भारतीय चित्रकार प्रवीन कर्मकारको कला बिकाउने कला ‘युनिक’ छ । जस्तो कि मध्यम वर्गलाई लक्षित गरी पंखामा नै कला सिर्जना गर्न सकिन्छ । जसले एकातिर कलाको महत्त्व बढ्छ, अनि अर्कोतिर वस्तुको आकर्षण बढ्छ । प्रवीन भन्छन्, ‘कलाकारमा दुई कला हुनैपर्छ, कला बनाउने र बिकाउने कला ।’
काठमाडौँ — गर्मीले छटपटिएको मान्छेले पंखा किन्छ, कि चित्र ? दुईमत छैन, मध्यम आर्थिक अवस्था भएको व्यक्तिले त पंखा नै किन्छ । तर, भारतीय चित्रकार प्रवीन कर्मकार भने पंखा र चित्र दुवै बिकाउन चाहन्छन् । कसरी ?
प्रवीन भन्छन्, ‘कुरा साधारण छ ! पंखामा नै पेन्टिङ क्रियट गर्ने ।’ जसले एकातिर कलाको महत्त्व बढ्छ, अनि अर्कोतिर वस्तुको आवरण युनिक हुन्छ । प्रवीनका अनुसार कलाकारमा दुई कला हुनैपर्छ । एउटा कला बनाउने अर्को, कला बिकाउने ।
कला र व्यापारी संयोजन हुन सके मात्रै कला जीवित हुन सक्ने उनको तर्क छ । शनिबार काठमाडौं आइपुगेका उनले नेपाली कलाकारमाझ कलाको अर्थतन्त्र बलियो बनाउने अनुभव सुनाएका हुन् । कलाकारको रोजगार सिर्जना गर्ने हेतुले केही वर्षदेखि भारत र बंगलादेशका युवा कलाकार मिलेर ‘इन आर्ट वर्ल्ड’ संस्था बनाए । भारतका फाउन्डर प्रवीनले नेपालमा समेत कला र व्यापारको संयोजन जरुरी ठाने । फलस्वरूप कलाकार अनिता भट्टराई ‘इन आर्ट वर्ल्ड’ को नेपाल प्रतिनिधिका रूपमा छनोट भइन् ।
आलोकनगरस्थित आकार आर्ट सेन्टरले प्रवीनको कला अनुभवसहित नेपाली कलाकारमाझ कला कार्यशाला गराएको थियो । जसमा कलाकार प्रवीनले वाटर कलरमा माध्यम अपनाएर चित्र कोरेका थिए । प्रवीनका अनुसार विश्वभरिकै कलाकारको साझा समस्या भनेकै रोजीरोटीकै हो । कलाकारले मात्रै कला सिर्जना गरेर बाँच्छु भन्ने स्थिति छैन । चित्र कसले किन्ने ? चित्रको व्यापार बजारसँग साइनो कसरी गाँस्ने ? यी चरणमा अबका कलाकार पुस्ताले नसोची हुँदैन । ‘कला मध्यम वर्गको घरसम्म पुर्याउन जरुरी छ,’ उनी भन्छन्, ‘हाम्रो विश्वविद्यालयको पढाइ पनि त्यस्तै छ, डिग्री लिन सिकायौं, कलाको बजारीकरण गर्न सिकाएनौं ।’ प्रवीनका अनुसार नेपाल पर्यटीय दृष्टिले सुन्दर छ । तर, यी सुन्दरताको प्रवर्द्धन गर्ने माध्यम कला हो । चित्र हो । ललितकला भने कतै हराए जस्तो लागेको उनले बताए । ‘पशुपतिनाथको फोटोभन्दा विदेशी पर्यटक चित्र किन्न रुचाउँछ,’ उनी भन्छन्, ‘यहाँका कलाकारले त्यतातिर खासै ध्यान दिएका छैनन् । हेर्दा सानो कुरा लाग्ने भए पनि यो कला बजारका ठूलो आधार हो ।’
