काठमाडौँ — सन् २०१२ मा आजकै दिन (जुलाई १८) मा किम जोङ–उन आधिकारिक रूपमा उत्तर कोरियाको सर्वोच्च नेता नियुक्त भएका थिए । सर्वोच्च नेता चयन भएसँगै उनलाई उत्तर कोरियाली सेनाको मार्शलको पद दिइएको थियो ।
उनी उत्तर कोरियाका दोस्रो सर्वोच्च नेता किम जोङ इलका तेस्रो छोरा हुन् । इलले १९९४ देखि २०११ सम्म उत्तर कोरियामा शासन गरेका थिए । इलका पिता किम इल सुङ उत्तर कोरियाका संस्थापक हुन् । सुङले १९४८ देखि १९९४ मा मृत्यु हुनुअघिसम्म उत्तर कोरियामा शासन गरेका थिए ।
वर्तमान सर्वोच्च नेता किम जोङ–उनको जन्म वर्ष भने हालसम्म यकिन छैन । पश्चिमा सञ्चार माध्यमहरूका अनुसार उनी १९८२, १९८३ वा १९८४ मध्ये कुनै वर्षको जनवरी ११ मा जन्मिएका हुन् ।
किमले १९९८ बाट २००० सम्म स्विट्जरल्यान्डको लिबेफेल्ड स्टेनहोल्जी स्कुलमा पढेका थिए । अध्ययनको समय उनले नाम परिवर्तन गरेका थिए । किम एक साधारण कर्मचारीको छोराका रूपमा स्विट्जरल्यान्ड पढ्न गएका थिए । उनले किम इल सङ विश्वविद्यालयमा भौतिकशास्त्र र किम इल सङ सैनिक विश्वविद्यालयमा सैनिक अधिकृतसम्बन्धी कोर्स गरेको बताइन्छ ।
