सन् २०१७ मा आजकै दिन : क्याटालोनियामा जनमत संग्रह

आश्विन १४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — स्पेनको उत्तर–पूर्वी क्षेत्र क्याटालोनियाको छुट्टै भाषा र संस्कृति रहेको छ । सन् २०१७ मा आजकै दिन (अक्टोबर १) मा स्पेनको क्याटालोनियामा स्वतन्त्रतासम्बन्धी जनमत संग्रह गरिएको थियो । जनमत संग्रहपछि प्रमुख सहरहरूमा स्पेनको एकताका पक्षमा बृहत् प्रदर्शनहरू गरिएका थिए ।

जनमत संग्रहमा जम्मा ४२ दशमलव ३ प्रतिशत मत खसेको बताइएको थियो । त्यसमध्ये ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मतदान गरेका क्याटलान अधिकारीहरूले दाबी गरेका थिए । क्याटलोनियाका सरकार प्रमुख कार्लस पुइगडेमोन्टले जनमत संग्रहमार्फत क्याटलोनियालाई अलग राज्य घोषणा गर्ने जनमत मिलेको दाबी गरेका थिए । 

तर जनमत संग्रहलाई संवैधानिक अदालतले अवैधानिक ठहर गरेको थियो । तर त्यसका बाबजुद पुइगडेमोन्टले संसद् बैठकमार्फत क्याटालोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने तयारी गरेपछि अदालतले संसद् बैठक स्थगित गरिदिएको थियो । उक्त कदमपछि क्याटालोनियामा प्रत्यक्ष शासन सुरु गरेको स्पेनको केन्द्रले २०१७ को डिसेम्बरमा क्याटालोनियामा चुनाव गराएको थियो । 

त्यसका साथै पुइगडेमोन्टसहित स्वतन्त्र क्याटालोनिया पक्षधर १२ नेतालाई राज्यद्रोह, अवज्ञा र सार्वजनिक कोषको दुरुपयोगसम्बन्धी अभियोग लगाइएको थियो । तीमध्ये ९ नेता राज्यद्रोहमा दोषी ठहर भएका थिए । तर ४ नेता भने सार्वजनिक कोषको दुरुपयोगमा समेत दोषी ठहरिएका थिए । उनीहरूलाई ९ देखि १३ वर्षसम्मको जेल सजाय तोकिएको थियो । 

सार्वजनिक कोष दुरुपयोगमा दोषी अन्य ३ नेतालाई भने अदालतले जरिवाना सुनाएको थियो । छुट्टै प्रहरी, संसद्, झन्डा र सरकार प्रमुख भएको क्याटालोनियामा दूरसञ्चार नियामक निकाय, विद्यालय, स्वास्थ्यजस्ता महत्त्वपूर्ण सार्वजनिक सेवाको पनि प्रबन्ध छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully