ओडिसा घटनाबारे परराष्ट्रमन्त्री राणा र भारतीय मन्त्रीबीच फोनवार्ता

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

Phone conversation between Foreign Minister Rana and Indian Minister regarding the Odisha incident

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा ओडिसाका उच्च शिक्षा मन्त्रीसँग टेलिफोनमा कुराकानी गरेकी छन् । 

मन्त्री राणाले ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छन् ।  

सो फोनवार्ताका क्रममा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएका थिए । 

उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरुलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको बताए । 

मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा होस्टेलमा रहेर पठनपाठन गर्न सक्नेगरी सुरक्षाको प्रबन्ध गरिएको जानकारी दिए । 

केआईआईटी घटना

कान्तिपुर

Link copied successfully