कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चित्रमा कोरोना सचेतना

चित्रका बिम्बले मानिसलाई साबुनपानीले हात धुन मात्र सिकाउँदैनन्, घरबाहिर निस्कनु नै परे माक्स प्रयोग गर्नुपर्ने ज्ञान पनि दिएका छन्
सुशीला तामा‌ङ

काठमाडौँ — घरभित्र नै क्वारेन्टाइनमा बस्नु, बेला–बेलामा साबुनपानीले हात धुनु, बाहिर निस्कनै परे मास्क प्रयोग गर्नु जस्ता क्रियाकलाप अहिले आम मानिसको दैनिकी बनेको छ । लकडाउनले घरभित्रै सुरक्षित बसेको भए पनि कोरोनाको मानसिक त्रासले सबैलाई गाँजेको अवस्था छ । यस्तै परिस्थिति गुजारिरहेका चित्रकारहरूको पछिल्ला कलाकृतिमा कोरोना प्रभाव देखिन्छ।

चित्रमा कोरोना सचेतना

चित्रकार रागिनी उपाध्यायदेखि एरिना ताम्राकार, आशा डंगोल, रमेश प्रधान, भाइराजा महर्जन, विनोद प्रधान, पृथ्वी श्रेष्ठ, प्रमिला बजाचार्य, सुनैना ठाकुरलगायतले कलाकृतिमा कोरोनाको आपत्कालीन अवस्थालाई चित्रण गरेका छन् । उनीहरूले चित्रमार्फत नै सुरक्षित रहने उपायतिर समेत जोड दिइरहेका छन् । अधिकांश चित्रकारले आफ्नो कलाकृतिमा मास्क र कोरोना भाइरसको स्केचलाई बिम्बका रूपमा प्रयोग गर्दै अहिलेको कठिन समय उतारेको देख्न सकिन्छ । उनीहरूले चित्रलाई आआफ्ना फेसबुक तथा ‘ई–आर्ट नेपाल’ बाटै अनलाइन प्रदर्शनीसमेत गरिरहेका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहेकी रागिनी उपाध्यायले ‘आजको प्रेमी औजार, आजको महत्त्व साबुनपानी’ शीर्षक दिएर मास्क लगाइरहेका महिला र पुरुषलाई चित्रमा देखाएकी छन् । नीलो रङको मास्कमा देखिएको पुरुष धारामा हात धोइरहेका छन् भने गुलाबी रङको मास्कमा रहेकी महिलाका हातमा साबुन छ । त्यहीं नजिकै रातो रङमा कोरोना भाइरसलाई पनि उनले औंल्याएकी छन् । उपाध्यायका अनुसार चित्रमा प्रयुक्त गुलाबी रङ र गुलाबको फूललाई प्रतीकात्मक अर्थ दिँदै ‘बाहिरी रूप मात्र होइन मन, वचन, मस्तिष्कको पनि फोहोर फालौं र सुरक्षित बनौं’ भन्ने सन्देश दिइएको छ । उनले चित्रमार्फत नै माया, करुणा, सकारात्मक र सिर्जनशील भाव प्रस्तुत गरेर मनको आवेगलाई नियन्त्रण गर्न आह्वान गरेकी छन् ।

अर्का चित्रकार आशा डंगोल र एरिना ताम्राकारले संयुक्त रूपमा होम क्वारेन्टाइनबाटै चित्रमार्फत कोरोना संक्रमणबाट बच्न सचेतना जगाइरहेका छन् । यो जोडीले लकडाउन समयमा कोलाब्रेसन आर्ट गर्दागर्दै कोरोना विषयतिर मोडिएको सुनाए । अहिले सबैको दिमागमा कोरोना र मुख मास्कले ढाकेको मानिसको दृश्य मात्रै आउने बताउँदै त्यसैलाई चित्रमा प्रतिबिम्बित गरेको ताम्राकारले बताइन् । उनले चित्रमार्फत सचेतनासँगै यो दुःखद क्षणलाई दस्ताबेजका रूपमा सुरक्षित गर्न चाहेको पनि सुनाइन् ।

चित्र र मूर्तिकलासँगै सेरामिक आर्टलाई पनि सँगसँगै लगिरहेका अर्का कलाकार रमेश प्रधानले माटामा कोरोना भाइरसको आकार उतारेका छन् । भक्तपुरमा रहेको आफ्नै कार्यशालामा एउटा घरको प्रतिस्थापन कलाका रूपमा भाइरस जस्तो देखिने कलाकृति उनले झुन्ड्याएर राखेका छन् । ‘यो गाह्रो समयमा सबै जना घरभित्रै बसेर सुरक्षित बनौं भन्ने सन्देश जगाउन खोजेको छु,’ उनले भने ।

त्यस्तै, चित्रकार पृथ्वी श्रेष्ठको चित्रमा सचेतनासँगै घरभित्रै थुनिएर रहेको आम मानिसका छटपटी सजिलै देख्न सकिन्छ । उनले चित्रमा मास्क लगाएर बसेको सिंगो मानव फिगरमा सानो झ्याल बनाएर त्यसभित्र आँखाको आकृति देखाएका छन् । बाहिर खुला ठाउँमा कुकुर, चरा उडिरहेका छन् भने अदृश्य रूपमा कोरोना भाइरस फैलिरहेको देखिन्छन् । कोठाभित्र बन्दी भएर बस्नुपरेको आफ्नै अवस्थालाई चित्रमा अभिव्यक्त गरिएको श्रेष्ठले बताए ।

मिथिला कलालाई निरन्तरता दिइरहेका अर्का चित्रकार सुनैना ठाकुरले भने सिंगो मुलुक कठिनाइसँग जुधिरहेको अवस्थालाई कारुणिक रूपमा चित्रमा व्यक्त गरेकी छन् । उनको चित्रमा एउटी महिलालाई चारैतिर कोरोना भाइरसले आक्रमण गरिरहेको छ । झन्डा काखमा लिएर दुःखी देखिएकी महिलालाई ठाकुरले नेपाल आमाका रूपमा चित्रण गरेकी छन् । उनले ‘घरमै बसौं, हात मिलाउनुको सट्टा नमस्कार गरौं, साबुनपानीले हात धोऔं र मास्क प्रयोग गरौं’ जस्ता सन्देश पनि चित्रमार्फत नै प्रस्तुत गरेकी छन् ।

‘मेरो चित्र अहिले एउटा कलाकृति मात्र होइन,’ उनले भनिन्, ‘प्रत्येक नागरिकलाई सुरक्षित र सचेत बनाउन यस चित्रले सघाउने छ ।’ सचेतनाका लागि चित्रलाई सामाजिक सञ्जालमार्फत प्रदर्शन गरिएको उनले बताइन् ।

प्रकाशित : चैत्र २८, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?