'हामी गर्न नसकिने काम भन्दैनौं, नभनेका काम गर्दैनौं' [भिडियो]- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

'हामी गर्न नसकिने काम भन्दैनौं, नभनेका काम गर्दैनौं' [भिडियो]

फ्लाइओभर त मान्छे हाँस्ने कुरा भएको छ । मोनोरेलको कुरा छ, त्यो पनि हुने कुरा होइन । हामी गर्ने काम भन्‍‍छौं र भनेका कुरा गर्छौं । जस्तो खानेपानी, फोहोरमैलाको समस्या समाधान गर्छौं ।
कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर पाँच वर्षपछि फेरि भोट माग्न जनताको घरदैलोमा पुगेका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षमा रहेको एमालेले एक्लै बहुमत पालिकामा जित्ने दाबी गरिरहेको छ । अर्कोतिर सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर मुलुकको ठूलो दल एमालेसामू चुनौती पेस गरेका छन् ।

एमालेले पनि देशका विभिन्न पालिकामा पार्टी र व्यक्तिसँग गठबन्धन गरेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा तालमेल गरेर उम्मेदवार चुनावी मैदानमा उतारेको छ । अर्कोतिर एमालेले राप्रपा, परिवार दल, सत्ता गठबन्धनसँग असन्तुष्ट नेताहरूसँग तालमेल गरेको छ ।

ललितपुर महानगरपालिकामा एमालेले २०७४ सालकै प्रतिस्पर्धीलाई मैदानमा उतारेको छ । उक्त निर्वाचनमा ३ सय २६ मतले पछि परेका हरिकृष्ण व्यञ्जनकार एमालेबाट ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका छन् । स्थानीय तह निर्वाचनमा ललितपुर महानगरको प्रतिस्पर्धाबारे एमाले उम्मेदवार व्यञ्जनकारसँग आगामी चुनावका एजेन्डा र तयारीबारे ई-कान्तिपुरका जयसिंह महरा र प्रशान्त माली ले गरेको कुराकानी :

निर्वाचन आउन थोरै दिन बाँकी छ, प्रचारप्रसारमा व्यस्तता कत्तिको छ ?

म सँधै व्यस्त हुने मान्छे हो । अहिले त निर्वाचनको दौरानमा अन्तर्वार्ता दिन, कार्यकर्ता र जनतासँग भेट्नै पर्‍यो । यो अरुभन्दा अलि बढी व्यस्त हुने बेला छ ।

निर्वाचनको प्रचारप्रसारको अवधि छोटो, मतदातासम्म पुग्न समय व्यवस्थापन कसरी गर्नुभएको छ ?

हाम्रा कार्यकर्ता धेरै छन् । उहाँहरू घरघर पुग्नुहुन्छ । हामी त घरघरमा पुग्न सक्दैनौं । कार्यकर्ताहरूले पार्टीको घोषणापत्र, प्रतिबद्धतापत्र, नीति र कार्यक्रम सबै जनताको घरघरमा पुर्‍याउँछन् । त्यसै अनुसार जनताले राय दिन्छन् ।

तपाईं जुनजुन ठाउँमा जानुभएको छ त्यहाँका मतदाताको प्रतिक्रिया के छ ?

जनताहरू मदेखि उत्साहित छन् । यसपालि तपाईं आउनुभयो, पोहोर साल (२०७४ को स्थानीय तह निर्वाचन) हाम्रो पनि गल्ती भयो, तपाईंको पनि सानो गल्तीले हार्नुभयो । तपाईंको हारमा प्राविधिक गल्ती भएको हो । चिरिबाबुको काम देखिसक्यौं अब तपाईंले गर्ने हो भन्ने उनीहरूले भनिरहेका छन् । यसपालि पक्का छ तपाईंको, तपाईंलाई पूर्णरूपमा सहयोग गर्छौं भनिरहेका छन् ।

तपाईं जनतामाझ के एजेन्डा राखेर भोट माग्दै हुनुहुन्छ ?

ललितपुर भनेको सांस्कृतिक महानगर हो । यसलाई अझ समृद्ध सांस्कृतिक महानगर बनाउन चाहन्छौं। जनता समृद्ध हुन चाहन्छन् । फोहोरमैला, खानेपानी, ढलनिकास, प्रविधि, शिक्षा, कलासंस्कृति र पूर्वाधारका क्षेत्रमा समृद्ध ललितपुर बनाउने अभियान अन्तर्गत काम गर्छौं ।

२०७४ सालको निर्वाचनमा आफ्नै गल्तीले हार्‍यौं भन्नुभयो, त्यो गल्ती के थियो ?

गल्ती भनौं कि कमजोरी, हामीले निर्वाचनमा खटिएका कर्मचारीहरूलाई कन्ट्रोल गर्न सकेनौं । उनीहरूको निरीक्षण गर्न सकेनौं । जसरी निर्वाचनमा मतगणना हुनुपर्ने हो त्यो गराउन सकेनौं । त्यसले गर्दाखेरि हार भएको हो । देखिने गरी गल्ती के भएको छ भने एउटा वडामा एक सय १२ भोट कम गरिदिएछ । एउटा वडामा एक सय २८, कुनै वडामा ३३, कुनैमा ४५, कुनैमा ५५ मत कम गरिदिएछ । त्यो भनेको हिसाब बिगारेको हो । त्यसलाई हामीले नियन्त्रण गर्न सकेनौं । जब हामी मुद्दामा गयौं र त्यो प्रमाण ल्यायौं त्यसपछि थाहा पायौं ।

त्यतिबेला जनतालाई आफ्ना एजेन्डामा रिझाउन पनि सक्नुभएको थिएन कि ? जनतालाई रिझाउन नसकेको भए भोट कसरी बढ्यो होला ? जनता खुसी नै छन् तर हाम्रै गल्तीले गर्दा त्यसो भयो । जनताको मत हामीले जोगाउन सकेनौं ।

यो बीचमा महानगरको प्रतिपक्षमा रहेर के-के काम गर्नुभयो ?

मैले विगत पाँच वर्षमा धेरै राम्रो काम गरेको छु । पार्टीका कार्यकर्ता बढाएका छौं । ६ हजार पार्टी सदस्य बढेका छन् । नेकपाको निरन्तरताको रूपमा धेरै माओवादी कार्यकर्ता हाम्रो पार्टीमा आएका छन् । पार्टी प्रवेश पनि त्यत्तिकै बढिरहेको छ । हामीले संगठन चुस्त दुरुस्त बनाएका छौं । महाधिवेशन, जिल्ला अधिवेशनले कार्यकर्तामा ऊर्जा आएको छ ।

जनताले पनि पहिले जसलाई भोट दियो त्यो मान्छे ठिक रहेनछ भन्ने कुरा बुझिसक्यो । त्यो मान्छे ठिक रहेनछ, अब तपाईंलाई भोट दिन्छौं भनिरहेका छन् ।

यो बीचमा तपाईंको पार्टी विभाजन भएको छ र तपाईंविरुद्ध गठबन्धन पनि बनेको छ, यसले कतिको प्रभाव पार्छ ?

तपाईंलाई म २०५४ सालको उदाहरण दिन्छु । त्यतिबेला हाम्रो पार्टी सानो टुक्रा उछिट्टिएको होइन कि फुटेको थियो । सहाना प्रधान, सिपी मैनाली, आरके मैनाली, वामदेव गौतम, सिद्धिलाल सिंह, पद्मरत्न तुलाधर, राजेन्द्र श्रेष्ठहरू सबै गएका थिए । तैपनि हामीले ललितपुरमा तीनवटै सिट जित्यौं । अहिले त सानो टुक्रा गएको छ । तीन जना वडाअध्यक्ष गएका छन्, चारपाँचजना सदस्य गएका छन् । यसले केही असर गर्दैन । जनताले पिपलपाते कार्यकर्ता गएका छन् र राम्रा कार्यकर्ता आएको छन् भन्ने ढंगले हेरिरहेका छन् । गएको ठीकै छ भनिरहेका छन् ।

गठबन्धनको सवालमा कुरा गर्दा यो गठबन्धन हो कि 'गडबन्धन' हो! अहिले तपाईंहरूले देखिरहनु भएको छ कि कुनै वडामा तीनवटै पार्टीको उम्मेदवारी परेको छ कुनैमा एकले अर्कालाई बहिष्कार गरिरहेका छन् । उनीहरू कति शक्तिशाली छन् भन्ने कुरा त शेरबहादुर देउवाले भन्नुभएको छ कि 'हामी एक्लै एमालेसँग लड्न सक्दैनौं' । कांग्रेस एमालेसँग एक्लै लड्न सक्दैन भने अरु ढोडको सहारा लिएर के गर्छन् उनीहरूले ?

