'हामीले चामल बिकाउन सकेनौं, अरुले पिठो बिकाए'- कुराकानी - कान्तिपुर समाचार
अन्तर्वार्ता

'हामीले चामल बिकाउन सकेनौं, अरुले पिठो बिकाए'

'नीति माओवादीको र नेतृत्व अरु पार्टीको हुँदा देशले दुःख पाइराखेको छ'
माओवादीभित्र अझैपनि यो पुरानै संसदीय व्यवस्था हो भनेर बुझ्ने नेता हुनु बिडम्बना हो ।
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रथम राष्ट्रिय सम्मेलन गर्न लागेको नेकपा (माओवादी) केन्द्रका नेताहरूले शान्ति प्रक्रिया यताको राजनीतिक यात्राको समीक्षा गर्ने बताइरहेका छन् । पुस ११–१३ गतेसम्म राजधानीमा आयोजना हुन गइरहेको राष्ट्रिय सम्मेलनमा नयाँ कार्यदिशा पनि तय गरिने बताइएको छ । 

शान्ति प्रक्रियामा आइसकेपछि संघीय लोकतान्त्रिक संविधान निर्माणलाई मुख्य उपलब्धिका रूपमा व्याख्या गर्दै माओवादीले त्यसपछि सरकार र पार्टी सञ्चालमा भएका त्रुटिबारे समीक्षा गर्न लागेको हो । पार्टी नेतृत्वसमेत चयन हुने राष्ट्रिय सम्मेलनले अध्यक्षमा भने पुष्पकमल दाहाललाई नै निरन्तरता दिने निश्चित छ । तर अन्य पदमा भने आकांक्षीको संख्या ठूलो छ । यस्तो अवस्थामा माओवादीले शान्तिपूर्ण राजनीतिक यात्राको समीक्षा कसरी गर्छ ? नयाँ विचार कसरी निर्माण गर्छ र नेतृत्वमा नेताहरूलाई कसरी व्यवस्थापन गर्छ भन्नेबारे माओवादी नेता शक्ति बस्नेतसँग कान्तिपुरका जयसिंह महराले गरेको कुराकानी :

माओवादीले राष्ट्रिय सम्मेलनको तयारी गरिरहँदा अरु दलहरूले महाधिवेशन सम्पन्न गरेका छन्, महाधिवेशनप्रति माओवादीको अनिच्छा किन ?

महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । महाधिवेशनको निम्ति आवश्यक पर्ने तयारी, पूरा गर्नुपर्ने शर्तहरूका निम्ति हामीलाई एक वर्षको समय आवश्यक पर्थ्यो । पार्टी विभाजनपछि (२०७७ फागुन २३ गते)पछि प्रतिगमनविरुद्धको आन्दोलनका कारण संगठनात्मक र पार्टी जीवनमा केन्द्रित हुन पाएनौं ।

महाधिवेशन तत्काललाई सम्भव नभएको अवस्थामा नगरी नहुने कामहरू गर्न पार्टी विधानमा राष्ट्रिय सम्मेलनको व्यवस्था गरेका छौं । पार्टी नीति र पार्टी जीवनका बारेमा केही महत्त्वपूर्ण निर्णय लिनुपर्ने आवश्यकता र अब छिट्टै निर्वाचन (स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा)को तयारीमा लाग्नुपर्ने परिस्थिति भएकाले राष्ट्रिय सम्मेलनमा गइएको हो । महाधिवेशनको यथार्थबोध गरेर नै अहिलेको अवस्थामा राष्ट्रिय सम्मेलन मात्रै हुन सक्छ भन्ने निष्कर्षमा पुगेका हौं ।

मान्छे जुटाएर, दुईचार दिन भेला गरेर, दुईचार बाकस थापेर निर्वाचन गर्ने वा खल्तीबाट केही नाम झिकेर पढिदिने मात्रै त महाधिवेशन होइन । हामीले महाधिवेशन गरे जस्तो गर्नको निम्ति अहिले नगरेको हो । राष्ट्रिय सम्मेलनमा विचारमाथि बहस गर्छौं । संगठनका मूल्यमान्यताबारे र राजनीतिक कार्यक्रम कस्तो बनाउने भन्नेमा छलफल गर्छौं । पार्टीको विगतको समीक्षा र नेपाली समाजको बारेमा गम्भीर विश्लेषण गर्न राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो । अहिलेको राष्ट्रिय राजनीतिका आवश्यकता र तिनलाई सम्बोधन गर्ने मार्गचित्र तय गर्न, परराष्ट्र नीति कस्तो लिने भन्ने बहस गर्न राष्ट्रिय सम्मेलन हो ।

