काठमाडौँ — सन् १९४१ मा आजकै दिन (डिसेम्बर २२) मा अमेरिकी राष्ट्रपति फ्रांकलिन डी रुजवेल्ट र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलबीच भेटवार्ता भएको थियो । २० औं शताब्दीका दुई नेताहरूबीच अमेरिकाको वासिङ्टनमा भएको भेट दोस्रो विश्वयुद्धका विषयमा केन्द्रित थियो ।
१९४१ को सेप्टेम्बर १ बाट सुरु भएको विश्वयुद्धमा अमेरिका प्रवेश गरेसँगै रुजवेल्ट र चर्चिलबीच छलफल भएको हो । भेटवार्तापछि दुई नेताले क्रिसमसको शुभकामना सन्देश जारी गर्दै एक अर्कालाई सहयोग गर्नका लागि आग्रह गरेको जनाएका थिए ।
जापानले अमेरिकाको पर्ल हार्बरमा १९४१ को डिसेम्बर ७ मा आक्रमण गरेको भोलिपल्ट अमेरिकाले जापानमाथि युद्धको घोषणा गर्दै औपचारिक रूपमा विश्वयुद्धमा प्रवेश गरेको थियो । त्यसको केही दिनपछि जर्मनी र इटालीले पनि युद्धमा सहभागी हुने घोषणा गरेका थिए ।
जापानी सेनाले पर्ल हार्वरमा गरेको आक्रमणमा ६८ सर्वसाधारण र २ हजार ४ सय ३ अमेरिकी सैनिकको ज्यान गएको थियो । एक हजारभन्दा बढी घाइते भएका थिए । आक्रमणमा करिब दुई सय अमेरिकी युद्धपोत तथा विमानहरू ध्वस्त भएका थिए । जापानतर्फ सयभन्दा बढी सैनिकको ज्यान गएको थियो भने २९ वटा विमान ध्वस्त भएका थिए ।
