काठमाडौँ — अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको मत परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । सीएनएनका अनुसार उनी अहिलेसम्म २४६ इलेक्टोरल मतसहित अगाडि देखिएका छन् ।
।त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १८२ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ ।
जितका लागि निर्णायक मानिएका ७ स्विङ स्टेटमध्ये नर्थ क्यारोलाइना र जर्जियामा ट्रम्पले जित हासिल गरेका छन् । यो जितले ट्रम्पलाई बहुमतका लागि सहज बनाएएको छ । तर अन्य स्विङ स्टेटहरूमा कमला ह्यारिसको पकड स्थापित हुनपनि सक्छ । तर नर्थ क्याोलाइना र जर्जियाको १६/१६ इलेक्ट्रोरल सिटमा जित हासिल भएपछि ट्रम्पका समर्थकमा खुसियाली छाएको छ ।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।
चुनावमा निर्णायक मानिएका स्विङ स्टेटहरूको नतिजाको नआइ कसले जित्न सक्छ भन्ने अनुमान गर्न कठिन हुन्छ । सन् २०२० मा पनि सुरुवाती नतिजामा ट्रम्पले अग्रता बनाएका थिए । तर अन्तिममा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले उनलाई पछाडि पारेका थिए । अन्तिम नतिजा आउन २/३ दिनसम्म लाग्न पनि सक्छ ।
५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ ।
यस पटक पनि पहिलेजस्तै निर्वाचन परिणाम नै निर्धारण गर्ने‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को मतले राष्ट्रपति चयनमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ । पेन्सिलभेनिया (१९), जर्जिया (१६), नर्थ क्यारोलाइना (१६), मिसिगन (१५), एरिजोना (११), विस्कन्सिन (१०) र नेभादा (६) गरी ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को कुल इलेक्टोरल मत ९३ छ ।
![US Presidential Election: Trump Wins in Swing States 'North Carolina' and 'Georgia' [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/donaldtrump-1680271491-2712024101538-1000x0.jpg&w=1001&h=0)