१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विद्यार्थीको ‘आर्टिस्ट ड्रिम’

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे–९ गणेशस्थानका रोशनकुमार श्रेष्ठ न बोल्न सक्छन् न सुन्न नै । कसैलाई केही भन्नुपर्दा सांकेतिक भाषा नै उनका लागि एक मात्र सहारा हो । उनले औपचारिक रूपमा चित्रकलासम्बन्धी कुनै अध्ययन गरेको वा तालिम लिएका छैनन् । 

विद्यार्थीको ‘आर्टिस्ट ड्रिम’

पोख्त ‘आर्टिस्ट’ ले झैं उनले बनाएको लोभलाग्दो चित्र देखेर सबै जना चकित पर्थे । हिमपातले सेताम्ये शिर, बीचमा पहाड र तल्लो भागमा समथर तराई झल्कने रोशनको तस्बिर देखेर यहाँ घुम्न आएका केही विदेशी उनीप्रति लोभिए ।

चित्रकलाका पारख र क्यानभासजस्ता अनेक तालिम दिएर उनीहरूले सहयोग पनि गरे । जसका कारण आठ कक्षामा अध्ययनरत रोशनले आफ्नो क्षमता तिखार्ने मौका पाए । सुरुमा पेन्सिलको भरमा चित्र बनाउने उनले त्यसउता रंग भरेर अनेक चित्र बनाए । केही विदेशीले हजारौं मूल्यमा किनेर लगेपछि उनलाई भित्रैबाट लाग्यो, ‘सायद अबचाहिँ आर्टिस्ट बनेर जीवन चलाउन सक्छु ।’

उदयपुरमा जन्मिएका उनी सिन्धु बहिरा आधारभूत विद्यालयमा आठ कक्षा पढेपछि थप अध्ययन र कला प्रदर्शनका लागि काठमाडौं आइपुगे । पढाइलाई निरन्तरता दिँदै मागअनुसार कला सिर्जनामा लागिरहेका उनी अहिले २८ वर्ष लागे । ‘प्रायः प्रकृति र अनेक भाव झल्काउने संकेतमा आधारित चित्रकला हुन्छ मेरो । यही आधारमा ३० वटा चित्र तयार गरेको छु,’ उनले भने । काठमाडौंमा कम्तीमा ५ हजारमा चित्र बिक्ने गरेका उनी बताउँछन् । अहिले भने उनले विभिन्न जिल्लाका बालबालिकालाई चित्रकला सिकाउँछन् । केही समयअघि उनी बहिरा विद्यालयमा पुग्दा बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले रोशनको प्रतिभा देखेर आफ्नो तलब भत्ताबापतको रकमसहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

भोटेकोशी नदीको किनार, गणेशको मन्दिरछेउ छ सिन्धु बहिरा आधारभूत विद्यालय । त्यहाँ रोशनजस्तै कला सिर्जनामा तल्लीन सुनकोशी गाउँपालिकाकी १६ वर्षीया निर्मला तामाङका चित्रले पनि अधिकांशलाई आकर्षित गर्छन् । हाल कक्षा ७ मा पढ्दै गरेकी निर्मलाको पनि आर्टिस्ट बन्ने सपना छ । यसअघि गुम्बा, मन्दिर, चर्च, मस्जिदजस्ता अनेक धार्मिकस्थल एउटै भूगोलमा देखिने चित्र एक विदेशीले धेरै मन पराएको उनले बताइन् ।

कक्षाकोठामा बसेर बनाइएका आकर्षक चित्र हेर्दा पारंगत आर्टिस्टजस्तै लाग्छन् विद्यालयमा कक्षा ४ मा अध्ययनरत हेलम्बु गाउँपालिका–२ किउलका १४ वर्षे विकास लामा । उनले बनाएको लेकाली परिदृश्यको चित्रकलालाई बाह्रबिसे नगरले सम्मान गर्दै भवनभित्र राखेर क्रेडिटसमेत दिएको छ । तामाङ, लामाझैं उद्देश्य र सपना बोकेका बाह्रबिसे–६ गातीका र्दोर्जे लामा पनि १२ वर्षकै उमेरमा लोभलाग्दो चित्र बनाउँछन् । ‘हामी सबलभन्दा कम छैनौं, हाम्रो पनि उस्तै सपना हुन्छ भनेर देखाउन चित्रकलामा लागिरहेको छु,’ उनले भने । विद्यालयका प्रधानाध्यापक मैना कार्कीका अनुसार पढाइसँगै चित्रकलामा लगाब र पोख्त अन्य विद्यार्थी पनि छन् ।

जिल्लाभरबाट ३० भन्दा बढी बालबालिका विद्यालयमा अध्ययन गरिरहेका छन् । जसमध्ये केहीको रुचि ‘आर्ट’ मा छ । बोल्न र सुन्न नसक्ने भएकाले औंलाको इसारा र संकेतको भरमा अरूसँग गफ गर्ने बहिरा बालबालिकाले कल्पना गरेर अनेक चित्र बनाउनुमा प्रधानाध्यापक कार्की चमत्कार मान्छिन् । ‘बालबालिकाको आर्टिस्ट ड्रिम देखेर हामीले सकेको प्रोत्साहन र थप तालिम दिन हरसम्भव प्रयास गरिरहेका छौं । तर आर्थिक अभावका कारणले पनि चाहेको जस्तो राम्रो गर्न सकिएको छैन,’ कार्कीले भनिन् ।

बहिरा बालबालिका चित्रकार सपना सार्थक बनाउन उनीहरूले बनाएका चित्रको ‘आर्ट ग्यालरी’ बनाउने योजना बनाएको छ सिन्धु साहित्यिक चौतारीले । यसका लागि बाह्रबिसे नगरले केही योजना पनि बनाएको जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?