काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिचानका आधारमा प्रदेशको नामकरण गर्ने लगायतका मुद्दा संविधानमा परिमार्जन गरेर राख्नका लागि सडकबाट आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।
माओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै दाहालले फेरि संविधान परिमार्जनका लागि आन्दोलन गर्ने उल्लेख गरेका हुन् ।
‘संविधान परिमार्जनका लागि सडकबाट आन्दोलन सुरु गर्छौं, अध्यक्ष दाहालले भने, ‘पहिचानका आधारमा नाम राख्ने कुरालाई उठाउने छौं । तपाईंहरूले पनि त्यही दिशामा नीति र नेतृत्व बनाउनुहोस् ।’ उनले संविधान निर्माण अघिको अवधिमा पहिचान र अधिकारका मुद्दा उठाएको प्रसंग उल्लेख गर्दै त्यसबेलामा ती लागू गर्न नसके पनि अब फेरि उठाउने घोषणा गरेका हुन् ।
‘यो संविधानमा उत्पीडित समुदायका हक अधिकार पुगेको छैन । हामी फेरि नयाँ परिस्थितिमा पहिचान र अधिकारको, शासकीय स्वरुपको मुद्दालाई जनपक्षीय बनाउन संविधान संशोधनको प्रयास गर्नेछौं । अब ती मुद्दालाई जोडदार र क्रान्तिकारी ढंगले उठाउने योजनामा छौं ।’
उनले युद्धका बेलामा रोल्पा रुकुमको मगर समुदायका बीचमा समय बिताएको उल्लेख गर्दै उनीहरूका समस्या नजिकबाट अनुभूत गरेको उल्लेख गरे । ‘संविधान बनाउँदा पहिचान र अधिकारका विषयलाई मजबुत बनाएर राख्न सकेनौं । फेरि एकपटक उत्पीडित जाति, क्षेत्रका पहिचानका मुद्दलाई फेरि एकपटक दह्रोसँग राख्नुपर्छ ।’
