आजकै दिन : दक्षिण कोरियामा प्रथम महिला राष्ट्रपति 

पुस ३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१२ मा आजकै दिन (डिसेम्बर १९) पार्क ग्युन–हाय दक्षिण कोरियाली राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । पार्कले प्रतिस्पर्धी मुन जाय–इनलाई झिनो मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

२०१३ को फेब्रुअरी २५ मा पदभार ग्रहण गरेकी पार्क महाअभियोगद्वारा बर्खास्त हुने पहिलो निर्वाचित राष्ट्रपतिसमेत हुन् । 

पार्कविरुद्ध अनुचित हिसाबले राज्यशक्तिको दुरुपयोग गर्दै आफ्नी साथी चोई सुन–सिललाई सहयोग गरेको आरोपमा २०१७ मा महाअभियोग पारित भएको थियो । उनीविरुद्धको महाअभियोग प्रस्ताव २ सय ३४ मतले पारित भएको हो । विपक्षमा भने ५६ मतमात्र परेको थियो । मतदानमा ६ जना अनुपस्थित थिए । 

चोईले राष्ट्रपतिसँगको सम्बन्धको गलत फाइदा उठाएर ठूला औद्योगिक घरानाहरूमा दबाब दिएको र आफूले नेतृत्व गर्ने दुई ठूला परोपकारी संस्थाबाट लाखौं डलर घूस लिएको आरोप लगाइएको थियो । तर पार्कले आरोप अस्वीकार गरेकी थिइन् । उक्त मुद्दामा अदालतले पार्कलाई २०१८ मा २४ वर्षका लागि जेल सजाय र एक करोड ७० लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । त्यसका साथै सरकारी कोषको दुरुपयोगको अर्को मुद्दामा पार्कलाई थप ८ वर्षको जेल सजाय तोकिएको थियो । पछि २०२० को डिसेम्बरमा राष्ट्रपति मुनले बिग्रँदो स्वास्थ्यका कारण विशेष माफी दिएपछि पार्क रिहा भएकी थिइन् ।

आजकै दिन

कान्तिपुर

Link copied successfully