
काठमाडौँ — भुटानी शरणार्थी समस्या समाधानका लागि गठित कार्यदलका संयोजक बालकृष्ण पन्थीसँगको कुराकानी :

सानु भण्डारीलगायतले कार्यदल सदस्य गणेश केसी र संयोजक बालकृष्ण पन्थीसँग पहिलेदेखि नै सम्पर्कमा थियौं भनेका छन् । गृह मन्त्रालयले तपाईंलाई कसरी कार्यदलमा राख्यो ?
गृह मन्त्रालयले पहिले बस्ने कि नबस्ने भनेर नसोधी त कार्यदलमा राख्दैन । मन्त्रालयले ‘तपाईं त्यहाँ बसेर काम गर्नुहोस्’ भनेपछि मैले हुन्छ भनें । म गृह मन्त्रालयमा छँदा २०७४ वैशाख–जेठतिर सानु भण्डारीसँग परिचय भएको हो ।
कसरी परिचय भयो ?
खै के प्रसंगमा आउनुभएको थियो । बोली मिठो, राम्रो थियो, त्यही हिसाबले परिचय भएको हो । म गृहमा छँदा कांग्रेसका विमलेन्द्र निधि मन्त्री हुनुहुन्थ्यो । पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्थ्यो । पछि जनार्दन शर्मा आउनुभयो, अनि मलाई शिक्षा मन्त्रालय पठाइयो ।
पत्र पाइसकेपछि झापा कहिले जानुभयो ?
२०७६ साउनमा हामी झापा गयौं । सुरुमा हामीलाई दुई महिनाको कार्यावधि थियो । पत्र पाएपछि गयौं । पहिले उर्लाबारीमा बस्यौं । पछि दमकमा बस्यौं ।
सानु भण्डारी र केशव दुलालहरू त्यतिबेला त्यहाँ थिए कि थिएनन् ?
हामी त्यहाँ पुगेपछि उहाँहरू आउनुभएको हो । दमकमा मेरो भेट भएको हो । दुलालसँग त्यहाँ गएपछि मात्र चिनजान भएको हो ।
तत्कालीन गृह सचिव प्रेमकुमार राईले गृहमन्त्री रामबहादुर थापाले कार्यदलमा बस्ने तीन जनाको नाम दिनुभएको हो भन्नुभएको छ । कार्यदल सदस्य गणेश केसीचाहिँ गिरोहका सदस्य सानु भण्डारीले छिट्टै नयाँ नियुक्ति पाउनुहुनेछ भनेपछि नियुक्ति भएको देखिन्छ । तपाईंको नाम कसले सिफारिस गरेको थियो ?
मलाई त उहाँहरू कसैबाट प्रस्ताव आएको होइन । पुराना सहसचिवहरूमध्येबाट खोज्ने क्रममा ल्याइएको हो कि ?
गिरोहकै केशव दुलालले ‘पन्थीसँग त्यसबेला निकट सम्बन्ध थियो, चिसो खान भेडेटारको नाम्जे जान्थ्यौं, त्यसबेला धेरै कुराकानी हुन्थ्यो’ भनेका रहेछन् नि ? तपाईं उहाँहरूसँग नाम्जे जानुभएको हो ?
हामी आ–आफ्नै खर्चमा गएका थियौं । राति बस्ने कोठा नपाएर निकै दुःख पायौं ।
सरकारी जिम्मेवारी पाएको व्यक्तिले म को हुँ, कस्ता व्यक्तिहरूसँग हिँड्दै छु भन्ने सोच्नुभएन ? ती व्यक्ति तत्कालीन अवस्थामा के हैसियतमा थिए र तपाईं उनीहरूसँग भेडेटार पुग्नुभयो ?
आफू दह्रो भएपछि त्यसलाई मैले अन्यथा लिइनँ । म मात्र होइन, हामी कार्यदलका तीनै जना थियौं । म पश्चिमको मान्छे, पूर्वतिर जहाँ गए पनि मलाई नौलो हुने । त्यही बेला पाथीभरा पनि गइयो, सानु भण्डारीका साथमा ।
गिरोहका सदस्यहरूले कार्यदलसँग सम्पर्क बनाएरै नयाँ नाम छिराएको प्रहरीलाई बताएका रहेछन् नि ?
नाम छिराउने उहाँहरूको मनसाय होला । त्यो उहाँहरूले नै जान्ने कुरा हो । मैले प्रतिवेदनमा शरणार्थी छुट दर्ता कहिले–कहिले भए भन्ने पनि अभिलेख राखेको छु । ४ सय २९ जनाको नाम पनि शरणार्थी आयोग र गृह मन्त्रालयको संयुक्त प्रमाणीकरणबाट आएको हो, हामीले एउटै नाम थपेका छैनौं ।
सम्बन्धित समाचारहरू :
गिरोहकै पहलमा बनेको थियो सरकारी कार्यदल
‘कार्यदल नबन्दै गिराहकै सदस्यले मलाई नियुक्ति दिलाउने भनेका थिए’