१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

प्रचण्डपथको महत्त्व अहिले पनि छ : देवेन्द्र पौडेल

'हामीले ‘प्रचण्डपथ’ नै भनेको भए कतिपय पक्षसँग एकता सम्भव थिएन । ‘प्रचण्डपथ’ महत्त्व भने अहिले पनि छ । हिजो पचण्डपथ त्यत्तिकै भनेका थिएनौं । त्यसले एउटा निश्चित भावना, विचार, दृष्टिकोण र समर्पणका रूपमा प्रशिक्षित गरेको थियो ।'

काठमाडौँ — प्रथम राष्ट्रिय सम्मेलन गर्न लागेको नेकपा (माओवादी) केन्द्रका नेताहरूले शान्ति प्रक्रिया यताको राजनीतिक यात्राको समीक्षा गर्ने बताइरहेका छन् । पुस ११–१३ गतेसम्म राजधानीमा आयोजना हुन गइरहेको राष्ट्रिय सम्मेलनमा नयाँ कार्यदिशा पनि तय गरिने बताइएको छ ।

प्रचण्डपथको महत्त्व अहिले पनि छ : देवेन्द्र पौडेल

अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक रूपमा माओवादी सशस्त्र विद्रोह र आन्दोलनको उपलब्धिलाई उल्ट्याउन खोज्ने शक्ति तथा बाह्य क्षेत्रमा अन्तर्राष्ट्रिय वित्तीय पुँजीवादसँग प्रमुख अन्तरविरोध रहेको दाबीसहित राजनीतिक प्रतिवेदन तयार पारेका छन् । यसै सन्दर्भमा माओवादी नेता देवेन्द्र पौडेलसँग कान्तिपुरका लागि जयसिंह महराले गरेको कुराकानी :

माओवादीको अबको कार्य कार्यदिशा के हुन्छ ?

माओवादीको कार्यदिशा ‘प्रस्ट समाजवाद’ भन्ने छ । हामीले जनवादी क्रान्तिका बाँकी कार्यभार मात्रै भनेर पुग्दैन । संविधान ल्यायौं, शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत विषयलाई मौलिक हकसँग जोडेर अगाडि बढायौं । यी उपलब्धिलाई जोगाएर अगाडि बढ्ने भन्ने हो । त्यो भनेको समाजवादी राज्यप्रणाली निर्माण हो । संगठनात्मक, वैचारिक, कार्यक्रमिक रूपमा त्यसलाई लक्ष्य बनाएर जानुपर्ने छ । पार्टीले सम्भवतः त्यही कार्यदिशा लिन्छ ।

पार्टी संरचना कस्तो बन्छ ?

अहिलेको राज्यप्रणाली समानुपातिक, समावेशी प्रतिनिधित्वसहितको संघीय लोकतान्त्रिक गणतन्त्र हो । माओवादीको संगठनात्मक संरचना पनि यसैसग मेल खाने प्रकृतिको हुन्छ ।

‘प्रचण्डपथ’ ब्युँताउन खोजिएको हो ?

होइन । हामीले ‘प्रचण्डपथ’ नै भनेको भए कतिपय पक्षसँग एकता सम्भव थिएन । ‘प्रचण्डपथ’ महत्त्व भने अहिले पनि छ । हिजो पचण्डपथ त्यत्तिकै भनेका थिएनौं । त्यसले एउटा निश्चित भावना, विचार, दृष्टिकोण र समर्पणका रूपमा प्रशिक्षित गरेको थियो । तर अरू पक्षसँग एकता गरेर झन् राम्रो गर्ने, शब्द होइन भावलाई मानेर जाने भनेर त्यसलाई स्थगन गरेका थियौं । त्यो शब्दको विकल्पमा अर्को कुनै योजना ल्याएर वैचारिक रूपमा केन्द्रीकरण हुनुपर्थ्यो, त्यो छुट्न गयो । अब त्यसको समीक्षा गर्ने भनेका छौं । प्रचण्डपथ छलफलको विषय हो । यसमा कतिपय साथीलाई लागेको कुरा भन्नुहोला । पार्टीमा प्रचण्डपथ छोड्नु गल्ती भयो भनेर प्रस्ताव भने आएको होइन ।

माओवादीले राष्ट्रिय सम्मेलनपछि कस्तो सैद्धान्तिक धार अँगाल्छ ?