कार्यशालामा सहभागी प्रमिला परियार, महेश आचार्य, विभूषण ताम्राकार, जया शर्मा, सरुना श्रेष्ठ, गौरभ रत्न बज्राचार्य, श्यामसुन्दर यादव, किशोर नकर्मी, सुदर्शन शाक्य, शिवांगी राणा तिमल्सिना गरी १० कलाकारले चित्र बनाए । नेपाली कलाकारको कला मजाले नियालेका प्रवीनले उनीहरूको कार्यशैलीप्रति प्रभावित भएको बताए । नेपाली कलाकारमा फराकिलो कला दृष्टिकोण रहेको उनको भनाइ छ । त्यस्तै, सांस्कृतिक रूपले धनी नेपाली समाजको झलक कलाकारमा प्रशस्त भेटेको प्रवीन बताउँछन् । अन्तर्राष्ट्रिय कला जगत्मा नेपाली कलाकारको भविष्य उज्ज्वल रहेको बताउँछन् उनी । त्यसैले त उनले संस्थामार्फत डिजिटल ग्यालरी बनाउने, कला विश्वविद्यालय खोल्ने र सबै कलाकारको साझा थलोका रूपमा संस्थाको शाखा विस्तार गर्दै लैजाने योजना अघि सारेका छन् । विश्वव्यापीकरणले बजार फराकिलो भएको छ । त्यसैले थुप्रै आर्ट गुगल ग्यालरीबाटै बेच्ने गरेको अनुभव छ उनको । ‘ग्यालरीमा सबै देशका कला समेटेर एक्प्लोर गर्दै छौं,’ उनी भन्छन् ।
कार्यशालामा सहभागी कलाकार जया शर्माका अनुसार नेपाली कलाकार अन्तर्राष्ट्रिय प्लेटफर्मको खोजी गरिरहेको हुन्छ । उनीहरूका सिर्जनाको महत्त्व बुझ्ने र बुझाउने थलोको अभाव छ । त्यसैले यस्ता अन्तर्राष्ट्रियस्तरका आर्ट नेटवर्किङले कलाको हित हुने उनको बुझाइ छ । कार्यशालामा उनले ‘फेक’ थिममा चित्र बनाइन् । एक्रेलिक माध्यम प्रयोग गरेकी उनको चित्रमा प्लास्टिकको फूल रोपेर वास्तविक फूलको अपेक्षा गर्ने ‘फेक’ आचरणको व्यंग्य देखिन्छ । कलाकार किशोर नकर्मीको कलामा शान्तिको अपिल पाइन्छ । ग्यालरीभन्दा पर रहेको पीपलको रूखमुनि बसेर उनले प्रत्यक्ष चित्र कोरे । नकर्मीले अशान्त गौतम बुद्धको भाव झल्किने आकृति उतारे । आकृतिमा पीपलका पातसमेत क्यानभासमा प्रतिबिम्ब बनाएका थिए । ‘युवाहरू भविष्यको चिन्ताले अशान्त छन्,’ उनी भन्छन्, ‘युवा बाँच्न चाहन्छन् । अक्सिजन चाहन्छन् भन्दै पीपलको पातमार्फत संकेत गरेको हुँ ।’
कलाकार श्याम सुन्दर यादवचाहिँ आधुनिक मिथिला आकृति कोर्न मन पराउँछन् । उनको कला प्याट्रन नै यही हो । मिथिलाको मौलिकतामा आधुनिकता मिसाएरै उनी अरूभन्दा पृथक् बन्न खोजेका हुन् । यद्यपि उनी चित्रमा थिम महत्त्वपूर्ण मान्दैनन् । ‘मेरा चित्रमा कथा हुँदैनन्,’ उनी भन्छिन्, ‘टेक्निक र फर्ममा चित्र कोर्न रुचाउँछु ।’ नेपालमा चित्र बेचेर बाँच्ने आधार थुप्रै छन् । व्यापारी र निजी क्षेत्रले कलाको महत्त्व बुझ्न सके कलाकार भोकै बस्नु नपर्ने उनको अनुभव छ । त्यस्तै, चित्रकार प्रमिला परियार चित्र सिकाएर जीविकोपार्जन गरेकी छन् । यद्यपि व्यापारको स्पेस फराकिलो बनाउन कलाकारले भरपूर मिहिनेत गर्नुपर्ने उनको बुझाइ छ । ‘भर्चुअल र फिजिकल दुवै माध्यम अपनाएर आर्ट एक्प्लोर्स गरेकी छु,’ उनले भनिन् ।
‘इन आर्ट वर्ल्ड’ की नेपाल प्रतिनिधि अनिताले भने कलाकारको क्षेत्र फराकिलो बनाउन अन्तर्राष्ट्रिय सम्मेलन हुन जरुरी रहेको बताइन् । उनले छिट्टै नै अन्तर्राष्ट्रिय कला सम्मेलन गर्ने योजना सुनाइन् । ‘इन आर्ट वर्ल्ड’ मा सबै माध्यम अपनाएर कला सिर्जना गर्ने कलाकारको साझा चौतारी बनाउने उनको उद्देश्य छ । उनी भन्छिन्, ‘कला पस्कने जुनसुकै माध्यमका कलाकारले कला बेचेरै जीविकोपार्जन गराउने आधार बनाउने हाम्रो कोसिस हो ।’