ललितपुर महानगर जहिले पनि काठमाडौंको छायामा पर्‍यो भन्छन् । पार्टीहरूभित्र पनि काठमाडौंको मेयर जित्नका लागि केन्द्रले शक्ति लगाउने तर यहाँ प्रचारप्रसारमा ठूला नेताको कमै उपस्थिति हुन्छ भन्ने सुनिन्छ, तपाईंको अनुभव के छ ?

ललितपुर महानगर पार्टीगत रूपमा छायामा परेको भन्नुहुन्छ भने हामी यसपटक प्रयास गरिरहेका छौं । महानगरको सन्दर्भमा हेर्ने हो भने २०५४ सालमा जित्दाखेरि काठमाडौं र ललितपुर समान हैसियतमा थियौं । २०७४ मा एउटा पार्टीले जितेपछि आफ्नो भूमिका निभाउन सकेनन् र काठमाडौंको छायाको रूपमा रहे ।

चुनाव प्रचारमा पार्टीका ठूला नेता ल्याउने प्रयासमा रहेका छौं । उहाँहरूलाई प्रचारमा ल्याउने कुरामा हाम्रो पनि कमिकमजोरी रहेको छ ।

२०७४ सालमा ललितपुर महानगरका बहुमत वडामा तपाईंको पार्टीले जितेको थियो, काम गरेन भनेर मेयर चिरिबाबुलाई मात्रै दोष दिन मिल्छ ?

बैठकको निर्णयअनुसार काम गर्नुपर्ने । बोर्ड बैठक (महानगर कार्यपालिका) ले एउटा निर्णय गर्ने काम अर्को गर्छ । पहिले चार-पाँच महिना बोर्ड बैठक बोलाइएन । २०७८ को असारपछि बोर्ड बैठक नबोलाइकन सिध्याइयो । त्यस्तो मान्छेको नेतृत्वमा कसरी काम गर्ने ? पटकपटक ज्ञापनपत्र बुझाएको छ । पटकपटक घेराउ गरेको गरियो तर कामै भएन । अरु त के गर्ने ? हामी शान्तिप्रेमी छौं, तोडफोडमा उत्रिने काम हाम्रो होइन ।

ललितपुरमा ट्राफिक जाम हुने समस्या छ, तपाईं निर्वाचित हुनुभयो भने यो समस्या समाधान गर्ने योजना के छन् ?

यो कुनै गार्‍हो कुरा होइन । पार्किङ व्यवस्थापन गर्न सक्यौं भने समस्या समाधान हुन्छ । मुख्य समस्या पार्किङ हो । अरुको जग्गा लिजमा लिएर वा सरकारी जग्गा पार्किङमा प्रयोग गर्‍यौं भने समस्या समाधान हुन्छ ।

२०७४ सालमा फ्लाइओभर, मोनोरेल र मेट्रोरेलका आश्वासन आएका थिए, यसपालि त छैनन् नि ती योजना ?

पैसा खर्च गर्ने काम मात्रै भयो । फ्लाइ ओभरको कुरा गर्नुभयो उहाँ (चिरिबाबु)ले । चार वर्ष कन्सल्टेन्टलाई करोडौं पैसा दिनुभयो । यो जामको समस्या ललितपुरको होइन, काठमाडौंको हो । हामीले फ्लाइओभरबाट ललितपुरमा नै सवारी साधान खसाल्ने हो भने समस्या समाधान हुँदैन भनेको हो । तर उनी आफ्नो अडानमा अडिग रहे पछि फेल भए । फ्लाइओभर त मान्छे हाँस्ने कुरा भएको छ । मोनोरेलको कुरा छ, त्यो पनि हुने कुरा होइन । हामी गर्ने काम भन्‍‍छौं र भनेका कुरा गर्छौं । जस्तो खानेपानी, फोहोरमैलाको समस्या समाधान गर्छौं ।

फोहोर अहिले पनि बाटोमा थुप्रिएको देखिन्छ, यसका दीर्घकालीन समाधानका योजना के छन् ?

अहिले ओखरपौवामा फोहोर फाल्नका लागि ललितपुर महानगरको वर्षमा २० करोडसम्म खर्च भइरहेको छ । हामीले चार करोडको मेसिन ल्यायो भने त्यसमा १० टनसम्म फोहोर व्यवस्थापन गर्ने क्षमता हुन्छ । त्यसबाट ग्यास, विद्युत्, मल पनि निस्किन्छ । हामीले त्यत्ति गर्यौं भने फोहोरबाट मोहोर भइहाल्छ । यो सजिलो उपाय हो । व्यवस्थापन गर्न नसकेर, म्यानेजमेन्टको ध्यान नभएर यस्तो भएको हो ।

ललितपुर महानगरपालिकाले साइकल लेन बनाएको छ, साँघुरा सडकमा पार्किङ भइरहेको छ यो अवस्थाको सडक सुधारका योजना के छन् ?

साइकल लेन बनाएर कार्यालयको पश्चिमपट्टी पार्किङ बनाएर पैसा उठाइरहेको छ महानगरपालिकाले । यो जनता हसाउँने काम होइन ? साइकल लेन बनाउने र त्यसैमा मोटरसाइकल पार्किङ गराएर पैसा उठाउने अपराधपूर्ण काम होइन ? त्यस्तो गरिरहेको छ । जहाँसम्म सडकको कुरा छ भिजन नभएपछि यस्तै हुन्छ । पिचमाथि पिच गरिएको छ, जसले गर्दा अग्लो पिच भएको छ । मान्छे लड्ने खालको छ । पिच बिग्रिएको ठाउँमा मात्रै पिच गर्नुपर्नेमा पिचमाथि पिच गर्दा खर्च धेरै भएको छ । जाम बढेको छ र घरभित्र पानी पस्ने अवस्था छ । हामी आयौं भने त्यसो गर्दैनौं ।

ललितपुरको संस्कृतिका धरोहर ढुंगेधारा र राजकुलो पुनर्जिवित गर्ने तपाईंका योजना के छन् ?

म कुरामात्रै गर्दिन काम गर्छु । ढुंगेधारामा पानी जमिनमुनीबाट आउँछ । जमिनमा पानी आकाशबाट जाने हो । आकाशबाट गएको पानी संचित हुने वातावरण बनाउनुपर्‍यो । विभिन्न चोक छन् त्यसमा ईंटा छाप्दा पानी जाने अवस्था बनाउनुपर्छ । ठूल्ठूला पोखरीमा पानी जम्मा गर्नुपर्छ । जहाँजहाँ घर छन् तिनले पनि जमिनभित्र पानी जाने बनाउनुपर्छ । त्यसले गर्दा एउटा कुरा ढुंगेधारामा पानी आउँछ अर्को कुरा पानीले गर्दा बाटोमा फोहोर बग्दैन ।

पछिल्लो समय सबैतिर डिजिटल महानगरका कुरा आइरहेका छन्, ललितपुर महानगरपालिकाबाट डिजिटल माध्यमबाट सुविधा दिने योजना के छन् ?

अहिले मैले भौतिक पूर्वाधारको काम सकिएको वडाहरूलाई जनताको जीवनस्तर सुधार्ने काम गर्न भनेको छु । अनलाइनबाट सिफारिस लिने, पास गर्ने गर्नुस् भनेको छु । सीसीटीभी क्यामेरा राखेर ढल फुटेको तुरुन्तै देखिने खालको, ढल फुटेको, बाटो भत्किएको देखिने बनाएर क्यामेरा राख्न भनेको छु । अर्को कुरा भनेको डिजिटल माध्यमबाट सबै ठाउँमा काम गर्नुस भनेको छु ।

काम गर्दा विज्ञहरूको सेवा लिनेबारे तपाईंको बुझाइ के छ ?

हामी राजनीतिज्ञ भनेका कुनै विज्ञ होइनौं । हामी इन्जिनियर, डाक्टर केही होइनौं । हामीले व्यवस्थापन गर्ने मात्रै हो । इन्जिनियर ल्याएर नक्सा डिजाइन गर्ने, डक्टर ल्याएर औषधिउपचार, आइटी विज्ञ ल्याएर प्रविधिक क्षेत्रमा उहाँहरूकै सल्लाहमा काम गर्छौं । विज्ञहरूको टिम ल्याएर सल्लाहमा नै गर्छौं ।

निर्वाचनको सम्मुखमा हुनुहुन्छ तपाईंले भनेका बाचा पूरा गर्नुहोला भन्ने आधार के हुन् ?

