'सभापतिका उम्मेदवारहरूले महाधिवेशन हलमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ'

मैले पार्टीको प्रमुख पदाधिकारीमा इच्छा राखेको हो । कुन पदमा उम्मेदवारी दिने भन्नेबारे सभापतिका उम्मेदवार शेरबहादुर देउवाको विवेक, सुविधामा भर पर्छ । महामन्त्रीको उम्मेदवार बन्नुस् भनेर साथीहरूले भनिराख्नुभएको छ । मैले इच्छा पनि व्यक्त गरिराखेको छु ।

मंसिर २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — महाधिवेशन उद्घाटनको केही घण्टाअघिसम्म पनि कांग्रेसका मुख्यगरी शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । पद सीमित तर आकांक्षी अत्यधिक निस्किएपछि सभापतिका दाबेदारले महाधिवेशनमा उम्मेदवार बन्ने टिम तयार पार्ने गृहकार्य गरिरहेका छन् । त्यसका लागि आफू निकट नेताहरूलाई केन्द्रीय सदस्यदेखि पदाधिकारीका सम्भावित नाम संकलन गराउन जिम्मेवारी पनि दिएका छन् । 

कांग्रेसको १४औं महाधिवेशनले नेतृत्व चयन गर्ने भएको छ । पार्टीको विधानमा गरिने परिमार्जन, आगामी नीति तथा कार्यक्रमबारे छलफल गर्न छुट्टै विधान महाधिवेशन गरिने भनिएको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासामू पदाधिकारीको इच्छा जाहेर गरेका नारायणप्रकाश (एनपी) साउदसँग महाधिवेशनको सन्दर्भमा कान्तिपुरका जयसिंह महराले गरेको कुराकानी:   

महाधिवेशन उद्घाटन हुनु केही घण्टा मात्रै बाँकी छ र कांग्रेसमा विभिन्न पदका लागि उम्मेदवार चयन गर्न समूहगत भेला बाक्लो छन् । नेतृत्व चयन गर्ने यो महाधिवेशनमा तपाईं कुन पदको उम्मेदवार हो ?

मैले पार्टीको प्रमुख पदाधिकारीमा इच्छा राखेको हो । कुन पदमा उम्मेदवारी दिने भन्नेबारे सभापतिका उम्मेदवार शेरबहादुर देउवाको विवेक, सुविधामा भर पर्छ । महामन्त्रीको उम्मेदवार बन्नुस् भनेर साथीहरूले भनिराख्नुभएको छ । मैले इच्छा पनि व्यक्त गरिराखेको छु । म कुन पदमा उम्मेदवार हुन्छु र कुन पदका लागि योग्य छु भनेर सबैतिर अनुमान लगाएकै छन् । आफ्ना कुरा सभापति र पार्टीका साथीहरूसँग पनि राखेको छु । अन्तिम निर्णय कसैका बारेमा पनि भइसकेको छैन । 

तपाईंले इच्छा राखेको महामन्त्री पदमा अरु नेताहरूले उम्मेदवारी घोषणा गरी कार्ययोजना ल्याइसक्दा पनि 'म यो पदमा उम्मेदवार हुन्छु' सम्म पनि महाधिवेशन प्रतिनिधिहरूलाई भन्नसक्नुभएको छैन है ?

समूहमा सहभागी भइसकेपछि सामूहिक भावनाले काम गर्नुपर्छ । कसैको नेतृत्व मानेपछि नेतृत्वको व्यवस्थापन भित्र बस्नुपर्छ । त्यसकारण हामी पर्खिइरहेका छौं । शेरबहादुर दाइ गृहकार्य गरिराख्नुभएको होला । उचित समयमा उहाँले निर्णय गर्नुहुनेछ भन्ने विश्वास छ । 

केही नेताले व्यक्तिगत रूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । केहीको उम्मेदवारी सभापति उम्मेदवार देउवाको अन्तिम गृहकार्यपछि हुने नै छ । कतिपय समूह (रामचन्द्र पौडेल)मा त सभापतिको उम्मेदवारी पनि निश्चित भएको छैन । समूहभित्र बस्दाखेरि त्यसको व्यवस्थापनमा बस्नुपर्ने हुन्छ । 

मुलुकको पुरानो र लोकतान्त्रिक भनिरहेको कांग्रेस पार्टी कहिलेसम्म यसरी समूह र गुट भनेर चल्छ ?

यो दुर्भाग्यजनक कुरा हो । गएको निर्वाचन र त्योभन्दा अगाडिका निर्वाचनहरूमा पनि पार्टीभित्र गुटबन्दी र अनुशासनहिनताको गहिरो प्रभाव परेको छ । हामीले अहिलेको अवस्थामा अनुशासित, संस्थागत, मूल्य र पद्दतिमा आधारित व्यवहारमा पार्टीलाई अगाडि बढाउनुपर्छ । यसलाई जनताको पार्टी, जनतामाझ रुझे-भिजेको पार्टीका रूपमा अगाडि बढाउनुपर्छ । यसमा केही कमिकमजोरी निकट विगतमा भएका छन् । त्यसलाई सच्याएर कांग्रेसलाई जनताको धड्कन बनाएर अगाडि बढाउनुपर्छ । नेपाली कांग्रेसलाई नेपाली राजनीतिको पहिलो र बहुमतप्राप्त पार्टीका रूपमा अगाडि बढाउनुपर्छ । त्यसका लागि गुटबन्दी अन्त्य गर्नुपर्छ ।

महाधिवेशनको मुखमा गुटगत गतिविधि झागिंदै गर्दा पार्टीको आन्तरिक लोकतन्त्रमा कत्तिको असर गर्छ ?

यसका बारेमा दुईथरी भनाइ छ । पहिलो, कुनै पनि पार्टीभित्र विचारसमूह हुन सक्छन् । तिनले काम गर्दा विचार र निश्चित मान्यताका आधारमा संगठित हुन्छन् र स्वत: विलिन भएर जान्छन् । दोस्रो भनेको यस्ता किसिमका विचार समूह प्रकारान्तरले गुटमा परिणत भएर संस्थागत भई पार्टी चलाउन कठिन हुन्छ । पार्टीलाई निर्वाचनको प्रक्रियामा लैजान कठिन हुन्छ । अब पार्टीलाई सच्याएर लैजानुपर्छ । विचार समूह ठीक हो तर गुटमा परिणत हुनु हुँदैन । 

कांग्रेसमा अहिले देखिएका जुन समस्या छन् यिनको निराकरण गर्न के गर्नुपर्छ  लाग्छ र के योजना छन् ?

अब कांग्रेसलाई युवाहरूको पार्टी बनाउनुपर्छ । मुलुकमा ४० वर्ष मुनिका ६० प्रतिशत युवा छन् । युवाका मुद्दा पार्टीले अगाडि सार्नुपर्छ । रोजगारी, शिक्षा, खेलकुद, उद्यमशीलता, आधुनिक प्रविधिको प्रयोगजस्ता कुरालाई अगाडि बढाउने नीति पार्टीले लिनुपर्छ । उनीहरूलाई त्यसका माध्यमबाट पार्टीसँग पनि जोड्नुपर्छ । महिला ठूलो संख्यामा छन्, उनीहरूका एजेन्डा पनि पार्टीले अगाडि सार्नुपर्छ । समग्रमा पार्टी जनतामा पुग्नुपर्छ । जनताको विश्वास जित्नुपर्छ । युवा पिढींको विश्वास जित्नुपर्छ । जनतामाझ विचार पस्केर मात्रै भएन, कार्यक्रम मार्फत् जनताका आशा र आकांक्षा परिपूर्ति गर्नसक्ने क्षमता पार्टीले विकास गर्नुपर्छ । त्यसो गर्न सकिए पार्टी स्वत: समस्यामुक्त हुन्छ । 

कांग्रेस पनि कम्युनिस्ट पार्टीको जस्तो एक नेता सर्वेसर्वा हुने र कार्यकर्ता केन्द्रित पार्टी बन्न लागेको हो ?

हामी अहिले सामूहिक नेतृत्वमा नै छौं । पार्टीका अधिकांश निर्णय सर्वसम्मतिले हुन्छन् । यसमा जीत हार जसको जे भएपनि मिलेर निर्णय गर्ने परम्परा छ र अहिले पनि चलिहरेको छ । पार्टी जनताको बीचमा जानुपर्छ भन्ने कुरा अगाडि आइरहेका नै छन् । 

कांग्रेस चुनावदेखि चुनावसम्म भन्दा पर कहिले जाने होला ?

तपाईंले भन्नुभएको कुरा सही हो । नेपाली समाजका आधारभूत कुराहरू आर्थिक, राजनीतिक, विदेशनीति, समाजको विविधतालाई एकरुपतामा परिणत गर्ने कुरामा कांग्रेसले दूरगामी दृष्टिकोण बनाउनुपर्छ । दिगो अवधारणाको विकास गर्नुपर्छ । ताकि पुरानो अनुभवी पार्टीको विचार र अभ्यासलाई अरुले पनि अनुशरण गर्न सकुन् । 

अघिल्लो प्रश्न किन थियो भने कांग्रेसले अहिले नेतृत्व चयन गरेपछि मात्रै पार्टीको विधान संशोधन तथा आगामी दिनका नीति तथा कार्यक्रम गर्ने भयो ?

