केआईआईटी कलेजमा के भएको हो ?

के यो घटनामा नेपाल सरकार चुकेको हो ?

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि यसले धेरैथरी प्रश्नहरु उठाइदिएको छ । के भारत लगायतका देशमा पढ्ने नेपाली विद्यार्थी सुरक्षित छन् ? अनि के विदेशमा पढिरहेका नेपाली विद्यार्थीले भोग्ने अनेकन समस्याम सरकारको भूमिका के हुने हो ?

बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति आइतबार साँझ होस्टेलमा मृत भेटिएकी थिइन् । यो घटनापछि भारतमा पढिरहेका हजारौं विद्यार्थीको सुरक्षा र चासोमा नेपाल सरकारले कसरी भूमिका खेल्न सक्छ र यस्ता घटना दोहोरिन नदिन के गर्न सकिन्छ भन्ने बहस पनि सुरु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर–८, बैंक कलौनी घर भएकी लम्सालको मृत्युलाई केआईआईटीले विज्ञप्ति जारी गर्दै आत्महत्या भएको बताइसकेको छ । तर  प्रकृतिको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन । केआईआईटीमा अध्ययनरत विद्यार्थीहरुले लम्साललाई बारम्बार दुर्व्यवहारमा पर्दै आएको र यो घटनामा कलेज प्रशासनले चरम बेवास्ता गरेको बताएका छन् । प्रकृतिले एक महिनाअघि नै आफूलाई ब्यालकमेल गरी टर्चर दिने काम भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराएको परिवारका सदस्यले बताएका छन् ।

विद्यार्थीको प्रदर्शन चर्किएपछि सोमबार बिहान विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई तत्काल छात्रावास छाड्न सूचना जारी गरेको थियो । तर चौतर्फी विवादपछि विश्वविद्यालय प्रशासनले साँझ विज्ञप्ति जारी गरी नेपाली विद्यार्थीलाई छात्रावासमा फर्कन आग्रह गर्‍यो ।
यो घटनाबारे स‌ंसद‍्देखि सदनसम्म कुरा उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो घटनामा आफ्नो चासो देखाएका छन् ।

शिक्षा मन्त्रालयले भने केआईआईटीमा भएको घटना र समस्याको न्यायपूर्ण समाधान नगरिए वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी नै दिएको छ । नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउन नेपाली राजदूताबास नयाँदिल्लीबाट नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी केआईआईटी पुगिसकेका छन् ।

मंगलबार विश्वविद्यालयले घटनाबारे सूचना जारी गर्दै दुई जना सुरक्षा गार्डलाई बर्खास्त गरिएको जानकारी दिएको छ । त्यस्तै छात्रावासका दुई जना उच्च अधिकारी र एक जना प्रशासन अधिकृत पनि घटनाको छानबिन नहुन्जेलसम्मका लागि बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully