डेमोक्य्राट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलरको विज्ञापन गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहले विज्ञापनमा खर्च गरेका हुन् । रेडियो, टेलिभिजन, स्याटलाइट, केबल र डिजिटल विज्ञापनमा रकम खर्च भएको विज्ञापन गणना गर्ने संख्या एड इम्प्याक्टको तथ्यांकले देखाएको छ ।
काठमाडौँ — अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मंगलबार मतदान भएको छ । अहिले कुन राज्यबाट कुन उम्मेदवारले कति मत पाउँछन् भन्ने आकलन भइरहेको छ । यहीबेला निर्वाचनमा भएको खर्चको पनि लेखाजोखा भइरहेको छ । चुनावका लागि डेमोक्य्राट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारले १० अर्ब ५० करोड डलर (करिब १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ ।
डेमोक्य्राट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलर खर्च गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहले विज्ञापनमा खर्च गरेका हुन् । रेडियो, टेलिभिजन, स्याटलाइट, केबल र डिजिटल विज्ञापनमा यति धेरै रकम खर्च भएको विज्ञापन गणना गर्ने संख्या एडइम्प्याक्टको तथ्यांकले देखाएको छ ।
अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपीआर) ले गरेको विश्लेषणअनुसार सबैभन्दा धेरै पेन्सिलभेनियामा खर्च भएको छ । अत्यन्तै कडा प्रतिस्पर्धामा रहेको र ‘स्विङ स्टेट’ भनिने अनिर्णीत राज्यमध्ये प्रमुख मानिएको पेन्सिलभेनियामा मात्र १.२ अर्ब डलर खर्चिएर उम्मेदवार एवं दलहरूले विज्ञापन गरेका थिए ।
पेन्सिलभेनियामा डेमोक्य्राक्ट्सले ६३ करोड ७० लाख डलर र रिपब्लिकन्सले ५४ करोड ३० लाख डलर विज्ञापनमा खन्याएका छन् । राष्ट्रपतिको चुनावी अभियानसँगै सिनेट र हाउसको चुनावका लागि पनि यो राज्यमा कडा प्रतिस्पर्धा छ । सिनेट प्रतिस्पर्धामा ३४ करोड ४० लाख डलर खर्च भएको छ । सिनेटको चुनावका लागि सबैभन्दा बढी खर्च चाहिँ ओहायोमा भएको छ जहाँ करिब ५१ करोड ८० लाख डलरको विज्ञापन गरिएको एनपीआरको विश्लेषण छ ।
‘राष्ट्रपतीय चुनावी अभियान मुख्यतया सातवटा प्रदेशमा सीमित रहेको देखिन्छ,’ एनपीआरको लेखेको छ, ‘प्रत्येक ५ डलरमध्ये ४ डलर पेन्सिलभेनिया, मिसिगन, विस्कन्सिन, जर्जिया, नर्थ क्यारोलाइना, एरिजोना र नेभाडामा खर्च भएको छ ।’ प्रतिस्पर्धी राज्यको सन्दर्भमा सन् २०२० को तुलनामा यसपटक राष्ट्रपति चुनावमा गरिएको खर्च उल्लेखनीय भएको एनपीआरको विश्लेषण छ । सन् २०२० को आम निर्वाचनमा फ्लोरिडामा ३७ करोड १० लाख डलर विज्ञापनमा खर्च गरिएकोमा यसपटक ४० लाख डलर मात्र खर्च भएको छ । सन् २०२० मा सबैभन्दा धेरै रकम जर्जियामा खर्च भएको थियो ।
त्यो बेला जर्जियामा राष्ट्रपतिको चुनावका लागि तीव्र प्रतिस्पर्धा थियो र सिनेटको रन–अफ निर्वाचनसमेत भएको थियो । तर २०२० मा जर्जियामा भएका सबै चुनावमा जम्मा ७८ करोड ७० लाख डलर खर्च भएको थियो, जुन यस वर्ष पेन्सिलभेनियामा देखिएको खर्चभन्दा लगभग आधा अर्ब डलरले कम हो ।
निर्णायक ७ राज्यमा शक्तिकेन्द्रित
अमेरिकी राष्ट्रपतीय चुनावमा २४ करोड अमेरिकीहरू मत खसाल्न योग्य भए पनि अपेक्षाकृत सानो संख्याका मतदाताले नयाँ राष्ट्रपति को बन्ने भन्ने निर्धारण गर्ने देखिएको छ । इतिहासकै प्रतिस्पर्धात्मक बताइएको चुनावमार्फत डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बन्ने दौडमा छन् । तर राष्ट्रपतिमा विजयी हुन भने दुवै उम्मेदवारका लागि ‘स्विङ स्टेट्स’ को नतिजा निर्णायक हुने भएको छ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनको परिणाम निर्धारण गर्ने यस्ता राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ भनिन्छ ।
यस अर्थमा मंगलबार भएको चुनावमा पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा गरी ७ राज्यको नतिजा नै ह्वाइटहाउसको साँचोका रूपमा देखिएको छ । हालसम्म पनि यी राज्यको ९३ इलेक्टोरल मत कुन उम्मेदवारलाई जान्छ भन्ने यकिन छैन । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये कम्तीमा २ सय ७० ल्याउन आवश्यक हुन्छ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।
राजनीतिक दलले आफ्ना समर्थक वा पार्टी अधिकारीलाई चुनाव हुनुअघि नै इलेक्टोरलका रूपमा चयन गर्ने गर्छन् । इलेक्टरहरूले सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउने भए पनि आफ्नो राज्यमा लोकप्रिय मत बढी पाउने उम्मेदवारलाई नै समर्थन गर्ने गर्छन् । दुई उम्मेदवारमध्ये ह्यारिसले सबैभन्दा बढी इलेक्टोरल मत रहेको क्यालिफोर्निया (५४), न्युयोर्क (२८) र इलिनोई (१९) सहित २ सय २६ इलेक्टोरल मत ल्याउने लगभग निश्चित छ । यो अवस्थामा राष्ट्रपतिमा निर्वाचित हुन ह्यारिसलाई ‘स्विङ स्टेट्स’ को ९३ मध्ये कम्तीमा ४४ इलेक्टोरल मत आवश्यक पर्छ ।
ट्रम्पले टेक्सास (४०), फ्लोरिडा (३०), ओहायो (१७) सहित कम्तीमा २ सय १९ इलेक्टोरल मत पाउने निश्चित भइसकेको छ । राष्ट्रपतिमा निर्वाचित हुन उनले अब ९३ मध्ये कम्तीमा ५१ इलेक्टोरल मत ल्याउनै पर्छ । चुनावी अभियानको अन्तिमसम्म पनि दुवै उम्मेदवारले यिनै ७ राज्यका अनिर्णीत मतदातालाई लक्षित गरेका थिए ।
एडइम्प्याक्टको तथ्यांकअनुसार राष्ट्रपतीय चुनावमा विज्ञापनका लागि ३ अर्ब अमेरिकी डलर खर्च गरिएको छ । त्योमध्ये सबैभन्दा धेरै पेन्सिलभेनियामा खर्च गरिएको छ । पेन्सिलभेनियामा मात्रै १ अर्ब २ करोड डलरको विज्ञापन गरिएको जनाइएको छ । सात वटा ‘स्विङ स्टेट्स’ मा मात्रै ५ डलरमध्ये ४ डलर खर्च भएको एडइम्प्याक्टले जनाएको छ । ‘स्विङ स्टेट’ मा विज्ञापनका लागि ट्रम्पले भन्दा ह्यारिसले बढी खर्च गरेकी छन् ।
अक्टोबर ७ सम्मको तथ्यांकअनुसार ह्यारिसले पेन्सिलभेनियामा १५ करोड ९० लाख, मिसिगनमा १२ करोड ६० लाख, जर्जियामा ७ करोड ३० लाख, विस्कन्सिनमा ७ करोड ५० लाख, एरिजोनामा ६ करोड २० लाख, नर्थ क्यारोलाइनमा ५ करोड ५० लाख र नेभादामा ४ करोड ४० लाख अमेरिकी डलर विज्ञापनका लागि खर्च गरेकी बीबीसीले जनाएको छ । ट्रम्पले भने विज्ञापनका लागि पेन्सिलभेनियामा १२ करोड २० लाख, मिसिगनमा ७ करोड ८० लाख, जर्जियामा ७ करोड २० लाख, विस्कन्सिनमा ५ करोड ३० लाख, एरिजोनामा ४ करोड ९० लाख, नर्थ क्यारोलाइनमा ४ करोड ४० लाख र नेभादामा २ करोड २० लाख अमेरिकी डलर खर्च गरेका छन् ।
पेन्सिलभेनिया