यो पदाधिकारीको बैठकबाट निर्णय भएर आएको हो, पहिला नेतृत्व चयन गर्ने अनिमात्र विधान महाधिवेशन गर्ने । व्यक्तिगत रूपमा म यसको पक्षमा छैन, सहमत छैन । यसबारे केन्द्रीय समितिमा छलफल पनि भएन । वास्तवमा नेतृत्व, नीति र कार्यक्रमलाई महाधिवेशनबाट छुट्याउन हुन्न । विधानको बारेमा समय पुग्दैन भने अलिकति छुट्टै विधान महाधिवशेन गर्न सकिएला । तर नीति र कार्यक्रम प्रस्तुत नगरी आएको नेतृत्व व्यक्तिगत प्रतिस्पर्धाबाट मात्रै अनुमोदित हुन्छ । त्यसकारण नीति कार्यक्रमको अनुमोदन गरेर जानुपर्थ्यो । संक्षिप्त रूपमा भएपनि सभापतिका उम्मेदवारहरूले महाधिवेशन हलमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ भन्ने मेरो मान्यता छ । यसमा केही विरोधाभाष जस्तो देखिन्छ । वास्तवमा नेतृत्व, नीति विचार र कार्यक्रमसँगसँगै आएको भए राम्रो हुन्थ्यो । 

कांग्रेसमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा यति कठिन किन छ ? एकपटक नेतृत्वमा पुगेपछि आजीवन त्यो कुर्सीमा बसिरहनुपर्ने किन ?

यो परिस्थिति हटोस् भनेर सभापति दुई कार्यकालभन्दा बढी बस्न नपाइने विधानको व्यवस्था छ । पार्टीको केन्द्रदेखि जिल्लासम्म यो लागू छ । यो व्यवस्थापनअनुसार अगाडि बढिरहेका छौं । 

अन्य राजनीतिभित्र पनि पुस्तान्तरणको बहस चल्दै आएको छ । तुलनात्मक रूपमा पुस्तान्तरण युवाहरूसँग जोडिएको छ । तर को युवा हो को होइन भन्ने अंकगणितीय सीमारेखा त तय भएको छैन । तर कांग्रेसमा युवा पिँढी आउनुपर्छ । अहिले महाधिवेशनबाट कांग्रेसको पदाधिकारीमा युवाले आउने आकांक्षा राखेका छौं । नेतृत्व र महाधिवेशन प्रतिनिधिले त्यसको अनुमोदन गर्नुपर्छ । अनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणले साकार रुप लिनसक्छ ।

कांग्रेसको यो महाधिवेशनबाट आउने नेतृत्वको पहिलो परीक्षा आगामी तीन तहका आम निर्वाचन हुने देखिन्छ । सरकारको नेतृत्व गरिरहेको पार्टी पनि भएकाले जनतामाझ के भनेर जानेछ कांग्रेसको नयाँ नेतृत्व ?

नेपाललाई रुपान्तरण गर्न, समृद्धि दिन, रोजगारी सिर्जना गर्न, गरिबी निवारण गर्न एवं विदेश नीति लगायतका सन्दर्भमा अरु पार्टी असफल भए । हामी यी विषयमा स्पष्ट नीतिका साथ मुलुकलाई आर्थिक रूपमा दिगो राष्ट्र निर्माण गर्छौं भन्ने नाराका साथ अगाडि बढ्छौं । 

त्यसका लागि हामीले पनि महाधिवेशनबाट सच्चिएर भने आउनुपर्छ । कमीकमजोरी हटाउनुपर्छ । हामीले चाह्यो र कांग्रेसले अठोट लियो भने गर्न नसकिने काम म देख्दिनँ । 

कांग्रेसमा गुटबन्दीको जालोले वर्षौं पार्टीमा योगदान गरेका नेताहरू आँशु झार्दै पार्टी छोड्छु भन्ने अवस्था आयो नि है ?

यो चाहिँ दुर्भाग्यजनक कुरा हो । विदा लिने नेताहरूले सम्मानजनक रूपमा विदा लिनुपर्छ । त्यसकारण पार्टीभित्र आफ्ना कुरा राख्ने स्वतन्त्रता छँदैछ । पार्टीमा जीवनभर लागेर काम गरेका नेताहरू सम्मानित किसिमले पार्टीमा रहने या विदा लिने उहाँहरूको निर्णय बहसको विषय बनाउनुपर्छ । पार्टीका नेताहरूले तत्काल त्यसो भन्नुभए पनि उहाँहरूको संरक्षकत्व र योगदान उहाँहरूको रहिरहनेछ । 

१४ औं महाधिवेशनपछिको कांग्रेस कस्तो होला ?

महाधिवेशनपछि कांग्रेस एकीकृत पार्टीका रूपमा प्रस्तुत हुनेछ । अहिले कम्युनिस्टहरू परम्परामा भिडेर छिन्नभिन्न भएका छन् । प्रजातन्त्रवादी गैरकम्युनिस्ट शक्तिहरूलाई एक ठाउँमा ल्याउनका लागि महाधिवेशनले उत्प्रेरित गर्नेछ । आगामी निर्वाचन स्थानीय प्रदेश र संघीयमा नेपाली कांग्रेसलाई स्थापित गर्न महाधिवेशनले मार्ग देखाउनेछ ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully