यो सत्ता गठबन्धन लामो समय जानेमा सुरुमै किन शंका भएको होला ?
यो गठबन्धन ०८४ को निर्वाचनसम्म जानेछ । त्यसबेलासम्म सरकारले मुलुकको विकास, सुशासन र सामाजिक न्याय लगायतका क्षेत्रमा राम्रो काम गर्नेछ ।