स्विङ स्टेट्समध्ये सबैभन्दा बढी इलेक्टोरल मत पेन्सिलभेनियामा छ । १९ मत रहेको राज्यमा यसअघि ८२ हजार मतान्तरले राष्ट्रपति जो बाइडेन विजयी भएका थिए । यस राज्यलाई केही पण्डितहरूले चुनावी रणभूमिको सबैभन्दा ठूलो पुरस्कार मान्छन् । ह्यारिस र ट्रम्प दुवैका लागि यो निकै महत्त्वपूर्ण राज्य हो । गत जुलाईयता यो राज्यमा दुवै उम्मेदवारले दर्जनौं कार्यक्रम र चुनावी र्याली गरिसकेका छन् । मिसिगन र विस्कन्सिनसँगै पेन्सिलभेनिया जितेको खण्डमा ह्यारिसले इतिहास रच्ने निश्चित छ ।
उम्मेदवार बनेयता ट्रम्पमाथिका दुई आक्रमणमध्ये एक पेन्सिलभेनियामा गरिएको थियो । ट्रम्पमाथिको आक्रमण, उनको कडा प्रचारप्रचार र अर्बपति इलन मस्कले मतदातालाई दिने घोषणा गरेको विवादास्पद नगद उपहारका कारण पनि यो चर्चाको केन्द्रमा छ । यो राज्यको मूल चुनावी मुद्दा भने अर्थ व्यवस्था नै देखिएको छ । ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीलाई आर्थिक मुद्दा उठाएर आक्रमण गर्ने कोसिस गरेका छन् ।
जर्जिया
१६ इलेक्टोरल मत रहेको जर्जियामा यसअघिको चुनावमा जो बाइडेन १३ हजार मतान्तरले विजयी भएका थिए । जसका कारण ट्रम्प समर्थित रिपब्लिकन अधिकारीहरूले २०२० को राष्ट्रपति बाइडेनको जित उल्टाउन लागिपरेका छन् ।
जर्जियाको फुल्टन काउन्टीमा रिपब्लिकन उम्मेदवार ट्रम्पले चुनावी हस्तक्षेपसम्बन्धी मुद्दाको सामना गरिरहेका छन् । चार आपराधिक अभियोगहरूमध्ये एउटामा ट्रम्प दोषी ठहर भएका छन् भने अन्य चलिरहेका छन् । उनी र अन्य १८ जनालाई बाइडेनसँगको झिनो पराजयलाई उल्टाउन षड्यन्त्र गरेको आरोप छ । ट्रम्पले आफ्नो गल्ती अस्वीकार गर्दै आएका छन् ।
जर्जियामा कुल जनसंख्याको एकतिहाइ अफ्रिकी–अमेरिकी छन् । सन् २०२० मा डेमोक्रेटिक उम्मेदवार बाइडेन विजयी हुनका लागि उक्त जनसंख्याले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास गरिन्छ । बाइडेनको तुलनामा ह्यारिसलाई उक्त समुदायको समर्थन अझै बढी रहेको आकलन गरिएको छ ।
नर्थ क्यारोलाइना
अघिल्लो निर्वाचनमा नर्थ क्यारोलाइना राज्यमा ट्रम्प विजयी भएका थिए । उनले जो बाइडेनलाई ७४ हजार मतान्तरले पराजित गरेका थिए । राष्ट्रपतीय चुनावमा ह्यारिसको प्रवेशसँगै यो राज्यमा प्रतिस्पर्धा कडा बनेको हो । ट्रम्पले ‘यो राज्यको जित धेरै नै महत्त्वपूर्ण रहेको’ बताउँदै आएका छन् ।
डेमोक्रेटिक दलले यो राज्यको नतिजा उल्टाउन सके ह्यारिसको जित सुनिश्चित हुने बताउँदै आएका छन् । त्यसका लागि उनीहरूले राज्यका अश्वेत मतदाताको सक्दो बढी मत खसाल्ने कसरत गरिरहेका छन् । ‘सन बेल्ट’ राज्यहरू एरिजोना र जर्जियासँग सीमा जोडिएको नर्थ क्यारोलाइनाका केही चुनावी मुद्दाहरू साझा छन् । २०२० मा ट्रम्पले कम मतान्तरले चुनाव जितेकाले पनि यसको नतिजा उल्टाउन सकिने डेमोक्रेटहरूको आशा देखिन्छ ।
मिसिगन
१५ इलेक्टोरल मत रहेको मिसिगनमा पनि यसअघि डेमोक्रेटिक दल विजयी भएको थियो । २०२० को जो बाइडेनले १ लाख ५० हजार मतान्तरले जितेका थिए । त्यसअघिको चुनावमा भने यो राज्यमा रिपब्लिकन दलका डोनाल्ड ट्रम्प विजयी भएका थिए ।
जनसंख्याको अनुपातका आधारमा मिसिगनमा अरब मूलका अमेरिकीहरू सबैभन्दा बढी छन् । उनीहरूले २०२० मा बाइडेनलाई समर्थन गरेका थिए । तर गाजा युद्धमा बाइडेनले इजरायललाई समर्थन गरेसँगै उनीहरू असन्तुष्ट बनेको बताइएको छ । गत फेब्रुअरीमा डेमोक्रेटिक दलको प्राइमरीमा एक लाखभन्दा बढी मतदाताले आफ्नो मतपत्रमा अमेरिकी सरकारले इजरायललाई सैन्य सहायता रोक्नुपर्ने उल्लेख गरेका थिए ।
ती मतदातालाई रिझाउन ह्यारिसले पछिल्ला चुनावी अभियानमा इजरायलविरुद्ध कडा प्रतिक्रिया दिएकी छन् । ह्वाइटहाउस यात्राका लागि ट्रम्पले पनि यो राज्यको मत निकै महत्त्वपूर्ण रहेको स्वीकार गरेका छन् । अरब–अमेरिकी मत आफ्नो पोल्टामा पार्ने उद्देश्यले उनले पनि इजरायललाई गाजामा हमासमाथिको आक्रमण टुंग्याउनुपर्ने बताउँदै आएका छन् ।
एरिजोना
११ इलेक्टोरल मत रहेको एरिजोनामा यसअघिको निर्वाचन डेमोक्रेटिक दलका उम्मेदवार जो बाइडेन १३ हजार मतान्तरले विजयी भएका थिए । उक्त जित डेमोक्रेटिक पार्टीका लागि तीन दशकपछिकै पहिलो थियो । मेक्सिकोसँग करिब ६ सय किलोमिटर सीमा जोडिएको एरिजोना पछिल्लो समय अमेरिकाको अध्यागमन बहसको केन्द्रबिन्दु बनेको छ । तर पछिल्लो समय गैरकानुनी रूपमा सीमापार गर्नेहरूको संख्या भने घटेको छ ।
ट्रम्पले अध्यागमन मामिलामा ह्यारिसलाई बारम्बार आक्रमण गर्ने गरेका छन् । राष्ट्रपति जो बाइडेनले सीमा संकट कम गर्नका लागि ह्यारिसलाई भूमिका दिएका थिए । दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको खण्डमा ट्रम्पले अमेरिकी इतिहासकै ‘सबैभन्दा ठूलो निर्वासन अभियान’ सञ्चालन गर्ने वाचा पनि गरेका छन् । त्यसका साथै रिपब्लिकनहरूले गर्भपतनको अधिकार उल्टाउने असफल प्रयास गरेसँगै एरिजोना तनावपूर्ण छ । सन् २०२२ मा अमेरिकी सर्वोच्च अदालतले महिलालाई गर्भपतनको संवैधानिक अधिकार दिने ऐतिहासिक निर्णय उल्टाएपछि यो मुद्दाले ध्रुवीकरण बढेको छ ।
विस्कन्सिन
सन् २०२० को चुनावमा जो बाइडेनले निकै कम मतान्तरले जितेको राज्य हो विस्कन्सिन । २१ हजार मतान्तरले विजयी हुँदै बाइडेनले यो राज्यको १० इलेक्टोरल मत आफ्नो पक्षमा जोडेका थिए । त्यसअघिको चुनावमा भने यो राज्यमा ट्रम्प विजयी भएका थिए ।
चुनावी विश्लेषकहरूले विस्कन्सिनजस्ता सीमान्त राज्यहरूमा डेमोक्रेटिक र रिपब्लिकन उम्मेदवारका नीतिहरूविरुद्ध प्रचार गर्ने तेस्रो पक्षका उम्मेदवारले पनि ठूलो प्रभाव पार्न सक्ने बताउँछन् । ग्रीन पार्टीकी उम्मेदवार जिल स्टेनका कारण ह्यारिसलाई असर पुग्न सक्ने देखिएको छ । यसअघिका सर्वेक्षणले स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरका कारण ह्यारिस वा ट्रम्पको मत संख्या प्रभावित हुने देखिएको थियो । तर केनेडीले गत अगस्टमा आफ्नो अभियान स्थगित गर्दै ट्रम्पलाई समर्थन गरिसकेका छन् । ‘यदि हामीले विस्कन्सिन जित्यौं भने, हामीले सबै कुरा जित्ने छौं,’ विस्कन्सिनको जित कति महत्त्वपूर्ण छ भन्नेबारे ट्रम्पले भन्ने गरेका छन् ।
नेभादा
स्विङ स्टेट्समध्ये सबैभन्दा कम इलेक्टोरल मत भएको राज्य नेभादा हो । ६ मत रहेको राज्यमा यसअघि बाइडेन ३४ हजार मतान्तरले विजयी भएका थिए । अधिकांश राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक दलका उम्मेदवारलाई जिताएको नेभादाले यस पटक भने रिपब्लिकनको पनि सम्भावना उत्तिकै देखिएको छ ।
चुनावी सर्वेक्षणहरूमा यो राज्यमा बाइडेनभन्दा ट्रम्पले ठूलो अग्रता पाएका थिए । तर बाइडेन चुनावी प्रतिस्पर्धाबाट बाहिरिएसँगै ह्यारिस डेमोक्रेटिक दलबाट उम्मेदवार बनेपछि त्यस्तो मतान्तर घट्दै गएको हो ।
(एजेन्सीहरूको सहयोगमा)