पालिका र प्रदेश कमिटीमा वैचारिक विमर्श गरेको माओवादी नेताहरूले बताउँदै आएका छन् । त्यस आधारमा राष्ट्रिय सम्मेलनपछिको माओवादीको वैचारिक मार्ग के हुने छाँट देख्नुभएको छ ?

राष्ट्रिय सम्मेलन सार्वभौम निकाय भएकाले यस्तै वैचारिक निष्कर्ष निकाल्छ भन्न त सम्भव हुँदैन । व्यक्तिगत रूपमा भन्दा हामीले नेपाली समाजको रूपान्तरणको प्रक्रिया जसरी अगाडि बढाउँदै आएका छौं नेपालीपनसहित, नेपाली समाजको परिवर्तनको प्रक्रियामा जसरी अगाडि बढ्दै आयौं । जनयुद्ध, जनआन्दोलन, शान्ति वार्ता, संविधासभा यी हाम्रा राजनीतिक संघर्षका मोर्चा रहे । यी सबैको संयोजनमा हामीले नेपाली मौलिकतासहितको क्रान्ति सम्पन्न गरेका छौं । हाम्रो यो मौलिकपनलाई बुझ्न मद्दत पुग्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी परिभाषित गर्ने यसका मूल्य कार्यक्रमलाई कसरी परिभाषित गर्ने भन्ने कुराको व्याख्या गर्नका लागि विश्लेषण गर्नेछौं ।

समाजवाद उन्मुख राज्यको कुरा गरिरहँदा अब नेपाली विशेषताको नेपालीपनको समाजवादका विशेषताबारे पनि बहस गर्नेछौं । त्यो निष्कर्ष र विचार माओवादीको सरोकारको मात्रै नभएर आम नेपालीको सरोकार राख्ने हुनेछ ।

माओवादी सशस्त्र विद्रोह हुँदै शान्तिप्रक्रिया मार्फत मूलधारमा आयो र संसदीय व्यस्थामा अभ्यस्त भइरहेको छ । तर, यो संसदीय व्यवस्थाप्रति वितृष्णा जाहेर गर्ने नेताहरू पनि तपाईंहरुको पार्टीमा छन्, यसबारे पनि राष्ट्रिय सम्मेलनमा बहस हुन्छ ?

त्यसैका लागि हामीलाई छलफल चाहिएको हो । अर्को कुरा, हामी पुरानो संसदीय व्यवस्थाको मूलधारमा आएका होइनौं । अहिलेको संसदीय व्यवस्थाको मूलधार होइन, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक राज्यव्यवस्था हो । यो नयाँ राजनीतिक मूलधार हो, यो पूर्ण जनगणतन्त्र पनि होइन र पुरानो संसदीय व्यवस्था पनि होइन । हामीले अभ्यास गरिएको व्यवस्था नयाँ खालको लोकतन्त्र हो । यो व्यवस्थामा संसदीय लोकतन्त्र, समावेशी, समाजवादी, जनवादी व्यवस्थाका सकरात्मक विशेषता छन् । एकीकृत, संयोजित र संश्लेषित रूपमा अभ्यास गरिएको नयाँ लोकतान्त्रिक प्रणाली हो । माओवादी पुरानो मूलधारमा आएको होइन । यो पुरानै संसदीय व्यवस्था होइन भनेर त गत फागुन ११ र असार २८ गतेको सर्वोच्चको फैसलाले पनि भन्यो ।

माओवादीभित्र अझैपनि यो पुरानै संसदीय व्यवस्था हो भनेर बुझ्ने नेता हुनु बिडम्बना हो । यसको पनि समीक्षा त हामी गर्छौं, कहाँ चुक्यौं भनेर । नेपालको सन्दर्भमा माओवादी, कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनको समीक्षा गर्छौं । अहिलेको व्यवस्थामा माओवादीहरूले गर्व गर्नुपर्छ कि आज नेपाल अहिले जुन राजनीतिक कोर्समा अगाडि बढेको छ यो माओवादीले गरेको इन्जिनियरिङमा आधारित छ । बरु हामी यसलाई स्थापित गर्न चुक्यौं । संविधानसभाबाट संविधान, संघीयता, गणतन्त्र त माओवादीका उपलब्धि हुन् । माओवादीको बाटोमा अरु सबै दल आएका हुन् ।

यो कुरा माओवादीसँग असन्तुष्ट नेताहरूलाई किन सम्झाउन सक्नुभएन ?

सच्चाइ यो हुँदाहुँदै, नीति माओवादीको हुँदा नेतृत्व अरु पार्टीले गर्नुपर्ने अवस्था कसरी सिर्जना हुनपुग्यो भन्ने कुराको राष्ट्रिय सम्मेलनमा गम्भीर समीक्षा चाहिएको छ । नीति माओवादीको र नेतृत्व अरु पार्टीको हुँदा देशले दुःख पाइराखेको छ । परिवर्तनका मूल्य सहज ढंगले स्थापित हुन पाइरहेका छैनन् । परिवर्तनको प्रत्याभूति देशले सही ढंगले गर्न पाइराखेको छैन । नीति र नेतृत्व बीचको अन्तरविरोधका कारण देश प्रताडित भइरहेको छ । यो समस्याबाट मुलुकलाई मुक्त गर्नका लागि गम्भीर राजनीतिक समीक्षाको खाँचो महसुस गरिराखेका छौं राष्ट्रिय सम्मेलनमा त्यो गर्दैछौं ।

माओवादीले ल्याएको व्यवस्था त भन्नुभयो तर यसैमा तपाईंहरू तेस्रो नम्बरको पार्टी हुनुभयो नि ?

यसैकारण कहाँ समस्या पर्‍यो हामी कहाँ चुक्यौं भन्ने समीक्षा हुन्छ । हामीले चामल बिकाउन सकेनौं र अरुले पिठो बिकाएका हुन् कि ? यसो भयो भनेर मात्रै सुख पाइने त होइन त्यसैले ध्यान कहाँ पुगेन भनेर गम्भीर समीक्षा गर्छौं । त्यसैले पनि सम्मेलनमा तामझामतिर लागेनौं । महाधिवेशनको माैसममा औसत महाधिवेशन गर्ने, तामझाम गर्ने, बाकस थाप्ने, सबै मतदाताले उम्मेदवार पनि राम्रोसँग चिनेको छ कि छैन ? चिनेर मतदान गरेको हो कि होइन ? भन्ने होइन । त्यो औपचारिकताभन्दा माथि उठेर आजको राजनीतिक परिस्थिति र पार्टीले अवलम्बन गर्नुपर्ने नीतिको बारेमा गम्भीर मन्थन गरी नयाँ मार्गचित्र कोर्न खोजिरहेका छौं ।

पार्टीको अहिलेको अवस्थाको समीक्षा गर्दा कोही त त्यसको जिम्मेवार होला नि ?

त्यसलाई सुधार गर्ने प्रतिबद्धता जाहेर गर्छौं । यी कमजोरबाट शिक्षा लिन्छौं र आगामी दिनमा सुधारेर अगाडि बढ्छौं ।

माओवादीले नेतृत्वमा बहुपदीय व्यवस्था फेर्छ कि यसैलाई बोकेर जान्छ ?

कम्युनिस्ट पार्टीहरूले आफ्नो सापेक्षतामा पदहरूको व्यवस्था गरेको हुन्छ । कम्युनिस्ट पार्टी भनेको विश्वकै एउटै पद्धति हुनुपर्छ भन्ने हुँदैन आफ्नै विशेषतामा हुन्छ । अहिले हामी बहुपदीय व्यवस्थाअनुसार नै जान्छौं ।

माओवादीको नेतृत्वमा तीन दशकदेखि पुष्पकमल दाहाल नै हुनुहुन्छ, विकल्प खोज्ने बेला आएन ?

जतिबेला आवश्यक पर्छ त्यतिबेला विकल्प आइहाल्छ । विकल्प रहरको कुरा होइन । परीक्षण गरिहालौं नि भन्ने कुरा पनि होइन । पार्टी निश्चित मूल्य, विचार, राजनीतिक नेतृत्वमा हुन्छ । नेतृत्व भनेको विचार र राजनीतिको प्रस्तोता हो । उन्नत लोकतान्त्रिक भन्ने मुलुकहरूमा पनि युवाहरू पछि पर्ने र वृद्ध नेताहरू अगाडि आउने भइरहेको छ । उमेर व्यक्ति कति समय नेतृत्वमा बस्यो भन्ने मूख्य कुरा होइन । विचार, राजनीतिको अगुवाइ कहाँबाट भइरहेको छ भन्ने कुराले नै नेतृत्व निर्धारण गर्ने हो ।

अहिले माओवादी पार्टीलाई राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा पुन:स्थापित गर्ने संकल्प माओवादीले लिएको छ । त्यसका लागि हाम्रा नीति, विधि, शैलीमा नयाँपन दिन जरुरी छ । नयाँ अभियानको खाँचो छ भन्ने माओवादीले महसुस गरेको छ र त्यो अभियानको अगुवाइ स्वयं अध्यक्ष प्रचण्डकै नेतृत्वमा अगाडि बढिरहेकाले अहिले अर्को नेतृत्वको आवश्यकता महसुस गरेको छैन ।

अध्यक्षबाहेकका पदका लागि भने नेताहरूबीच भित्रभित्रै चर्को प्रतिस्पर्धा चलिरहेको भन्ने सुनिन्छ, तपाईंको दाबी केमा हो ?

अरु पद अहिले खाली छन् । ती पदका लागि त छलफल बहस हुन्छ । समझदारी भएमा समाधान भइहाल्यो भएन भने विधि छन् तिनै अनुसार हुन्छ । समझदारी नहुने ठाउँमा निश्चित विधि प्रयोग गरिएको छ त्यसैले हामी खुला छौं । हामीले निश्चित, विचार र राजनीतिक दिशाको संगठन निर्माण गर्ने हो । त्यस अनुकूलको संगठन बनाउने हाम्रो प्रयत्न हुन्छ ।

व्यक्तिगत रूपमा भन्दा अध्यक्ष कमरेड प्रचण्ड नै हुनुहुन्छ । पार्टीको केन्द्रीय समितिमा आएको २४ वर्षजति भइसकेको छ । यति अनुभवले पार्टीको जुनसुकै पदमा रहेर पार्टी राम्रोसँग चलाउन सकिन्छ भन्ने विश्वास छ । तर, यो भए हुन्छ नत्र हुन्न भन्ने दाबी राखेर सोच्नु हुन्न ।

माओवादीले खुला रूपमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्छौं भनिसकेको छैन तर पनि चुनावलाई नकार्न पनि सकेको छैन, राष्ट्रिय सम्मेलनमा कसरी नेतृत्व चयन गर्नुहुन्छ ?

नेतृत्व चयनका लागि दुई विधि छन् । कमिटी बन्दसत्रको हलबाट चयन गर्छौं र कमिटीबाट पदाधिकारी बनाउँछौं । हाम्रो विधानको व्यवस्था हो । प्रतिनिधिलाई कसलाई भोट हाल्ने हो सूची दिनुस् भन्ने गर्दैनौं । त्यो वास्तविक लोकतन्त्र हुन्न, निर्देशित र औपचारिक हुन्छ । पार्टीले निर्वाचनमा अरुचि राखेको भन्ने पटक्कै होइन हामीले विधि फरक अपनाएका हौं । ढ्वाङ थापिन्न होला तर हामीले नेतृत्व चयनमा उन्नत जनवादको अभ्यास गर्छौं ।

माओवादीमा गुटबन्दी भित्रभित्रै झाँगिएको छ नि, वास्तवविकता के हो ?

