इजरायली नागरिकको मृत्युका लागि इरानले ‘ठूलो मूल्य’ चुकाउनुपर्ने नेतन्याहूको चेतावनी

असार १, २०८२

एएफपी

Netanyahu warns that Iran will pay a 'big price' for the deaths of Israeli citizens

जेरुसेलम — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली नागरिकको हत्याका लागि इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ बताएका छन् ।

तेल अभिभ नजिकैको तटीय सहर बट याममा रहेको आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएको स्थलको भ्रमणका क्रममा नेतन्याहूले भने, 'इरानले नागरिक, महिला र बालबालिकाको सुनियोजित हत्याका लागि ठूलो मूल्य चुकाउनु पर्नेछ ।'

इरानले शनिबार राति र आइतबार बिहान इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणमा परी १० जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । 

इजरायलको हवाई प्रतिरक्षा प्रणालीबाट छिरेका क्षेप्यास्त्रले बट याम, तेल अभिभ र देशको उत्तरी क्षेत्रमा पनि क्षति र विनाश निम्त्याएको छ ।

इजरायलको सैन्य सेन्सरसिपले पत्रकारहरूलाई देशभित्र क्षेप्यास्त्र प्रहारको फुटेज सार्वजनिक गर्न निषेध गरेको छ ।

नेतन्याहूले शुक्रबार बिहानदेखि इरानमा सैन्य र आणविक स्थलहरूमा गरिएको आक्रमणको लहरलाई सङ्केत गर्दै भने, 'इजरायलले यो अभियान सञ्चालन गर्नु पूर्णरूपमा आवश्यक थियो।'

‘राइजिङ लायन’ नाम दिइएको यो अभियानको आधिकारिक उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु हो र यसले २५० भन्दा बढी लक्ष्यमा आक्रमण गरिसकेको इजरायली सेनाले जनाएको छ ।

नेतन्याहूले इरानको आणविक कार्यक्रम र ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतातर्फ सङ्केत गर्दै भने, 'हामी हाम्रा सबै उद्देश्यमा पुग्नेछौँ र हामी दोहोरो अस्तित्वको खतरालाई अन्त्य गर्नेछौँ ।'

एएफपी

Link copied successfully