यस विश्वकपमा स्पेनले अहिलेसम्म एउटै गोल खाएको छैन । त्यति मात्र होइन, क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई हराउने क्रममा स्पेन विश्वकपमा लगातार ६ खेलमा ‘क्लिन सिट’ राख्ने पहिलो टिम भएको थियो ।
What you should know
लस एन्जलस — बेल्जियमले विश्वकप २०२६ को क्वाटरफाइनलमा शुक्रबार स्पेनको सामना गर्दा एउटै चुनौती रहनेछ, प्रतिद्वन्द्वी टिमको रक्षापंक्ति तोड्ने । यस विश्वकपमा स्पेनले अहिलेसम्म एउटै गोल खाएको छैन । त्यति मात्र होइन, क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई हराउने क्रममा स्पेन विश्वकपमा लगातार ६ खेलमा ‘क्लिन सिट’ राख्ने पहिलो टिम भएको थियो ।
स्पेनको आक्रमणमा अहिलेसम्म धारिलोपन देखिएको छैन, तर सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप जितेयता पहिलो पटक सतर्क रहेर बलमाथि बढी नियन्त्रण राख्ने शैलीमा खेलिरहेको छ । चोटका कारण पूर्णतः निको हुने क्रममै रहेका प्रतिभाशाली खेलाडी लामिन यामल अहिले स्पेनका लागि आक्रमणमा प्रमुख खेलाडी हुन् । तर उनले ५ खेलमा एक गोलमात्र गरेका छन् ।
उनको स्थानममा मिकेल ओयारजाबल चम्केका छन् र उनले ४ गोल गरिसकेका छन् । अस्ट्रियामाथिको जितमा उनले २ गोल निकालेका थिए । बार्सिलोना मिडफिल्डर डानी ओल्मो मान्छन्, प्रतियोगिता अगाडि बढ्ने क्रममा यामल बहुमूल्य अनुभव बटुल्दै छन् । उनी भन्छन्, ‘आफ्नो उपस्थितिले नै यामलले खेलमा धेरै प्रभाव पार्छन् । उनको नियन्त्रणमा बल हुँदा विपक्षीका दुई तीन खेलाडी नजिक हुने गर्छ, यसले अन्यत्र अवसर तयार पार्छ ।’
उनी थप्छन्, ‘लामिने गोल मात्र गर्दैनन्, गोलका लागि अवसर पनि सिर्जना गर्ने गर्छन् । उनले अहिलेसम्मको आफ्नो छोटो खेलजीवनमा यस्तै खेल प्रदर्शन गरिआएका छन् । जति बेला उनले यस्तो गरिरहेका हुन्न, त्यही बेला हामीलाई यस्तै गर्न सहयोग पनि गरिरहेका हुन्छन् ।’
एउटा वास्तविक तथ्य के पनि रहेको छ भने स्पेनलाई जित्नका लागि धेरै गोलको आवश्यकता पनि छैन । स्पेनले यहाँसम्मको यात्राका पाँच खेलमा ६ गोल मात्र गरेको छ र यो नै पर्याप्त रहेको छ । ओल्मोको भनाइ छ, ‘हाम्रो टिमको विशेषता भन्नु नै, सबैले आक्रमण गर्छन् र सबैले रक्षापंक्तिको भूमिका पनि निभाउने गर्छन् । प्रशिक्षकको निर्देशन रहेको छ, हाम्रो टिममा नम्बर ९ नै त्यस्ता खेलाडी हुन्, जसको काम डिफेन्स गर्नु हो, त्यसपछि उनलाई अरूले पछ्याए हुन्छ ।’
उनी आफ्नो डिफेन्सको खुलेर प्रशंसा पनि गर्छन् र यसलाई कोसेढुंगा उपलब्धि रहेको समेत मान्छन् । यसमा आफ्ना गोलरक्षक उनाइ सिमोनको ठूलो हात रहेको पनि मान्छन् । अर्कोतर्फ बेल्जियमको क्वाटरफाइनल यात्रा भने त्यत्तिकै सहज रहेको छैन र यसमा पर्याप्त उतारचढाव रहेका छन् । सेनेगलविरुद्ध दुई गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन जित रच्नु सहज रहेको थिएन ।
तर अमेरिकाविरुद्धको पछिल्लो जित भने धेरै अर्थमा आरामदायी रह्यो र त्यसमा चार्ल्स डे केटेलयरले दुई गोल गरेका थिए । यो विश्वकप बेल्जियमको स्वर्णिम पुस्ताको अन्तिम ठूलो प्रतियोगिता हुन सक्नेछ, त्यसमा मिडफिल्डर केभिन डे ब्रुयना र स्ट्राइकर रोमेलु लुकाकु पनि पर्छन् । संयोगले दुवै अहिले नेपोलीका लागि खेलिरहेका छन् । अमेरिकाविरुद्ध दुवै खेलाडीले सुरुदेखि खेल्न पाएनन् ।
तर लुकाकु सब्स्टिच्युटका रूपमा गोल गर्न भने सफल रहे । उनले विश्वकपमा गरेको गोल संख्या ८ पुगेको छ र यो डिएगो म्याराडोना तथा रुदी भोलरको बराबरी हो । यही स्वर्णिम पुस्ताका अर्का प्रमुख खेलाडी हुन्, गोलरक्षक थिबो कोटवा । उनीसामु पनि राम्रो प्रदर्शनको चुनौती रहनेछ । प्रशिक्षक रुदि गार्सियालाई राम्रा खेलाडीको अभाव पनि छैन र त्यस सूचीमा म्यानचेस्टर सिटीका विङ्गर जेरेमी डोकु र आर्सनलका लियान्ड्रो ट्रोसार्ड पनि पर्छन् ।
स्पेनविरुद्धको यो खेल बेल्जियमका लागि चार विश्वकप संस्करणमा तेस्रो क्वाटरफाइनल हुनेछ, तर यो टिम अहिलेसम्म फाइनल भने पुग्न सकेको छैन । विश्व फुटबलमा स्पेनलाई पनि ठूलो शक्ति मानिए पनि यो टिम अन्तिम आठबाट अगाडि बढेको भनेको दुईपल्ट मात्र हो । सन् १९५० को विश्वकपलाई छाडेर स्पेनले धेरै माथिसम्म पुगेको भनेको उसले विश्वकपको उपाधि जित्दा मात्र हो ।