कोही कार्यकर्ताले कुनै नेतालाई राम्रो मान्ने होलान् आफ्नो ठाउँमा छ । ती मानवीय स्वभावका कुरा हुन् र अन्यथा मान्न सकिन्न । तर, संस्थागत गुटबन्दीको कुरा, यो हुनैपर्छ अर्को हुनै हुन्न भन्ने तहमा रस्साकस्सी गर्ने गुटबन्दीको कुरा गलत हो । अहिले त्यस्तो अवस्था छैन । राष्ट्रिय सम्मेलनमा हामी गुटबन्दीलाई प्रोत्साहित गर्दैनौं । बहस छलफललाई सम्मान गर्छौं गुटबन्दीलाई मान्यता प्रदान गर्दैनौं ।

नेपालमा कम्युनिस्ट हौं भनेर विभिन्न पार्टीहरू अस्तित्वमा छन् । एमालेदेखि नेकपा (एकीकृत समाजवादी)सम्म कम्युनिस्ट पार्टी छन् । कम्युनिस्ट पार्टीहरूको यो भीडमा माओवादी कसरी फरक हो ?

हामीले मार्क्सवादका आधारभूत मान्यता, कम्युनिस्ट सिद्धान्तका आधार पक्षलाई समेटेका छौं । नेपाली समाजका विशेषतालाई पनि उचित स्थान दिएका छौं । त्यसैले माओवादीले लिएका नीति अरुभन्दा अग्रगामी जनमुखी प्रगतिशील क्रान्तिकारी छन् । माओवादीले लिएको नीति कार्यक्रमका आधारमा नै माओवादी श्रेष्ठ छ ।

अर्को कुरा, एउटै विचारका धेरै पार्टी हुनु हुँदैन भन्ने मेरो भनाइ छ । आधारभूत रूपमा वैचारिक राजनीतिक कार्यक्रममा समानता हुने पार्टीहरूको बीचमा ध्रुवीकरण आजको आवश्यकता हो । यसै आवश्यकतालाई बोध गरेर माओवादी र एमाले एकीकृत गरेर नेकपा गठन गरेका थियौं । यो माओवादीको सोच थियो । तर, नेकपामा सोच र नेतृत्वको बीचको अन्तरविरोध प्रकट भयो । नेतृत्व केपी ओलीजीको भयो सोच माओवादीको । त्यसैले अगाडि बढ्न सकेन । यहाँसम्म आइपुग्दा अहिले एमालेसँग तत्काल ध्रुवीकरणको सम्भावना नदेखिएपनि बाँकी कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने हाम्रो प्रयत्न जारी छ ।

प्रकाशित : पुस ९, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

गहिराइ बुझेर मात्र एमसीसी लागू गर्नुपर्छ : अध्यक्ष नेपाल

विप्लव महर्जन

सल्यान — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले एमसीसीको अध्ययन गरी गहिराइ बुझेर मात्रै लागू गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।


पार्टीको कार्यकर्ता भेलामा सल्यान पुगेका अध्यक्ष नेपालले पत्रकार भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्ने नत्र नगर्ने जनाएका छन् ।

‘एमसीसी सम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्विकार्दैनौं’।'

यस्तै एमसीसी पारित गर्ने अधिकार जनतालाई दिनुपर्ने पनि उनले बताएका छन् । एमसीसी लागु गर्नका लागि उल्लेख गरिएका कुरा परिमार्जनको माग राख्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको र अध्ययन नै नगरी पास गर्न खोजेको उनको आरोप छ ।

‘एमसीसी नेपाल र नेपाली जनताको कति हितमा भन्ने कुराको अध्ययनन गर्न आवस्यक छ । यदी ठीक छ भने ठीक छ । छैन भने छैन भनेर सत्तापक्षधरले भन्न सक्नुपर्छ । सबैलाई अल्मलाइरहनु हुँदैन,’ उनले भने ।

नेता नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अध्ययन नगरी पहिला नै एमसीसी पास गर्न खोजेको आरोप लगाएका छन् । 'केपी शर्मा ओलीले अहिले पनि विभिन्न दाउपेच खेली तीन दलीय गठबन्धन टुटाउन खोजेका छन्,' उनले भने । तर दाउपेच गरेर गठबन्धन टुटाउन खोजेकाले सबैलाई सतर्क रहन उनले आग्रह गरे ।

प्रकाशित : पुस ९, २०७८ १४:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×