कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सहमति हुन नसके निर्वाचनबाट नेतृत्व चयन हुन्छ : पोखरेल

'अध्यक्षका सन्दर्भमा कसैले प्रश्न उठाएको छैन । अरू पदका विषयमा कुराकानी भएको छैन । संरचना कस्तो बन्छ, त्यस आधारमा कुरा अगाडि बढ्छ ।'

काठमाडौँ — काठमाडौंमा आगामी आइतबारदेखि हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन मुख्य तीन कार्ययोजनामा केन्द्रित हुने भएको छ । माओवादी केन्द्रका नेताहरूका अनुसार राष्ट्रिय सम्मेलनले अबको कार्यदिशाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहालले लेखेको राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदन गर्ने कार्यसूची हुनेछ ।

सहमति हुन नसके निर्वाचनबाट नेतृत्व चयन हुन्छ : पोखरेल

त्यसपछि अन्तरिम विधान–२०७८ अनुमोदन र विधानअनुसार केन्द्रीय नेतृत्व चयन गर्ने तयारी छ । यसै सन्दर्भमा माओवादी नेता लीलामणि पोखरेलसँग गरिएको कुराकानी :

माओवादीले महाधिवेशन नगरेको नौ वर्ष भयो, अहिले पनि महाधिवेशनतिर नगई तपाईंहरू किन राष्ट्रिय सम्मेलनतिर लाग्नुभयो ?

महाधिवेशनमा अलि बढी पार्टी सदस्य छनोट गराइन्छ । सम्मेलनमा मनोनयन पनि हुन्छ । महाधिवेशनमा नितान्त आम पार्टी सदस्यद्वारा निर्वाचित कमिटी निर्माण गर्ने, सदस्य संख्याका आधारमा प्रतिनिधि आउने हुन्छ । नीतिगत निर्णय गर्ने सन्दर्भमा बृहत् सहभागिता हुन्छ । सम्मेलनमा पनि प्रक्रिया त त्यही हो । तर सहभागिता कम हुन्छन् ।

महाधिवेशनले जस्तै सम्मेलनले विधान, प्रतिवेदन, नीति, कार्यक्रम र संगठनबारे निर्णय गर्न सक्छ । नेतृत्व चयन पनि गर्न सक्छ । कसै–कसैले सम्मेलन मात्रै भन्ने गर्छन् । कसैले महाधिवेशन भन्ने गर्छन् । यो पर्यायवाची जस्तै हो ।

सम्मेलनका मुख्य एजेन्डा के छन् ?

हामीले विशेष गरेर दुई कुरामा ध्यान दिएका छौं । कम्युनिस्ट पार्टीको विचार, दृष्टिकोण, आचरण, संगठनात्मक सिद्धान्तमा आएका विकृतिलाई व्यवस्थापन गर्ने काम हुन्छ । दोस्रो हामी निर्वाचनमा लडेका छौं । सरकार सञ्चालन गर्नेमा छौं । यस्तो अवस्थामा आम जनतामा व्यापक ढंगको संगठन संरचना निर्माण गरेर जाने कार्ययोजना चाहिन्छ । यसो हँॅदा दुई तहको पार्टी सदस्यता हुन्छ । एउटा सक्रिय सदस्यता अर्को साधारण सदस्यता हुन्छ । सक्रिय सदस्य कुनै न कुनै कमिटीमा बसेको हुन्छ ।

कांग्रेस र एमालेको महाधिवेशनभन्दा माओवादीको सम्मेलनमा के फरक हुन्छ ?

कांग्रेस र एमालेले अधिवेशन गरेर जिल्लालाई नै कार्यकारी बनाएका छन् । यस पटक हाम्रो जिल्ला कार्यकारी छैन, समन्वय समिति छ । हामीले स्थानीय तहलाई कार्यकारी बनाएका छौं । पालिकाबाट निर्वाचित व्यक्तिले समन्वय समितिमा भूमिका निर्वाह गर्छन् । कांग्रेसको मतदान प्रक्रियामा व्यक्ति–व्यक्ति चुनाव लड्ने हुन्छ । हाम्रो पार्टीमा कति अवधि कुन तहमा काम गरेकाले पालिका, प्रदेश र केन्द्रीय नेतृत्वमा आउन पाउने भन्ने मापदण्ड छ ।

केन्द्रीय पदाधिकारी कति हुन्छन् ?

अहिले हामी बहुपदीय प्रणालीमा जाने सोचमा छौं । बहुपदीय प्रणालीमा प्रदेश तह नौ, पालिका सात र वडा तहमा पाँच पद हुन्छ । संघका पदाधिकारीको संख्या सम्मेलनले टुंगो लगाउँछ ।

विधानमा अरू के–के परिमार्जन हुन्छ ?

हाम्रो विधान भद्दा छ, त्यसलाई काँटछाँट गर्छौं ।

माओवादीमा आन्तरिक लोकतन्त्र छैन, टीके प्रथा छ भन्ने टिप्पणी छ नि ?

‘टीके’ भन्नेहरू पञ्चायती मानसिकता बोकेका मान्छे हुन् । पार्टीको नेतृत्व चयन गर्ने विधि एउटा मात्रै छैन । भोट हालेर मात्रै पार्टीको नेतृत्व छानिन्छ भन्ने होइन । नेतृत्व विकासका सम्बन्धमा दुई वटा हेराइ हुन्छ । एउटा माथिबाट हेर्ने र अर्को साइडबाट हेर्ने । कार्यकर्ताको पंक्ति कति सक्षम छ, जनताप्रति को कति इमानदार, निष्ठावान् भएर काम गरेको छ भन्ने मूल्यांकन हुन्छ । अर्को, कुन बेला कहाँ के काम गरिराखेको छ भनेर हेर्ने हुन्छ । यी दुई आधारमा पार्टीले प्रस्ताव प्रस्तुत गर्छ ।

पार्टीले पेस गरेको प्रस्तावमा चित्त नबुझे र मापदण्ड पुगेको कसैले उठ्न चाहन्छु भन्यो भने पाउँछ । तर ऊ व्यक्तिगत रूपमा उम्मेदवार हुन्छ । हाम्रो पार्टीमा गुटगत प्यानल हुँदैनन् । सकभर सहमतीय प्रणालीमा जान्छौं । सहमतीय प्रणाली टीके हो भन्नु बेठिक हो । सहमतिबाट चयन हुन सकेन भने निर्वाचन हुन्छ ।

सम्मेलनले पार्टीमा देखिएका विचलनको समीक्षा पनि गर्छ कि ?

समीक्षा हुन्छ । त्यो राजनीतिक प्रतिवेदनमा आउँछ ।

नेतृत्वको कार्यशैलीका हकमा के हुन्छ ?

फलानो व्यक्तिले यसो गर्‍यो भन्नेभन्दा पनि प्रवृत्तिगत रूपमा आउँछ । जस्तो पार्टीभित्र अराजकतावाद भयो, अनुशासनहीनता बढ्यो भनेर इंगित गर्छ । कमिसन खाने प्रवृत्तिको विरोध गर्छ । पात्रका सम्बन्धमा आरोप लागिसकेपछि छानबिन हुन्छ, पुष्टि भए कारबाही प्रक्रियामा जान्छ ।

तपाईंले कुन पदमा दाबी गर्ने सोच बनाउनुभएको छ ?

अध्यक्षका सन्दर्भमा कसैले प्रश्न उठाएको छैन । अरू पदका विषयमा कुराकानी भएको छैन । संरचना कस्तो बन्छ, त्यस आधारमा कुरा अगाडि बढ्छ ।

प्रकाशित : पुस ९, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?