उडिसाको केआईआईटीमै अर्की नेपाली छात्रा मृत फेला

नियमित जाँचका क्रममा बिहीबार सााझ ढोका नखुलेपछि बलपूर्वक भित्र पसेर हेर्दा ती छात्रावासको चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी हुन्, उनी ‘बिटेक’ पहिलो वर्षमा अध्ययनरत थिइन्

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Another Nepali student was found dead at KIIT in Odisha

काठमाडौँ — भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासमा मृत फेला परेकी छन् । विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावासले घटनाको पुष्टि गरेको छ ।

वीरगन्जकी छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारीअनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ । 

‘बिहीबार करिब साढे ७ बजे नियमित जाँचका क्रममा उनले ढोका नखुलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी थिइन्,’ नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले कान्तिपुरसँग भने, ‘विश्वविद्यालयको इन्टरनेसनल रिलेसन डिपार्टमेन्टले दूतावासलाई प्रारम्भिक विवरण जानकारी गराएको छ । थप बुझ्ने प्रयास भइरहेको छ ।’

यस्तै, दूतावासमा कार्यरत नियोग उपप्रमुख सुरेन्द्र थापाका अनुसार उडिसा सरकारका साथै प्रहरीको पनि निरन्तर सम्पर्कमा रहेर दूतावासले घटनामा चासो दिइरहेको छ । ‘अहिले नेपाली विद्यार्थीको शवलाई पोस्टमार्टमका लागि भुवनेश्वरस्थित एम्स अस्पताल लगिएको जानकारी प्राप्त भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘हामी विश्वविद्यालय प्रशासनका साथै स्थानीय प्रहरी र प्रदेश सरकारका उच्च अधिकारीको निरन्तर सम्पर्कमा छौं ।’

कान्तिपुरसँग सम्पर्कमा आएका विश्वविद्यालयका एक विद्यार्थीले भने, ‘अहिले प्रहरीको तीन/चारवटा गाडी आएका छन् । समर भ्याकेसन भएकाले धेरैजसो विद्यार्थी घर गएका छन् । फर्स्ट इयरका विद्यार्थीको भने परीक्षा चलिरहेको छ । मृतक पनि बिटेक फर्स्ट इयरकै विद्यार्थी हुन् । घटनास्थल प्रहरीको नियन्त्रणमा रहेकाले हामीले थप जानकारी पाएका छैनौं । बुझ्ने कोसिस गर्दै छौं ।’ 

गत फागुन ४ मा केआईआईटीको सोही छात्रावासमा रूपन्देहीकी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन् । लम्साल पनि क्यूसी–४ को चौथो तलामै रहेको कोठामा मृत फेला परेको ती विद्यार्थीले बताए ।

केआईआईटी घटना

कान्तिपुर

Link copied successfully