१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

‘सरकारमा जान दाउ हेरेका छैनौं’

काठमाडौँ — एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएका छन् भने कांग्रेस सरकारबाट बाहिरिएको छ । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो । 

‘सरकारमा जान दाउ हेरेका छैनौं’

एमाले–माओवादीका दोस्रो तहका नेताहरूका अनुसार प्रधानमन्त्रीमा आलोपालो गर्ने र ०८४ को चुनावमा चुनावी गठबन्धन वा पार्टी एकतासम्म गर्ने विषयमा समझदारी भएपछि नयाँ राजनीतिक ‘कोर्स’ सुरु भएको हो । यही सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना सबै मन्त्रीलाई बिदा गरेर सोमबार एमाले, माओवादी र रास्वपाका एक/एक जना मन्त्री नियुक्त गरेका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिएका छन् ।

केन्द्र र प्रदेशका नेतृत्वसहित सबै विषय टुंगो लगाएपछि एमाले, रास्वपा र जसपाका वरिष्ठ नेताहरूलाई उपप्रधानमन्त्रीसहित मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी छ । जसपा अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुन खोजेकाले पहिलो चरणमा कसैलाई पनि उनले मन्त्री तोकेका छैनन् । उनले उपप्रधानसहित परराष्ट्रमन्त्री लिने समझदारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउन खोजेका छन् । सोमबार साँझ उनले कोटेश्वरस्थित निवास पुगेर एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । यसै सन्दर्भमा कान्तिपुरले पार्टीका महासचिव घनश्याम भूसालसँग संक्षिप्त कुराकानी गरेको छ ।

एमाले र माओवादीको नयाँ गठबन्धनलाई कसरी लिनुभएको छ ?

हिजो जुन स्थितिमा गठबन्धन बनेको थियो, त्यो ढंगबाट चलिरहको थिएन । मुलुकको सन्नाटा र उकुसमुकुसलाई केही सकारात्मक सन्देश दिनुपर्छ भन्ने थियो । त्यो दिशामा जान अरू समस्याका बाबजुद कांग्रेसले सहज बनाउन सकेको थिएन । बजेटदेखि अरू सुशासनको मामिला र जनताका समस्या समाधान गर्न सहज भएको थिएन । यी विषयमा हामीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि दिएका थियौं ।

तर कांग्रेसको साथ नपाउँदा प्रधानमन्त्रीमा छटपटी थियो । यसबारे कांग्रेससँग पनि हाम्रो कुरा भएको थियो । राष्ट्रिय सभा अध्यक्षको दाबी पनि गठबन्धनभित्रै समाधान गरेर जानुपर्थ्यो, हुन सकेन । अन्ततः प्रधानमन्त्रीले यो निर्णय गर्नुभयो । यो विषय समाजवादी मोर्चामा छलफल गर्न सकिन्थ्यो । यसबारे प्रधानमन्त्री प्रचण्डजीले केही बाध्यता थिए भनेर हाम्रो अध्यक्षलाई बताएको जानकारीमा आएको छ । गठबन्धनले आफ्नो मर्म बोक्न सकेको थिएन ।

एकीकृत समाजवादी ‘पर्ख र हेर’ को नीति लिएको छ, सरकारमा जाने सम्भावना कति छ ?

हामीले गठबन्धनलाई हेरौं भन्नुको अर्थ वाम एकताको कुरा आएको छ, मुलुकलाई निकास दिन भन्ने कुरा छन् । नयाँ गठबन्धनको उद्देश्य प्राप्त गर्न के योजना छ ? संरचना कस्तो हुन्छ ? भन्ने हामीले बुझ्न चाहेको हो । गठबन्धनका दलको सीमा क्षेत्र के हो ? त्यसपछि निर्णय गर्छौं । हामीले आन्दोलन गरेर गठबन्धन बनाएर हेरियो । राष्ट्रप्रति उत्तरदायी हुने दिगो गठबन्धन हो कि होइन ? बुझ्न चाहेका हौं । पर्ख र हेर भनेको हामी सरकारमा जान दाउ हेरेको होइन ।

प्रधानमन्त्री आफैं अध्यक्ष माधवकुमार नेपालको घर गएर नयाँ गठबन्धनमा आउन आग्रह गर्नुभयो नि ?

प्रधानमन्त्रीको आग्रह थियो, एउटा परिस्थितिमा निर्णय लिएँ, तपाईंसँग संस्थागत रूपमा छलफल गर्न सकिएन, मेरा केही बाध्यता थिए । लतारिएर आउनुस् भनेको होइन । सँगै जाऔं भनेर अनुरोध गर्न आएको हुँ । ओलीजीको पनि यही सन्देश हो भनेर उहाँले भन्नुभयो । प्रधानमन्त्रीले केही सन्दर्भ दिनुभएको छ, त्यसपछि विचार गर्छौं ।

उसो भए, प्रधानमन्त्रीको कदमलाई धोकाका रूपमा लिनुभएको छैन ?

हिजो गठबन्धन बने । ती विषयमा धोका भनेका छैनौं । अहिले पनि गठबन्धन टुट्यो, कसको के भूमिका रह्यो ? छलफल गरौंला । पाँच वर्ष चलाउँछौं भनेको गठबन्धन टुट्यो । प्रधानमन्त्रीले टुटाउनुभयो । तर गठबन्धन उद्देश्यअनुसार नचलेको साँचो हो । गठबन्धन भंग हुनुको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ ।

प्रकाशित : फाल्गुन २२, २०८० १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?