सन् १९९७ मा आजकै दिन : कार दुर्घटनामा डायनाको मृत्यु

भाद्र १४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९७ मा आजकै दिन (अगस्ट ३१) मा वेल्सकी पूर्वराजकुमारी डायनाको कार दुर्घटनामा निधन भएको थियो । उनी बेलायतका राजा चार्ल्स तृतीयकी पहिलो पत्नी हुन् ।

१९६१ जुलाई १ मा जन्मिएकी डायनाले चार्ल्ससँग १९८१ जुलाई २९ मा विवाह गरेकी थिइन् । उक्त जोडीले १९९२ मा अलग हुने घोषणा गरेका थिए । त्यसको चार वर्षपछि १९९६ अगस्ट २८ मा चार्ल्स र डायनाले औपचारिक रूपमा सम्बन्धविच्छेद गरेका थिए । उनीहरूबाट १९८२ मा प्रिन्स विलियम्स र १९८४ मा प्रिन्स ह्यारीको जन्म भएको थियो । पछि चार्ल्सले २००५ मा क्यामिला पार्करसँग विवाह गरेका थिए । 

सम्बन्धविच्छेद भएको एक वर्षपछि डायना फ्रान्सको राजधानी पेरिसमा आयोजित एक रात्रिभोजमा सहभागी भएकी थिइन् । त्यहाँ उनी इजिप्टका धनाढ्य व्यवसायी मोहमद अल फायदका छोरा डोडी अल फायदसँग पुगेकी थिइन् । भोजबाट कारमा बाहिरिएको जोडीका तस्बिरहरू खिच्नका लागि फोटोग्राफरहरूले मोटरसाइकल चढेर पछ्याएका थिए । त्यसबाट भाग्ने क्रममा भएको दुर्घटनामा डायनाको निधन भएको हो । 

कुनै बेला ‘विश्वमै सबैभन्दा बढी तस्बिर खिचिएकी महिलाका’ को रेकर्ड कायम गरेकी डायना ‘जनताको राजकुमारी’का रूपमा परिचित थिइन् । उनका परोपकारी कार्य सर्वसाधारणले निकै प्रशंसा गरेका थिए । डायनाले एड्स संक्रमित मानिसले बेहोरेका पीडा आम मानिसमाझ ल्याउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेकी थिइन् । उनले बारुदी सुरुङ बिछ्याउन प्रयोग गरिएका उपकरणमाथि प्रतिबन्ध लगाउन माग गरेपछि संसारभर चर्चा भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully