सन् २०११ मा आजकै दिन (सेप्टेम्बर २५) मा साउदी अरबमा महिलालाई चुनावी प्रक्रियामा भाग लिने अधिकार प्रदान गरिएको थियो ।
साउदी राजा अब्दुल्लाहले शाही घोषणामार्फत महिलालाई मताधिकार प्रयोग गर्न र भविष्यमा हुने नगरस्तरीय चुनावमा भाग लिन दिने बताएका थिए । लिंगका आधारमा निकै विभेदकारी साउदीमा गरिएको उक्त घोषणालाई दशककै ठूलो उपलब्धि मानिएको थियो ।
त्यसका साथै, साउदी राजाले आफ्नो घोषणामा महिलालाई ‘मजलिस अल–शुरा’ पनि नियुक्त गरिने जनाएका थिए । ‘मजलिस अल–शुरा’ सार्वजनिक नीतिहरूका विषयमा राजतन्त्रलाई सल्लाह वा सुझाव दिने परिषद् हो ।
अब्दुल्लाहको २०१५ को जनवरी २३ मा ९१ वर्षको उमेरमा मृत्यु भएको थियो । त्यसयता सलमानले साउदी अरबको राजगद्दी सम्हालेका छन् । ८७ वर्षीय सलमान अब्दुल्लाहका सौतेलो भाइ हुन् ।
सलमानले शासनसत्ता सम्हालेयता महिलाका लागि थप अधिकारहरू प्रदान गरिएका छन् । तीमध्ये पुरुष अभिभावकबिना स्वास्थ्य, शिक्षा जस्ता सरकारी सेवा लिन पाउने, सवारी चालक अनुमतिपत्र लिने, रंगशालामा खेल हेर्न पाउने, सम्बन्धविच्छेद र विवाह, राहदानी बनाउनेलगायतका अधिकार मुख्य छन् ।