स्पष्ट रूपमा शान्तिपूर्ण प्रक्रियाद्वारा समाजवादी कार्यक्रममा पुग्ने सैद्धान्तिक धार लिन्छौं । आन्दोलनका दुई रूप हुन्छन्– शान्तिपूर्ण र सशस्त्र । हिजो राजतन्त्र थियो, त्यसको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सशस्त्र आन्दोलनको बाटो अपनायौं । त्यतिबेला पनि शान्तिपूर्ण र सशस्त्र दुवै बाटो कम्युनिस्टको लक्ष्य प्राप्ति गर्ने बाटा हुन्छन् भन्यौं । अहिले शान्तिपूर्ण प्रतिस्पर्धाद्वारा निर्वाचनमा जनताको मन जितेर उत्पीडित श्रमिक वर्गको हित आर्जन गर्ने बाटो नै लिन्छौं । त्यो सिद्धान्तको बाटो हिँडेर पुग्ने भनेको समाजवाद हो ।

माओवादीको मुख्य अन्तरविरोध कोसँग छ ?

हामीले अन्तरविरोधको किटान पुरानै तरिकाले गरेका छैनौं । हामीले दलाल पुँजीपति र नोकरशाही पुँजीपति वर्ग नै अहिलेको समस्या हुन् । जुनजुन पक्षले त्यसको प्रतिनिधित्व गर्छन्, ती हाम्रा वर्गशत्रु हुन् । अन्तर्राष्ट्रिय भूमण्डलीकृत वित्तीय पुँजीवादको प्रभावका कारणले श्रमिक उत्पीडित वर्गको हित आर्जन गर्न नदिने तत्त्व पनि हाम्रो वर्गशत्रु हो । त्यसका विरुद्ध जनतालाई जागृत गर्नुपर्छ भन्ने सैद्धान्तिक कुरा गरेका छौं । कुनै पार्टी विशेषलाई हामीले इंगित गरेर यो पार्टी यस्तो र त्यो पार्टी त्यस्तो भनेर आलोचना गरेका छैनौं ।

हामीले प्रतिगमनका कुरा पनि उठाएका छौं । प्राप्त उपलब्धि खासगरी एमालेसँग एकता गरेर खड्गप्रसाद ओलीको नेतृत्वमा सरकार बनिसकेपछि एकतालाई सुदृढ गर्ने र समाजवादमा पुग्ने लक्ष्य लिनुपर्नेमा गज्याङमज्याङ भयो । यथास्थितिबाट पछि हट्ने, संविधान तोडमोड गर्ने काम भयो । शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गरौंला भनेको त्यो पनि भएन । त्यसको पनि समीक्षा गरिएको छ । जसले प्रतिगमन र यथास्थितिको प्रतिनिधित्व गर्छ, उसैसँग हाम्रो निर्वाचन र अरू क्रियाकलापमा प्रतिस्पर्धा हुन्छ ।

राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयन कसरी हुन्छ ?

नेतृत्व प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता भनेका छौं । युवा, महिला, उत्पीडित समुदाय, अल्पसंख्यक, आदिवासी, जनजाति, मधेसीलगायत संविधानले व्याख्या गरेको समुदायलाई पार्टीका कमिटीमा प्रतिशतका आधारमा समेट्ने गरी प्रणाली बनाएका छौं । क्षमता, योग्यता, निरन्तरता र लगनशीलताका आधारमा अरू फरक पृष्ठभूमिका साथीलाई पनि सहभागी गराउने नेतृत्व प्रणाली बनाउँछौं ।

चुनाव पनि हुन्छ कि सर्वसम्मति ?

जनवादी केन्द्रीयताको सिद्धान्तभित्र रहेर सकेसम्म सहमति जुटाउने आयोजक कमिटीको चाहना रहन्छ । सहमति भएन भने व्यक्तिगत रूपमा उठ्न प्रोत्साहन गर्छौं । गुटका रूपमा प्यानल ल्याउने व्यवस्था गरेका छैनौं ।

तपाईंको दाबी कुन पदमा हुन्छ ?

पार्टीले आवश्यक ठान्यो र साथीहरूले योग्य ठाने भने पदाधिकारीको कुनै पनि जिम्मेवारी वहन गर्न तयार रहन्छु ।

राष्ट्रिय सम्मेलनपछि माओवादी अरू प्रतिस्पर्धी पार्टीभन्दा फरक भएर आउँछ ?

हाम्रा कार्यक्रम, संस्कार र शैली विचार केन्द्रित पार्टी भएकाले फरक हुन्छौं । त्यसैका निम्ति राष्ट्रिय सम्मेलन गरेका हौं । लगत्तै महाधिवेशन गर्छौं । अरू पार्टी पद र व्यक्तिकेन्द्रित छन् ।

प्रकाशित : पुस १०, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?