उडिसाकै केआईआईटीमा अर्की नेपाली छात्रा मृत फेला

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

Another Nepali student was found dead at KIIT in Odisha

काठमाडौँ — भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासमा मृत फेला परेकी छिन् । विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले घटनाको पुष्टि गरेको छ ।

बारा सिम्रौनगढकी छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलमा रहेको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।

‘करिब साढे ७ बजे नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी थिइन्,’ नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी सन्जिव शर्माले कान्तिपुरसँग भने, ‘विश्वविद्यालयको इन्टरनेसनल रिलेसन डिपार्टमेन्टले दूतावसलाई प्रारम्भिक विवरण जानकारी गराएको छ । थप बुझ्ने प्रयास भइरहेको छ ।’

कान्तिपुरसँग सम्पर्कमा आएका विश्वविद्यालयका एक विद्यार्थीले भने– ‘अहिले प्रहरीको तीनचार वटा गाडी आएका छन् । समर भ्याकेसन भएकाले धेरैजसो विद्यार्थी घर गएका छन् । फर्स्ट इयरका विद्यार्थीको भने परीक्षा चलिरहेको छ । मृतक पनि बिटेक फर्स्ट इयरकै विद्यार्थी हुन् । घटनास्थल प्रहरीको नियन्त्रणमा रहेकाले हामीले थप जानकारी पाएका छैनौं । बुझ्ने कोसिस गर्दै छौं ।’

यही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् ।

केआईआईटी घटना

कान्तिपुर

Link copied successfully