काठमाडौँ — सन् २००७ मा आजकै दिन (डिसेम्बर २०) महारानी एलिजाबेथ द्वितीयले बेलायतमा सबैभन्दा लामो समय बाँच्ने राजसंस्था प्रमुखको कीर्तिमान कायम गरेकी थिइन् । त्यसअघि उक्त रेकर्ड ८१ वर्ष ७ महिना २९ दिन बाँचेकी महारानी भिक्टोरियाको नाममा थियो ।
१९२६ को अप्रिल २१ जन्मिएकी एलिजाबेथ २००७ को डिसेम्बर २० मा ८१ वर्ष ७ महिना ३० दिनकी भएकी थिइन् । उनले १९५२ फेब्रुअरी ६ मा २६ वर्षको उमेरमा बेलायतको सिंहासन सम्हालेकी थिइन् । बेलायतका राजा जर्ज छैटौंको निधनपछि एलिजाबेथ महारानी घोषित भएकी थिइन् ।
सात दशकसम्म एकछत्र गद्दीमा रहेकी उनी बेलायतको इतिहासमै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहने राष्ट्राध्यक्षसमेत हुन् । उनी बेलायतलगायत १४ मुलुकको राष्ट्रप्रमुख थिइन् । उनको २०२२ को सेप्टेम्बर ८ मा ९६ वर्षको उमेरमा निधन भएको थियो । एलिजाबेथको मृत्युपछि उनका जेठा छोरा चार्ल्स तृतीय बेलायतको राजा बनेका हुन् ।
आफ्नो जीवनमा थुप्रै उतारचढाव सामना गरेकी एलिजाबेथले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् । एक सय २० देशको भ्रमण गरेकी एलिजाबेथले १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् । एलिजाबेथको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका थिए । त्यसका साथै, उनलाई ‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रूपमा लिने गरिन्छ ।
एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा रहे पनि राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासाग विवाह गर्नका लागि सिंहासन त्यागेपछि उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।
