समापन समारोहको ‘हाफ–टाइम शो’ का लागि प्रस्तुति दिने सेलेब्रिटीहरूको सूचीमा गायक जस्टिन बिबर पनि जोडिएका छन् ।
What you should know
लन्डन — अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समापन न्युयोर्कको न्युजर्सी स्टेडियममा हुँदै छ । उक्त समापन समारोहको ‘हाफ–टाइम शो’ का लागि प्रस्तुति दिने सेलेब्रिटीहरूको सूचीमा गायक जस्टिन बिबर पनि जोडिएका छन् ।
अबको १० दिनपछि अर्थात् १९ जुलाईमा हुने यस संस्करणको विश्वकप समापनको पहिलो पटक हुन लागेको ‘सुपर बाउल’ शैलीको हाफ–टाइम शोमा क्यानडेली पप स्टार बिबरले म्याडोना, साकिरा र के–पप समूह ‘बीटीएस’ सँगै प्रस्तुति दिने भएका छन् ।
‘फिफा विश्वकपले जसरी विश्वलाई एकताबद्ध गर्ने काम अरू कुनै कुराले गर्न सक्दैन,’ पप स्टार बिबरले भने । स्वास्थ्य समस्याका कारण देखाउँदै बिबरले आफ्नो विश्व भ्रमण ‘जस्टिस’ रद्द गरेपछि लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । तर चार वर्षको ब्रेकपछि उनले गत अप्रिलमा क्यालिफोर्नियामा आयोजित कोचेला फेस्टिभलमा आफ्नो प्रस्तुति दिएका थिए ।
‘युकोन’ र ‘पिचेज’ का यी गायकले अतीतको सम्झना गर्दै उक्त स्टेजमा आफ्ना पुराना चर्चित नम्बरहरू ‘बेबी’, ‘नेभर से’, ‘वन टाइम’, ‘ब्युटी एन्ड द बिट’ लगायतका म्युजिक भिडियो सँगै गाएका थिए ।
कोल्डप्लेका क्रिस मार्टिनले संयोजन गरेको फिफाको यो हाफ–टाइम शोले फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डका लागि रकम जुटाउनेछ । यो विश्वभरका बालबालिकाका लागि १० करोड डलर संकलन गर्न काम गरिरहेको एउटा अभियान हो ।
फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डलाई सहयोग पुर्याउने उद्देश्यले आयोजना हुन लागेको उक्त ११ मिनेटको कार्यक्रममा बुर्ना ब्वाई, गुस्ताभो डुडामेलले पनि पर्फम गर्नेछन् भने न्युयोर्कस्थित ‘पब्लिक स्कुल २२’ (पीएस २२) लाई पनि कोरसमा कोल्डप्लेले साथ दिनेछन् । सन् २००० मा कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई समेटेर उक्त स्कुलका संगीत शिक्षक ब्रिटम्यानले उक्त पप–रक ब्यान्ड बनाएका थिए । उनीहरूले ओस्कार अवार्ड्सदेखि लिएर ह्वाइट हाउससम्ममा आफ्नो सामूहिक सांगीतिक प्रस्तुति दिइसकेका छन् ।
कोलम्बियाली पप स्टार साकिरा र नाइजेरियाली संगीतकार बुर्ना ब्वाय पनि सँगै स्टेजमा फर्किनेछन् । उनीहरू उत्तर अमेरिकाका तीन वटै आयोजक राष्ट्रहरूमा यो प्रतियोगिताको उद्घाटन गर्ने कलाकारहरूमध्ये थिए । उनीहरूको ग्लोबल हिट ‘डाई डाई’ ले म्युजिक चार्टहरूमा प्रभुत्व जमाएको छ र ११ जुनमा प्रतियोगिता सुरु भएदेखि विश्वकपका खेलहरूमा यो गीत नियमित बजिरहेको छ ।
