काठमाडौँ — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीमाथि भएको जस्तै घटना विदेशमा पढ्ने अरु विद्यार्थीमाथि नहोस् भनी सरकारले पहल गर्नुपर्ने कांग्रेस सांसद उदयशमशेर जबराले बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद जबराले सरकारले केआईआईटी विश्वविद्यालयमा भएको घटनापछि सरकारले सक्दो पहल गरेको भए पनि आगामी दिनमा अन्यत्र पनि त्यस्तो नदोहोरियोस् भनेर तयारी गर्नुपर्ने बताए । केआईआईटी विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीको सुरक्षाको विषयमा पनि सरकारले चासो राख्नुपर्ने उनको भनाइ थियो ।
'त्यहाँ एक हजारभन्दा बढी नेपाली विद्यार्थी पढ्ने गरेको छ । नेपाली विद्यार्थी डराएर बसिरहेको छ । भोलि कुटपिट हुन्छ कि आक्रमण गर्छन् कि भनेर उहाँहरू बसेको छ । उहाँहरुको मनोबल बढाउन र सुरक्षाको निम्ती सरकारले पहल गर्नुपर्छ,' जबराले भने, 'यो पहिलो घटना होइन । नेपाली विद्यार्थी विदेशमा पढ्ने क्रममा यस्ता घटना भएका छन्, आउने दिनमा यस्ता घटना नदोहोरियोस् भनेर नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु ।'
केआईआईटी विश्वविद्यालयमा भएको घटनामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजू राणा देउवाका साथै दिल्लीस्थित नेपाली दूतावासले खेलेको भूमिका राम्रो रहेको जबराको भनाइ थियो । केआईआईटीमा भएको घटनामा नेपालले थालेको कूटनीतिक पहलको प्रभाव देखिएको सांसद जबराको भनाइ थियो । 'नेपालको कूटनीतिक पहलपछि सूचना जारी भएको छ । विश्वविद्यालयले माफी मागेको छ । तीनजना कर्मचारीलाई निलम्बन गरेको छ, दुईजना सुरक्षा गार्डलाई जागिरबाट निकालेको छ । सबै नेपाली विद्यार्थीलाई, होस्टेलबाट निकालेका विद्यार्थीहरूलाई फर्किन आग्रह गरेको छ । आरोपित पक्राउ परेका छन्,' जबराले भने, 'राजदूतावास र परराष्ट्र मन्त्रालयको भूमिकालाई सम्झिनै पर्छ । राम्रो कामलाई राम्रो भन्नुपर्छ । अब छानबिन गर्ने भन्ने कुरा आएको छ । सरकारलाई आग्रह गर्न चाहन्छु, छानबिन मात्र होइन, स्वतन्त्र छानबिन गरोस् । त्यसमा दूतावासले फलोअप गर्न जरुरी छ ।'
सरकारले गरेका राम्रा कामलाई राम्रो भन्न पनि जबराले प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गरेका थिए । सरकारले केआईआईटीमा घटेको घटनामा कुनै पहल गरेन भनेर भन्न नहुने उनको भनाइ थियो ।
