बेल्जियमलाई क्वाटरफाइनलको यस खेलमा स्पेनको पर्खाल भत्काउन ठूलै मिहिनेत गर्नुपर्ने छ, किनभने स्पेनविरुद्ध प्रतियोगितामा विपक्षी टोलीले अझै गोल गर्न सकेका छैनन् ।
What you should know
लस एन्जल्स — किलियन एमबाप्पेको फ्रान्ससँग विश्वकप फुटबलको सेमिफाइनल भिडन्तलाई लिएर आत्तुर रहेको युरोपीयन च्याम्पियन स्पेनले शनिबार बिहान पौने १ बजे बेल्जियमको सामना गर्दैछ ।
बेल्जियमलाई क्वाटरफाइनलको यस खेलमा स्पेनको पर्खाल भत्काउन ठूलै मिहिनेत गर्नुपर्ने छ, किनभने स्पेनविरुद्ध प्रतियोगितामा विपक्षी टोलीले अझै गोल गर्न सकेका छैनन् । यो खेल जित्ने टोलीले मंगलबार टेक्सासमा हुने सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ, जुन खेललाई फाइनलअघिको फाइनल भनिएको छ ।
स्पेनले बेल्जियमविरुद्ध पहिला गोलको खोजी गर्नुपर्ने छ । यस विश्वकपमा मन्द सुरुआत गरेको बेल्जियमले प्रतियोगिता अगाडि बढेसँगैं आफ्नो दावेदारिता प्रस्तुत गरिरहेको छ । रुडि गार्सियाको प्रशिक्षणमा रहेको बेल्जियमले अन्तिम १६ मा आयोजक अमेरिकाको सपनालाई ४–१ गोलले चकनाचुर पारेको थियो ।
टिम बेल्जियम
सन् २०१० मा दक्षिण अफ्रिकामा आफ्नो एकमात्र विश्वकप उपाधि जितेको स्पेनले भने पूर्ण आक्रामण धार अझै समात्न सकेको छैन । टोलीलाई पहिलो पटक विश्वकपमा सहभागिता जनाइरहेको केप भार्डेले पहिलो खेलमै गोलरहित बराबरीमा रोकेको थियो । तर स्पेनले बल नियन्त्रणमा राखेर विपक्षीविरुद्ध प्रभुत्व जमाइरहेको छ ।
अर्को साता १९ वर्ष लाग्ने बार्सिलोनाका लामिन यामल स्पेनको आक्रामणमा प्रमुख खेलाडी हुन् । तर उनी चोट बोक्दै अमेरिका आइपुगेका थिए, जसको कारण उनको प्रदर्शन त्यही अनुरूपको हुन सकेको छैन । उनले ५ खेलमा १ गोलमात्र गर्न सकेका छन् । लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीसँग तुलना गरिने यामल गोलका लागि संघर्ष गरिरहेका छन् ।
स्पेनका प्रशिक्षक लुइस डे ला फुन्टे
‘उनको उत्कृष्ट भर्सनका बारेमा हामीलाई थाहै छ, जुन आक्रामक लामिन हो, यो हामीले यस विश्वकपमा अझै देख्न पाएका छैनौं । हामीले जुन स्तरमा यसअघि उनलाई देखेका थियौं, त्यो स्तर विश्वकपमा देख्न पाएका छैनौं,’ स्पेनका प्रशिक्षक लुइस डे ला फुन्टेले यामलको बारेमा भने ।
यामलले गोलको लय लिन नसकेको फाइदा उठाउँदै मिकेल ओयरजाबलले ४ गोल गरिसकेका छन्, त्यसमा दुई गोल अस्ट्रियाविरुद्धको अन्तिम ३२ को खेलमा थियो । स्पेनले ५ खेलमा केवल ६ शटको मात्र सामना गर्नु परेको छ ।
बेल्जियमले समूह चरणका खेल खेल्दा सुस्त सुरुआत गरेको थियो, जबकि उसका अनुभवीहरु थकित देखिन्थे । सेनेगलसँग अन्तिम ३२ को खेलमा टोलीले मानसिक शक्ति प्रदर्शन गरेको थियो । बेल्जियम २–० ले पछाडि परेको खेलमा साहस देखाएको थियो । रोमेलु लुकाकु दोस्रो हाफमा मैदानमा आएपछि प्रभाव देखाएको खेलमा योउरी टिइलेमन्सले विजयी गोल गरेपछि बेल्जियमले सो खेल ३–२ ले जितेको थियो ।
बेल्जियमका प्रशिक्षक रुडी गार्सिया
बेल्जियमका स्वर्णिम पुस्ता मानिएका लुकाकुसहित केभिन डी ब्रुएना, रियल म्याड्रिडका थिबट कुर्टियसका लागि यो विश्वकप अन्तिम अवसरको रुपमा रहेको छ । बेल्जियम ‘अन्डरडग’ को हिसाबमै रहेकोमा प्रशिक्षक रुडी गार्सिया सन्तुष्ट थिए ।
‘सबैले हामी घर फर्किन्छौं भनेर चर्चा गरिरहेका थिए, तर हामीलाई गर्न सक्छौं भन्ने थियो । हामी अझ पनि गर्न सक्छौं जस्तो लाग्छ । सेमिफाइनलमा पुग्न हामी सबै प्रयास गर्नेछौं,’ गार्सियाले भने ।
