प्लेयर्स टु वाच : उनाइ सिमोन (स्पेन)

सिमोनले गोल नखाएको समय अवधि पुगेको छ, ६ सय ९ मिनेट । यसक्रममा उनले वाल्टर जेन्गाको नाममा रहेको ३६ वर्ष पुरानो कीर्तिमान पनि पछाडि छोडिसकेको छ ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

Players to Watch: Unai Simón (Spain)

काठमाडौँ — स्पेनले यस विश्वकपमा अहिलेसम्म एकै गोल खाएको छैनन् भन्ने तथ्य आफैमा रोमाञ्चक छ । अझ स्पेनले विश्वकपका पछिल्ला ६ खेलमा गोल खाएको छैनभन्दा आश्चर्य नै मान्नुपर्छ । यस प्रदर्शनका नायक हुन्, गोलरक्षक उनाइ सिमोन । यही प्रदर्शनका कारण स्पेन विश्वकप उपाधिका लागि पनि बलियो प्रत्याशी बनेको हो । 

सिमोनले गोल नखाएको समय अवधि पुगेको छ, ६ सय ९ मिनेट । यसक्रममा उनले वाल्टर जेन्गाको नाममा रहेको ३६ वर्ष पुरानो कीर्तिमान पनि पछाडि छोडिसकेको छ । एथलेटिक बिलबाओबाहेक अहिलेसम्म अन्यत्र कतै नखेलेका यी २९ वर्षीय गोलरक्षकको स्पेनी टिममा पाएको स्थानलाई लिएर एक प्रकारको बहस थियो । बिलबाओका लागि उनको पछिल्लो सिजन खासै राम्रो रहेको थिएन । 

अहिलेसम्मको प्रदर्शन प्रमाणित गरेको छ, उनी कति उम्दा गोलरक्षक हुन भनेर । पोर्चुगलविरुद्धको अन्तिम १६ को खेलमा पनि उनाइले जसरी खेले, त्यो आफैंमा प्रशंसायोग्य छ । पोर्चुगलले सिर्जना गरेको लगातारको दबाबमा पनि उनी शान्त र सौम्य देखिए । विशेषतः क्रिस्टियानो रोनाल्डोको ओभरहेड भलीमा उनाइले जसरी बचाउ गरे, त्यसले उनका प्रशंसक अझ बढेका छन् ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully