१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

काठमाडौंका सीडीओ पराजुली भन्छन्- एक हप्ताका लागि खाद्यान्‍न खरिद गर्न त दुई दिन समय दिएकै छ नि !

'संक्रमण दर घटिरहेको छैन, बिहान भीडभाड देखियो'
जयसिंह महरा

काठमाडौँ — काठमाडौं उपत्यकाका तीन जिल्लामा २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जेठ १४ देखि २० गतेसम्मका लागि  जारी गरेको लकडाउन अहिलेको भन्दा कडा पारिएको छ । 

काठमाडौंका सीडीओ पराजुली भन्छन्- एक हप्ताका लागि खाद्यान्‍न खरिद गर्न त दुई दिन समय दिएकै छ नि !

मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ १४ गतेदेखि २० गतेसम्म खाद्य पसलसमेत खोल्नमा रोक लगाउने निर्णय गरेको हो । तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ । यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित सवारी सञ्चालनमा पनि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेमा कैद र जरिवारनासमेत गर्ने निर्णय भएको छ ।

खाद्यान्न पसल खोल्न नदिने र खोलेमा कैद र जरिवाना हुने आदेश जारी गरेपछि सर्वसाधारणमा भने भयको वातावरण सिर्जना भएको छ । निषेधाज्ञा कडा पार्नुको कारणबारे काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसँगको कुराकानीः

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्य पसल पनि बन्द गर्ने निर्णय गरेको हो ?

एक हप्ताका लागि खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत बन्द गर्ने भन्ने निर्णय भएको छ ।

खाद्यान्न पसलसमेत बन्द गर्दा जनतामा असर पर्दैन ?

तरकारी फलफूल पसल खोलिदिएको छ । एक हप्ताका लागि भोलि र पर्सी त किन्न पाउनुहुन्छ नि उहाँहरूले । एक हप्ताका लागि कति मान्छेको सञ्चय हुन्छ । नभए तत्कालै सञ्चय गर्नुपर्‍यो ।

तपाईंहरूले के को आधारमा यस्तो निर्णय लिनुभएको हो ?

संक्रमण दर घटिरहेको छैन । बिहान भीडभाड देखियो । बिहानको भीडभाड रोक्नका लागि हो ।

तपाईंहरूको निर्णयपछि सामाजिक सञ्जालमा खाद्यान्नको जोहो कसरी गरिन्छ भन्ने प्रश्न उठिरहेका छन्, यी प्रश्नलाई कसरी लिनुभएको छ ?

एक हप्ताका लागि खरिद गर्न भोलि र पर्सी त टाइम दिएकै छ नि ! १४ गतेदेखि लागू हुने गरेर निर्णय गरिएको हो । अब तरकारी पसल जुन बिग्रिने कुराका पसल खोल्दिएकै छ । दाल, चामल, तेल एक हप्ताका लागि सञ्चय गर्न सक्नुहुन्छ, भोलि र पर्सीमा खरिद गरेर राख्नुहुन्छ । एक हप्ताका लागि पुग्छ भनेर हामीले चेन ब्रेक (कोरोना संक्रमणको) गर्नका लागि निर्णय गरेको हो ।

निशेधाज्ञा त लगाउनुभयो कोरोना नियन्त्रणका लागि थप के काम गर्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रणको लागि स्वास्थ्य मन्त्रालयले पीसीआर गराउने, भेन्टिलेटरका काम गर्ने हो । यो अवस्थामा पनि खोपको काम त हामीले रोकेका छैनौं । स्वास्थ्य मन्त्रालयले पूर्वाधार तयार गर्ने काम गराइराखेको छ । आइसोलेसन सेन्टर बनाउने पीसीआर परीक्षण गर्ने काम त गरिराखेको हुन्छ ।

तपाईंहरूको जिम्मेवारी भनेको निशेधाज्ञा लगाउने र हिँड्‌डुल गर्न रोक्ने मात्रै हो ?

स्वास्थ्य मन्त्रालयले गर्छ अरु कामहरू ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ ११, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?