न्युयाेर्क — अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार मतदान हुँदैछ । ४७ औं राष्ट्रपति बन्ने दौडमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । डेमोक्रेटिक दलकी उम्मेदवार ह्यारिस र रिपब्लिकन दलका उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा इतिहासकै कडा हुने विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । राष्ट्रपतिमा विजयी हुन पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा गरी ७ वटा ‘ब्याटलग्राउन्ड स्टेट’ निर्णायक देखिएका छन् । जसका कारण पछिल्लो समय दुवै उम्मेदवारको चुनावी अभियान ती राज्यमा केन्द्रित छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । कूल ५ सय ३८ मध्ये ‘ब्याटलग्राउन्ड स्टेट’ मा ९३ मत छ । एनबीसी न्युजको चुनावी सर्वेक्षणअनुसार ह्यारिसको पक्षमा २ सय २६ इलेक्टोरल मत निश्चित भएको देखिएको छ । राष्ट्रपतिमा निर्वाचित हुन उनलाई कम्तीमा अरू ४४ इलेक्टोरल मत आवश्यक देखिएको छ । २ सय १९ इलेक्टोरल मत पाउने निश्चित भएपनि राष्ट्रपति बन्नका लागि ट्रम्फले थप ५१ इलेक्टोरल मत जुटाउने सर्वेक्षणले देखाएको छ ।
![US Presidential Election: Trump and Harris' Final Showdown [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/kamala-vs-trump-04112024124508-1000x0.jpg&w=1001&h=0)
![US Presidential Election: Trump and Harris' Final Showdown [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/ap24308862539735-04112024121838-1000x0.jpg&w=1001&h=0)