ललितपुरका जनता इमानदार छन् । ललितपुरलाई राम्रो बनाउन चाहन्छन्, बिग्रेको हेर्न चाहँदैनन् । त्यसो हुनाले हामीले जे योजना ल्याएका छौं ती गर्न सकिन्छन् । गर्न नसकिने योजना भनेका छैनौं । हुनै नसक्ने ठूल्ठूलो फ्लाइ ओभर मोनोरेल, ट्रेनको कुरा भनेका छैनौं । पानी दिन्छौं, बाटो राम्रो बनाउँछौं, फोहोरमैला व्यवस्थापन गर्छौं, पर्यटन बढावा दिन्छौं, सांस्कृतिक सम्पदाका कुरा भनेका छौं । त्यो गर्न नसकिने कुरा होइन । मैले गर्न नसकिने काम भन्दा पनि भन्दैन नभनेका काम गर्दा पनि गर्दैन ।

तपाईंका प्रतिस्पर्धी र तपाईंको पार्टीबाट अलग्गिएका माओवादी-समाजवादीका नेताहरूसँग कस्तो सम्बन्ध छ ?

व्यक्तिगत सम्बन्ध राम्रो छ । चिरिबाबुसँग राम्रो सम्बन्ध छ । भेट भयो भने हात मिलाउँछौं, फोटो खिचाउँछौं । मान्छेहरूले उत्साहित भएर हामी दुईजनाकहाँ फोटो खिच्न आउँछन् । हरिकृष्ण थापा (एकीकृत समाजवादी नेता) हुनुहुन्छ एमाले हुँदा मेरो सचिव हुनुहुन्थ्यो । राम्रै कुरा गर्नुहुन्छ । सद्भाव राख्नुहुन्छ । तपाईंलाई जिताउनुपर्ने हो भन्नुहुन्छ । माओवादी नेताहरूसँग पनि सँगै बसेर काम गरेको हो । २०६४-६५ सालदेखि नै मलाई श्रद्धा र आदरभावले नै हेर्छन् ।

एउटै पार्टीमा हुँदा पनि कुनै विवाद भएन । म अध्यक्ष भए नेकपाको राजुकाजी सचिव हुनुभयो । कुनै विवाद भएन । त्यसपछि हरि दाहाल आउँदा पनि विवाद भएन । माथि विवाद हुँदा पनि हामी तल फुट्दैनौं है भनेको हो । अहिले पनि कुरा मिल्छ ।

तर उहाँहरू नै तपाईंलाई हराउनुपर्छ भनेर गठबन्धनमा हुनुहुन्छ ?

राजनीतिमा माथिको लाइन भएपछि त्यस्तो गर्नुपर्ने अवस्था हुनसक्छ । माथिको लाइनले जे भन्यो त्यो गर्ने कुरा हो तर उहाँहरूको अलि कमजोर हुँदै जानुभएको छ हामी बलियो बन्दै गएका छौं । उहाँहरूले सक्नुहुन्न ।

प्रकाशित : वैशाख १८, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्

मन्दिरको जमिनमा अवैध भवन निर्माण

श्यामसुन्दर शशि

जनकपुर — ऐतिहासिक महत्वको दशरथ मन्दिरको जग्गामा व्यावसायिक भवन निर्माण भइरहँदा पनि गुठी संस्थान मौन देखिएको छ । मन्दिरका महन्त जगन्नाथ दाससँगको मिलेमतोमा डा. जामुनप्रसाद सिंह र डा. रमण मिश्रले अ–आफ्ना नर्सिङ होम निर्माण गर्न लागेको भन्दै विरोध भएको छ ।

‘दुई महिनाअघिदेखि निर्माण कार्य सुरु छ । हामीले सोध्दा महन्तजी ( जगन्नाथ दास )ले धर्मशाला बनाउँदै छौं भन्नुभयो तर पछि थाहा भयो, यो भवन त डा. रमण मिश्र र डा. जामुदप्रसाद सिंहको रहेछ,’ जनकपुरधाम नगरपालिका ८ का लालबाबू साहले भने । साहका अनुसार स्थानीयवासीले विरोध गरेपछि चार, पाँच दिनदेखि निर्माण कार्य बन्द छ ।

धार्मिक तथा सांस्कृतिक महत्त्वको दशरथ तलावको पश्चिमी–उत्तरी डीलमा अवस्थित दशरथ मन्दिरको महन्त मठिहानीस्थित लक्ष्मीनारायण मठका मान महन्त जगन्नाथ दास वैष्णव नै छन् । मन्दिर वरपर मठको थुप्रै बिघा जग्गा छ । तीमध्ये अधिकांश जग्गा भाडा, लिज तथा अन्य नाममा बिक्री भइसकेको छ । अचेल मन्दिर परिसरमा मन्दिरसँगै टाँसिएरै दुई भवन निर्माण हुन थालेपछि स्थानीयवासी पनि आक्रोशित बन्न पुगेका छन् ।

