सन् २०१७ मा आजकै दिन : क्याटालोनियामा स्पेनको प्रत्यक्ष शासन

आश्विन २८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१७ मा आजकै दिन (अक्टोबर १५) मा स्पेनले क्याटालोनियामा क्षेत्रमा प्रत्यक्ष शासन सुरु गरेको थियो । २०१७ को अक्टोबर १ मा क्याटालोनिया क्षेत्रमा स्वतन्त्रतासम्बन्धी जनमत संग्रह गरिएको थियो ।

क्याटलोनियाका सरकार प्रमुख कार्लस पुइगडेमोन्टले जनमत संग्रहमार्फत क्याटलोनियालाई अलग राज्य घोषणा गर्ने जनमत मिलेको दाबी गर्दै स्वतन्त्र राष्ट्र घोषणाको तयारी गरेका थिए । जसका कारण स्पेनको केन्द्र सरकारले क्याटालोनियमाथि प्रत्यक्ष शासन सुरु गरेको थियो । 

जनमत संग्रहलाई स्पेनको संवैधानिक अदालतले अवैधानिक ठहर गरेको थियो । त्यसका साथै, क्याटालोनियालाई स्वतन्त्र राष्ट्र घोषणा गर्ने तयारी गरेपछि संसद् बैठकसमेत स्थगित गरिदिएको थियो । केन्द्र सरकारले २०१७ को डिसेम्बरमा चुनाव गराएर क्याटालोनियामा शासन हस्तान्तरण गरेको थियो । 

स्वतन्त्र राष्ट्र घोषणा अभियानमा सक्रिय पुइगडेमोन्टसहित स्वतन्त्र क्याटालोनिया पक्षधर १२ नेतालाई राज्यद्रोह, अवज्ञा र सार्वजनिक कोषको दुरुपयोगसम्बन्धी अभियोग लगाइएको थियो । तीमध्ये ९ नेता राज्यद्रोहमा दोषी ठहर भएका थिए । तर चार नेता भने सार्वजनिक कोषको दुरुपयोगमा समेत दोषी ठहरिएका थिए । उनीहरूलाई ९ देखि १३ वर्षसम्मको जेल सजाय तोकिएको थियो ।

सार्वजनिक कोष दुरुपयोगमा दोषी अन्य ३ नेतालाई भने अदालतले जरिवाना सुनाएको थियो । छुट्टै प्रहरी, संसद्, झन्डा र सरकार प्रमुख भएको क्याटालोनियामा दूरसञ्चार नियामक निकाय, विद्यालय, स्वास्थ्यजस्ता महत्त्वपूर्ण सार्वजनिक सेवाको पनि प्रबन्ध छ ।

आजकै दिन

कान्तिपुर

Link copied successfully