महन्त दासले चार महिनाअघि गुठी संस्थान जनकपुरमा निवेदन दिइ मन्दिरको आय आर्जन गर्ने उद्देश्यले मन्दिरकै लगानीमा सटर निर्माण गर्ने अनुमति माग गरेको देखिन्छ । गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठप्रसाद रेग्मीका अनुसार महन्त दासको निवेदन केन्द्रीय गुठीमा पठाउँदा माग बमोजिम सटर निर्माण गर्ने अनुमति प्राप्त भएको छ । यद्यपि केन्द्रीय गुठीले भाडा निर्धारणबारे कैफियत जनाएको गुठी प्रमुख रेग्मीले जानकारी दिए ।

‘महन्तजीले आफैं सटर निर्माण गर्छु भन्नु भएको छ । अरु कसैले भवन निर्माण गर्दैछन् भने छलफल गर्नुपर्छ,’ गुठी प्रमुख रेग्मी कान्तिपुरसँग भने ।

सडक विस्तारको क्रममा दशरथ मन्दिरको उत्तरी पर्खाल भत्काइएपछि भूमाफियाहरुको नजर मन्दिरको जग्गामाथि परेको थियो । सुरुमा उनीहरुले सडकतिरै सटर निर्माण गर्न खोजेका थिए तर जनकपुरधाम उपमहानगर पालिकाले सडकमुखमा सटर निर्माण गर्ने अनुमति दिएन । अनि महन्त दाससँगको मिलेमतोमा पर्खालभित्रै व्यवसायिक प्रयोजनको भवन निर्माण सुरु गरिएको थियो ।

मन्दिरको प्रखालसँग टाँसिएरै डा. जामुनप्रसाद सिंहको नर्सिङ होम निर्माण हुँदैछ भने मन्दिरको दक्षिणी प्रखालसँग टाँसिएर डा. रमण मिश्रको । तर महन्त जगन्नाथ दास भने भवन निर्माण नभइ मन्दिरको प्रखाल मर्मत भइरहेको बताउँछन् । कान्तिपुरसँगको फोन सम्पर्कमा उनले मन्दिरको पर्खाल मर्मत भइरहेको छ तर भवन निर्माण नभएको जिकिर गरे ।

स्थानीयहरूका अनुसार यहाँ मोही, लिज, भाडा आदिको नाममा जग्गा बिक्री गर्नु महन्तहरूको चलन जस्तै बनेको छ । झनै जगन्नाथ दासले त गुरुबाट प्राप्त जग्गालाई स्वआर्जन गरेको प्रमाणित गरी औपचारिक रुपमै जग्गा बिक्री गरेका छन् ।

महन्त दास २०२६ साल जेठ २७ गते मठका महन्त नियुक्त भएका थिए । उनी महन्त नियुक्त हुनुभन्दा अघि आफ्ना गुरु पिता कौशलकिशोर दाससँग थुप्रै बिघा जग्गा बक्स गरेको औपचारिक कागज बनाउन लगाएका थिए ।

ती जग्गाहरु स्वआर्जन भएको भन्दै बिक्री वितरण पनि गरेका थिए । तर पुनरावेदन अदालत जनकपुरका न्यायाधीश कोमलनाथ शर्मा र मिहिर कुमार ठाकुरको संयुक्त इजलासले २०६७ साल असार २२ गते जगन्नाथ दासले स्वआर्जन भनिएको जग्गा मठकै भएको फैसला सुनाएको थियो ।

फैसलामा मुलुकी ऐन, गुठीको महलको १० नम्बर बमोजिम आर्जन गर्ने महन्तका शेषपछि निजका कुनै उत्तराधिकारी महन्तलाई कुनै व्यहोराले मठको जग्गा बिक्री तथा राजीनामा आदि गर्ने अधिकार नभएको उल्लेख गरिएको छ ।

यसअघि भैरहवास्थित लक्ष्मीनारायण मठको जग्गा बिक्री गरेको आरोपमा केन्द्रीय गुठी संस्थानले मानमहन्त जगन्नाथ दासलाई निलम्बन गरेको थियो । निलम्बन विरुद्ध निषेधाज्ञा मुद्दा हालेका महन्त दासलाई अदालतले ‘ कामकाज गर्न नरोक्नु ’ भनेको छ । मुद्दा भने अझै पनि अदालतमै छ ।

प्रकाशित : वैशाख १८, २०७९ १८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×